Logo
|
Thursday 28th March 2024
Logo

epaper

कर्णालीमा २३ सय महिलामध्ये ४७ मा क्यान्सर



 

जुम्ला

कर्णाली प्रदेशको जुम्लाका कतिपय महिलाहरूमा पाठेघरको मुखको क्यान्सर देखापरेको चिकित्सकहरूले बताएका छन्। सानो उमेरमा विवाह गर्नु, धेरै बच्चा जन्माउनु तथा नियमित स्वास्थ्यको जाँच नगराउनु जस्ता समस्याका कारण पाठेघरको मुखको क्यान्सरबाट महिलाहरू पीडित हुँदै आएको विज्ञहरूले बताएका हुन्।

अन्तिम अवस्थामा थाहा भएपछि उपचार गर्दा पनि महिलाहरूको ज्यान बचाउन नसकिएको पाठेघरको मुखको क्यान्सरपछि आफन्त गुमाएका स्थानीय बासिन्दाहरू बताउँछन्।

सर्वेक्षण

जुम्लाका २३ सय महिलामा गरिएको सर्वेक्षणले ४७ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार तीमध्ये सात जनामा क्यान्सर अन्तिम चरणमा मात्रै पत्ता लागेकाले उनीहरूलाई उपचारका लागि जिल्लाबाहिर पठाइएको छ।

नियमति जाँच गराए अनि सुरुकै चरणमा थाहा भए उपचारबाट निको हुने भन्दै २१ देखि ६० वर्षसम्मको उमेर समूहका महिलाहरूले नियमित पाठेघरको जाँच गराउन आवश्यक रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्त्रीरोग विशेषज्ञ डाक्टर निरेश थापाले बताए।

“अरू ठाउँमा भन्दा यहाँका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन्छ। प्रत्येक १०० जनामा तीन-चार जनामा त्यस्तो हुनसक्ने सम्भावना देखिन्छ। सुरुकै अवस्थामा थाहा भयो भने त पाठेघरको मुखको क्यान्सर हुने सय जनामा सय नै बाँच्छन्।”

समस्या

आफूले सानो उमेरमा विवाह गरेर धेरै बच्चा जन्माएका कारण पछि पाठेघरमा समस्या देखापर्न थालेको महिलाहरूले बताएका छन्।

कम्मर दुख्ने, धेरैबेरसम्म उभिन नसकिने, सेतो पानी तथा रगत समेत बग्न थालेपछि मात्र अस्पतालमा आएको हुनाले जुम्लामा उपचार हुन नसक्ने भएपछि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको जुम्लाको चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ की २८ वर्षीया एक महिलाले बताइन्।

समस्या देखा परेको छ। मासु पलाएकोले दबाइ गर्न भनेको छ। अहिले एक तर्फको कोखो दुख्ने अनि पेट दुख्ने र महिनावारी चाँडै भएर धेरै रक्तस्राव हुने भइरहेको छ।

उपचार

पाठेघरको मुखको क्यान्सर भएको समयमा जानकारी नपाएका कारण जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १ की ३७ वर्षीया सुनकेसा परियारले एक वर्ष अगाडि कलिलो उमेरमा ज्यान गुमाउनु पर्‍यो। अन्तिम चरणमा आएर मात्र जानकारी भएपछि उपचार गर्दासमेत ज्यान बचाउन नसकिएको उनका आफन्तहरू बताउँछन्।

उपचारमा जति खर्च गरे पनि उनलाई बचाउन नसक्दा धेरै पीडा भोग्नु परेको सुनकेसा परियारकी देउरानी झरना परियारले बताइन्। “क्यान्सर भएको छ भनेर अस्पतालले भर्ना लियो अनि औषधि किन्न भन्यो तर हामीले त्यो दिनै पाएनौँ। नजिकै अस्पताल नभएको र अस्पताल भएको ठाउँका महिलाहरूले पनि लाज मान्ने कारण नेपालको ग्रामीण क्षेत्रका महिलाहरू पाठेघरमा देखापरेको समस्याबाट पीडित हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

एक्काइस वर्षदेखि ६० वर्षसम्मको उमेर समूहका महिलाहरूले तीनदेखि पाँच वर्षसम्मको अन्तरमा नियमित जाँच गराउनुपर्ने उनीहरूले सुझाव दिएका छन्। यसको लागि सरकारले हरेक जिल्लामा नि:शुल्क स्वास्थ्यपरीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने महिलाहरूले माग गरेका छन्। बिबिसि  नेपालीबाट

प्रतिक्रिया दिनुहोस्