Logo
|
Thursday 25th April 2024
Logo

epaper

रुकुममा २५ शय्याको अस्पताल सञ्चालन



 आठबीसकोट नगरपालिकाले नगर अस्पतालबाट सेवा प्रवाह थालेको छ । राडी बजारमा डाक्टरको उपस्थितिमा आइतबारबाटै अस्पतालले सेवा सञ्चालन गरेको हो ।

२५ शय्याको अस्पताल स्थापना गरेको नगरपालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डाक्टर उपलब्ध गराएको छ । अस्पतालबाट सेवा दिन थालेको पहिलो दिनमै १ सय १६ जनाले सेवा लिएको अस्पताल प्रमुख मणिराज शाहले बताए ।

आइतबार ३ जनाले ल्याब, ३ ले एक्सरे, ६ अल्ट्रासाउन्ड र ५ जनाले आकस्मिक सेवा लिएका छन् । शाहका अनुसार ३ बिरामी उपचारका लागि भर्ना भएका छन् ।

प्रतिष्ठानले अस्पतालका लागि डा. दिलसाही रोकालाई पठाएको छ । प्रतिष्ठानले तलबभत्ता बेहोर्ने गरी उनी १ वर्षका लागि अस्पतालमा रहनेछन् । अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनका सबै काम पूरा भएपछि सेवा सुरु गरिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । अहिले साबिकको स्वास्थ्यचौकी र विद्यालय भवन प्रयोग गरी सेवा सुरु गरिएको छ ।

अन्यत्र गाभिएको आधारभूत विद्यालयका कोठा भत्काएर अस्पतालको शय्या राखिएको छ । प्रत्येक नगरमा २५ शय्याको अस्पताल संविधानले परिकल्पना गरेकाले त्यसको कार्यान्वयन गरिएको केसीको भनाइ छ । अस्पतालका प्रशासनिक र सम्पूर्ण काम कम्प्युटर प्रणालीबाटै सुरु गरिएको छ ।

अस्पताल सञ्चालनका लागि आवश्यक प्राविधिकदेखि अन्य जनशक्ति, आवश्यक उपकरण, औषधि, बेडलगायत व्यवस्था यसअघि नै गरिएको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार नगरपालिकाले विभिन्न पदमा २० कर्मचारी भर्ना गरिसकेको छ ।

रेडियाग्राफी, ल्याब टेक्निसियन, असिस्टेन्ट, अनमी, स्वास्थ्य सहायक, अहेबलगायत स्वास्थ्यकर्मी भर्ना गरिएको छ । अस्पतालसम्बन्धी कार्यविधिअनुसार अन्तरंग बहिरंगका साथै डिजिटल एक्सरे, अल्ट्रा साउन्ड, ईसीजीलगायत सेवा पनि सञ्चान भएका छन् । कान्तिपुरदैनिक

प्रतिक्रिया दिनुहोस्