Logo
|
Wednesday 24th April 2024
Logo

epaper

शहीद गंगालालले भव्यताका साथ विश्व मुटु दिवस मनाउँदै



यस वर्ष शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ‘हाम्रो, प्रण— स्वस्थ्य मुटु’ भन्ने विश्वव्यापी नाराका साथ विश्व मुटु दिवस भव्य रुपमा मनाउँदैछ ।

हार्ट नेटसँग सम्बद्धता भएका सम्पूर्ण संस्थाहरुको संयोजकका रुपमा केन्द्रले विश्व मुटु दिवस—२०१८ मनाउने नेतृत्व लिएको हो । विश्व मुटु दिवस २९ सेप्टेम्बर (शनिबार) को बिहान ७ बजे नौमति बाजासहित जनचेतनामुलक व्यानर र प्लेकार्डसहीत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट शुरु हुने प्रभातफेरि त्रि.बि.शिक्षण अस्पतालमा पुगेर फर्किनेछ ।

सो ¥यालीमा स्वास्थ्य राज्यमन्त्री, स्वास्थ्यसचिव, चिकित्सक, नर्स, पारामेडिक्स, वकिल पत्रकार, सर्वसाधारणलगायत हजारौंको सहभागिता रहनेछ ।

हार्ट नेटमा बीर अस्पताल, कार्डियाक सोसाइटी अफ नेपाल,चिरायू पोलीक्लिनिक, फ्रेन्ड्स् अफ ओपन हार्ट, हार्ट क्लव नेपाल, हार्ट टु हार्ट नेपाल, हेल्प फर हार्ट सर्जरी, जयन्ती मेमोरियल ट्रष्ट, मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, मेडिकेयर नेशनल हस्पिटल, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट, नेपाल डायबिटीज सोसाइटी, नेपाल हार्ट क्लिनिक, नेपाल हार्ट फाउण्डेशन ललितपुर, नेपाल हार्ट फाउण्डेशन काठमाडौ, नेपाल हार्ट फाउण्डेशन सेन्टर, नर्भिक इन्टरनेशनल हस्पिटल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नेशनल हार्ट सेन्टर, सोसाइटी फर हेल्दी हार्ट, नेपाल हाइपरटेन्सन सोसाइटी, शहिद धर्मभक्त नेशनल ट्रान्सप्लान्ट सेन्टर गरी २१ संस्था आवद्ध रहेका छन् ।
विश्वमा प्रत्येक वर्ष मुटु तथा रक्तनलीजन्य रोगहरुको कारणले मात्रै १ करोड ७५ लाख मानिसहरुको मृत्यु हुने गरेको तथ्य विश्व मुटु संगठनले दिएको छ । जुन तथ्यांक अन्य नसर्ने खालका रोगहरु जस्तै क्यान्सर, दम, मधुमेह आदिको कारणले भन्दा बढि हुन आउँछ । त्यसकारण यो रोगलाई नम्बर—१ हत्यारा पनि भनिन्छ ।
यसैगरी बढ्दै गएमा सन् २०३० सम्ममा यो रोगबाट मृत्यु हुनेको संख्या बढेर २ करोड ३० लाख सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
हाम्रो देशमा पनि बढ्दो शहरीकरण साथै अस्वस्थ जीवनशैलीका कारण मुटु तथा रक्तनलीजन्य रोगहरु भयावह तरिकाले बढ्दै गइरहेको छ ।
मुटुरोगहरु गम्भीर प्रकारका हुन्छन् र तुरुन्तै मानिसहरुको मृत्यु समेत हुन सक्छ । यहि तथ्यलाई मध्यनजर गर्दै बिश्व मुटु संगठनको अगुवाइमा सन् २००० देखि विभिन्न नाराका साथ हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवश मनाउने गरिएको छ ।
यस वर्ष पनि ‘हाम्रो प्रणः स्वस्थ मुटु’ भन्ने नाराका साथ विश्व मुटु दिवश मनाउन लागिएको शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रका कार्यकारी निर्देशक वरिष्ठ मुटु सर्जन डाक्टर ज्योतिन्द्र शर्माले बताउनुभयो ।
मुटु तथा रक्तनलीजन्य मुख्य रोगहरुमा कोरोनरी मुटुरोग, हृदयघात, बाथमुटुरोग, उच्चरक्तचाप, मस्तिष्कघात आदि छन् । कोरोनरी मुटुरोग, हृदयघात आजको जल्दो बल्दो समस्या हो । हालका वर्षहरुमा ४० वर्ष आसपासका युवाहरुमा हृदयघातको क्रम निकै नै बढेर गएको देखिन्छ । यसको प्रमुख कारणमा बढ्दो सुर्तिजन्य पदार्थको सेवन, अस्वस्थ खानपान, शारिरीक परिश्रमको अभाव, मोटोपना, उच्चरक्तचाप, मधुमेह, उच्चकोलेस्ट्रोल, मानसिक तनाव रहेको डा. शर्माले जानकारी गराउनुभयो ।
‘यिनै मुख्य कारक तत्वलाई नियन्त्रणमा राख्न सकिएको खण्डमा मुटुरोगलाई धेरै हद सम्म नियन्त्रण गर्न सकिन्छ । मुटुरोगको उपचार खर्चिलो र जटिल छ तर रोगबाट बच्ने उपायहरु सस्तो, सजिलो र सुलभ छन् ।’—डा. शर्माले भन्नुभयो—यस वर्ष मुटु दिवशको अवसरमा हामीहरुले पनि स्वस्थ मुटुका लागि आजैदेखि स्वस्थ खाना खाऔं, नियमित व्यायम गरौ, सुर्तिजन्य पदार्थको सेवन कदापि नगरौ र कारकतत्वहरुको पहिचान तथा नियन्त्रणमा लागौ, बालबालिकाहरुलाई पनि खेलकुदमा प्रोत्साहन गरौं । जंकफूडहरुलाई निरुत्साहित गरौं ।’

प्रतिक्रिया दिनुहोस्