Logo
|
Friday 19th April 2024
Logo

epaper

कपाल प्रत्यारोपण कसरी गरिन्छ??



विश्वमा सन् १९५० बाट मानिसमा कपाल प्रत्यारोपण गर्न सुरु गरिएको हो । त्यसयता नेपालमा पनि कपाल प्रत्यारोपण गर्ने थुप्रै प्रयास नभएका होइनन् । तर, तिनीहरू सबै पुराना स्रोतसाधनबाट भएका थिए । कपाल प्रत्यारोपण गर्न पछिल्लो समय नयाँ–नयाँ प्रविधिको आविष्कार पनि विश्व बजारमा भइरहेका छन् । विश्वका सम्पन्न देशहरूमा सोही प्रविधिका आधारमा उपचार भइरहेका छन् । तर, हाम्रोजस्तो अविकसित देशहरूमा भने नयाँ–नयाँ प्रविधि भित्र्याउन समस्या नै छ ।

कपाल प्रत्यारोपणसम्बन्धी तालिम लिन सन् २०१३ मा एक महिना इजरायल बस्दा त्यस्ता प्रविधिसम्बन्धी धेरै ज्ञान तथा अनुभव हासिल गर्ने सौभाग्य प्राप्त भयो । त्यसैका आधारमा इजरायलबाट स्वदेश फर्केलगत्तै हामीले एउटा टिम बनायौँ । सो टिमलाई स्किल ल्याबमा लगेर मृत शरीरमा कपाल प्रत्यारोपण गर्न सिकायौँ । त्यसपछि जनावरमा सफल परीक्षण गरेर मानिसमा कपाल प्रत्यारोपण सुरु गर्दै आएका छौँ ।

पोलेको दागबाट सुरु
कपाल प्रत्यारोपण मृत शरीर, जनावर हुँदै मानिसको शरीरको पोलेको भागमा सुरु गरिएको हो । नेपालमा प्रत्यारोपण सफल हुँदै जाँदा प्रत्यारोपणसम्बन्धी विभिन्न तालिम हामीले काठमाडौं विश्वविद्यालयअन्तर्गत दिने गरेएका छौँ । कपाल प्रत्यारोपण गर्न अध्ययन मात्र गरेर सम्भव हुँदैन । मैले पनि लामो अध्ययन र तालिमपछि मात्रै २०१६ बाट नेपालमा औपचारिक रूपमा प्रत्यारोपण सुरु गरेको हो । एक वर्षको अन्तरालमा २५ सयभन्दा बढी मानिसको कपाल प्रत्यारोपण सफल गरिसकिएको छ ।

तालुमा गरिन्छ प्रत्यारोपण
सामान्यतया कपाल प्रत्यारोपण पछाडिको भागभन्दा तालुमा गरिन्छ । कपाल झर्नु कुनै रोग नभएर जिनमा पनि भर पर्छ । एकप्रकारको जेनेटिक इन्जाइमले निधार र तालुको बाक्लो कपाललाई पातलो बनाउने काम गर्छ । यो इन्जाइमले गर्दा २० वर्षको उमेरपछि कपाल झर्दै पातलो हुँदै जाने सम्भावना रहन्छ ।

कतिपयले यसलाई मानसिक रोगको संज्ञासमेत दिने गरेका छन् । कपाल प्रत्यारोपण खर्चिलो पनि हुने कारण जो–कोहीले गर्दैनन् । विशेषगरी व्यवसायी, एनआरएन, कलाकारलगायतका पब्लिक फिगरहरूले प्रत्यारोपण बढी गरिरहेका छन् ।

पहिलो तरिकाबाट छाला काटेर प्रत्यारोपण गरिन्छ भने अर्को तरिका भनेको मेसिनबाट गर्ने प्रत्यारोपण हो । नेपालमा यी दुवै तरिकाबाट प्रत्यारोपण भइरहेको छ । छाला काटेर प्रत्यारोपण गर्दा टाँका लगाउनुपर्छ । मेसिनबाट गर्दा धेरै सहज हुन्छ ।

कसरी रोपिन्छ कपाल ?
कपाल रोप्न पहिला बेर्ना तयार पारिन्छ । सामान्यतया सबै मानिसको टाउकोको पछाडिपट्टिको भागमा धेरै कपाल रहन्छ । त्यसैले सो स्थानको कपाल निकालेर २० डिग्री सेन्टिग्रेड तापक्रमभित्र राखेर ६ घन्टाभित्रै अर्को स्थानमा प्रत्यारोपण गरिसक्नुपर्छ । त्यतिन्जेल कपाललाई मर्न नदिन स्लाइन पानीमा राखिन्छ । ‘प्रतिवर्गसेन्टिमिटर ४० देखि ५० वटा बेर्ना रोपिन्छ ।

कपाल रोप्ने दुई तरिका
टाउकोमा कपाल प्रत्यारोपण दुई तरिकाले गर्न सकिन्छ । पहिलो तरिकाबाट छाला काटेर प्रत्यारोपण गरिन्छ भने अर्को तरिका भनेको मेसिनबाट गर्ने प्रत्यारोपण हो । नेपालमा यी दुवै तरिकाबाट प्रत्यारोपण भइरहेको छ । छाला काटेर प्रत्यारोपण गर्दा टाँका लगाउनुपर्छ । मेसिनबाट गर्दा धेरै सहज हुन्छ । यस पद्धतिबाट रगत बग्ने टाँका लगाउनु हुँदैन ।

छाला काटेर कपाल रोप्दा
कपाल रोपेको स्थानमा खत बस्न सक्छ ।
एक–दुई हप्ता दुख्न सक्छ ।
रगत धेरै बग्ने सम्भावना रहन्छ ।
काममा फर्कन दुई हप्ता लाग्न सक्छ ।

मेसिनबाट रोप्दा
कपाल रोपेको ठाउँमा टाँका लगाउनुपर्दैन ।
मेसिनको प्रयोग गर्दा केही सहज हुन्छ र एक–दुई दिन मात्रै दुख्ने हुन्छ ।
सामान्य रगत मात्र बग्छ ।
चाँडै निको हुने कारण काममा चाँडै फर्कन सकिन्छ ।

प्रत्यारोपण कत्तिको खर्चिलो ?
टाउकोमा कपाल प्रत्यारोपण गर्नु महँगोभन्दा पनि आवश्यकता र चाहनाले फरक पर्ने हो । प्रत्यारोपण सुरु हुँदा प्रतिकपाल ३० रुपैयाँका दरले शुल्क लाग्ने गथ्र्यो । तर, अहिले मूल्यवृद्धिका कारण ५० हजारदेखि ३ लाखसम्म लाग्छ । नेपालमा कपाल प्रत्यारोपणसम्बन्धि केही पनि सामान नबन्ने र आवश्यक सामग्री विदेशबाट आयात हुने भएकाले यो पद्धति महँगो हुन गएको हो । त्यस्तै, एकजनाको प्रत्यारोपण गर्न बिहान ७ देखि बेलुका ५ बजेसम्म लाग्ने गर्छ ।नयाँपत्रिका

 

प्रतिक्रिया दिनुहोस्