Logo
|
Thursday 18th April 2024
Logo

epaper

सिडिओको आँखामा अस्पतालको ठगी र लापरवाही !



रामप्रसाद आचार्य काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । उहाँ काठमाडौं बाहिर मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी रहँदा स्वास्थ्य क्षेत्रमा भएको विकृति र विसंगतिबारे बिरामीका धेरै उजुरी उहाँसमक्ष आएका थिए । हालै काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा अस्पतालहरुले बिरामीमाथि गर्ने ठगी र लापरबाहीबारे उहाँले यसरी व्यक्त गर्नुभयो ।

अचेल मैले दिनहुँ ज्ञापनपत्र बुभ्mने गरेको छँु । सरकारले लागु गरेको अपराध संहिता हामीलाई नलागोस् वा हामी मान्दैनौं भन्ने खालका हुन्छन् । ज्ञापनपत्रका भाषाहरु अनेकथरी हुनसक्छन् । तर सारमा चाहिँ त्यो कानुन मान्दैनौँ वा कडा आन्दोलन गर्छौं भन्ने हुन्छ ।
स्वास्थ्य आधारभूत आवश्यकता हो । यो संविधानको मौलिक हकसँग जोडिएको विषय पनि हो । अस्पतालमा तोडफोड हुने गरेको छ । सुरक्षाकर्मीलाई अस्पताल पठाउनुपरिरहेको छ । यसरी तोडफोड हुन नदिन दैनिकजसो प्रहरी पठाउनुपर्ने अवस्था छ ।
उपभोक्ता हित संरक्षण ऐन, २०५४ बमोजिम क्षतिपूर्ति समिति छ । त्यस समितिका अध्यक्षका रुपमा काम गर्दा धेरै अनुभूतिहरु छन् । अस्पताल तथा चिकित्सकले गरेका लापरवाहीका बारेमा उजुरी आउँछ ।

घटना नं. १
आजभन्दा दश वर्षअघि एक जना महिलाको बच्चा भयो । अप्रेशन गरी बच्चा जन्मियो तर, दश वर्षयता उनको कोखमा बच्चा अडिएन । दश वर्षसम्म किन बच्चा भएन त भनेर खोजी गर्दा दश वर्षअघि नै महिलाको पाठेघर सिलाइदिएको रै छ । यस खालको उजुरी आएको छ ।
घटना नं.२
यस भन्दाअघि म मोरङ जिल्लाको सिडिओ थिएँ । बिराटनगरको एक निजी अस्पतालका डाक्टरले बी.पी.कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा बिरामी रेफर गरे । अस्पताल र बाहिर बसेको एम्बुलेन्सबीच नेक्सस रहेछ । बाहिर निस्किएको बिरामीलाई टपक्क टिपेर एम्बुलेन्सले अर्को नीजि अस्पतालमा भर्नाका लागि लग्यो । त्यस नीजि अस्पतालको डाक्टरलाई म सलाम गर्छु । उहाँले यो बिरामीलाई यहाँ उपचार हुन सक्दैन धरानै लैजानुपर्छ भनेर रेफर गर्नुभयो । तर अस्पतालको सञ्चालकले ती चिकित्सकलाई जागीरबाट अवकाश दिए । बिरामी अन्यत्र पठाइदिए वापत् अस्पताललाई घाटा पुगेको भन्दै क्षतिपुर्ति सहित ६० हजार तुरुन्तै तिर्नुपर्छ भनेर डाक्टरलाई चिठी काटियो ।

घटना नं.३
एकजना नीजि अस्पतालका सञ्चालक छन् । उनी आफँै पनि डाक्टर हुन् । नाम भन्दिन अहिले । उहाँले बाहिर सिसी क्यामेरा बाहिर राख्नुभएको रहेछ । विभिन्न सार्वजनिक यातायातबाट बिरामी उपचारका लागि सरकारी अस्पतालमा आउँछन् । उहाँले केही मान्छे खटाउनुहुँदो रहेछ । ती मान्छेले सरकारी अस्पतालबाट त्यो निजी अस्पतालमा एउटा बिरामी ल्याएवापत् तीन शयदेखि पाँच शयसम्म कमिसन दिनुहुँदो रहेछ । एम्बुलेन्सले कुनै बिरामी चिकित्सक वा अस्पतालमा लगिदिएवापत् १५ देखि २० प्रतिशत दिने लिखित उजुरी छ । कति ठाउँमा हामी चिप्लिएका छौँ ।
सबै बिरामी र बिरामीका आफन्तहरु ठिक छन् भन्न खोजेको होइन । अहिले आम संस्कृति कस्तो छ भने बिरामीहरुको राम्रो उपचार हुँदाहुँदै मृत्यु भएको छ भने दबाब दिएर भएपनि केही रकम माग्ने प्रवृत्ति छ । अस्पतालभित्र पनि दलाल हुँदारहेछन् । उनीहरुले बिरामीका आफन्तलाई उचाल्ने गर्छन् । आन्दोलन र तोडफोड पछि आउने रकमको चालिस प्रतिशत हामीलाई चाहिन्छ भन्ने पनि छन् । अस्पतालभित्र यस खालका मान्छे पनि छन् ।
कतिपय जेन्युन केशहरु पनि छन् । बिरामी हिँडदै आएको छ भने भित्र लगेर एकाध घण्टा चिकित्सक र बिरामीका आफन्तबीच सम्वाद हुन्छ । त्यसपछि सम्वाद नै हुँदैन । मेरो बिरामी के भो ? भन्दा डाक्टर उपचार हुँदैछ मात्र भन्छन् । बिरामीलाई कोमामा लगिन्छ । आफन्तले हेर्न पाउँदैन । बिरामी र डाक्टरबीच सुचना ग्याप छ । एकैचोटी अन्त्यमा केहि गर्न सकिएन भनेर रेफर गरिन्छ । बिरामीको प्रगति यो लेभलमा छ भनेर किन भनिँदैन । तपाईको के बिचार छ भनेर बिरामीका आफन्तलाई भनिँदैन । त्यसपछि बिरामीको आफन्त आक्रोशित हुन्छन् नै । त्यसपछि बिरामी मर्छ । तोडफोड शुरु हुन्छ । त्यसैले अस्पतालका सञ्चालक सबैले छातिमा हात राखेर समाजको सेवा गर्छु त्यसपछि आएको नाफामात्र मेरो हुन्छ भनेर सोच्नुपर्छ ।
डाक्टरसाबले अन्यथा नलिनुहोला, धेरै गलत खालका स्वार्थ राखेका मानिसहरुको स्वास्थ्य क्षेत्रमा प्रवेश भएको छ । सबैलाई रातारात करोडपति हुनुपरेको छ । यस्ता मान्छे स्वास्थ्य क्षेत्रमा प्रवेश गरेपछि त्यहाँबाट कस्तो सेवा पाइन्छ ? यो आफैंमा गम्भीर छ ।
अस्पतालबाट डिस्चार्ज गर्न सकिएन, सिडिओ साप भन्दिनुप¥यो भनेर पनि बिरामीका आफन्तहरु आउँछन् । मान्छे म¥यो तर अस्पतालले लाश दिएन । निकालिदिनुप¥यो भन्छन् । २०४६ सालपछि स्वास्थ्य क्षेत्रको विकास र बिस्तार त भयो तर तल्लो तहका जनताले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
(सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘नागरिकको स्वास्थ्योपचारको अवस्था र विद्यमान परिमार्जित ऐन’ विषयक अन्तरक्रियामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यद्धारा व्यक्त अभिव्यक्तिको सामान्य सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्