Logo
|
Wednesday 24th April 2024
Logo

epaper

डाक्टरले बुझिने अक्षरमा प्रेस्क्रिप्सन नलेख्दा बिरामीलाई सास्ती



 बालाजुकी मुनु खड्का एकथरि औषधि किन्नका लागि दसभन्दा बढी फार्मेसी धाइसकिन् । पाठेघरको समस्या भोगिरहेकी उनी ओम अस्पतालमा उपचाररत छिन् । उपचारमा संलग्न चिकित्सकले औषधि प्रेस्क्रिप्सन पुर्जीमा नबुझिने अक्षर लेखिदिएका कारण उनलाई अप्ठेरो भइरहेको छ ।

उनले भनिन्, ‘ओम अस्पतालकै फार्मेसीमा पनि अक्षर बुझिएन भनेर औषधि दिएनन्, जहाँ गए पनि फेरि लेखाएर ल्याऊ भन्छन् ।’ फलोअप उपचारका लागि एक महिना समय तोकिदिएका कारण उनी अक्षर सच्याउनकै लागि भनेर उपचाररत अस्पताल फर्केर गएकी छैनन् ।
केही समय अगाडि ललितपुर लेलेका रमेश भुजेलले डाक्टरको नबुझिने अक्षरकै कारण दु:ख पाए । उनलाई छाला चिलाउने, फोका उठ्ने समस्या थियो । जावलाखेलको अल्का अस्पतालमा उपचाररत थिए । चिकित्सकको अक्षर नबुझेकै कारण हचुुवाको भरमा उनलाई फार्मेसीले गलत औषधि दिँदा घाउ निको हुनुको साटो एलर्जी बढ्यो । उनले भने, ‘डाक्टरले एक साता आराम गरे निको हुन्छ भन्या थे, बढेको एलर्जीले गर्दा एक महिना घर बसेँ, पैसा पनि बढी खर्च भयो, अफिस जान पाइनँ ।’
वीर अस्पतालमा पेटको उपचाररत शर्मिला परियार चिकित्सकको पुर्जी लिएर अस्पताल फार्मेसी पुगिन् । फार्मेसीमा अक्षर नबुझेकै कारण उनी दोहोर्‍याएर चिकित्सक भेट्न गइन् । अक्षर सच्याउनकै लागि फेरि लामो लाइन बसेर चिकित्सक भेटिन् । उनले भनिन्, ‘राम्ररी लेखिदिएको भए मैले दु:ख त पाउँदिनथेँ, बिहान टोकन लिनै तीन घण्टा लाइन बसिसक्याथेँ, दिक्क लाग्यो ।’ नेपाल मेडिकल काउन्सिलको आचारसंहिताअनुसार डाक्टरले औषधिको प्रेस्क्रिप्सन लेख्दा बुझिने गरी लेख्नुपर्छ । अक्षर अंग्रेजी भाषा र ठूला अक्षरमा लेख्नुपर्ने हुन्छ । तर, अधिकांश डाक्टरले यो आचारसंहिता पालना गरेको देखिँदैन ।
कुन भाषामा लेखेको हो र के लेखेको भन्ने बिरामीले त बुझ्दैनन् नै औषधि विक्रेताले समेत बुझ्न सक्दैनन् । अक्षर बुझ्न नसक्दा कतिले हचुवाको भरमा गलत औषधि दिएर पठाउँछन् त कतिले औषधि नदिई फर्काउँछन् । कुन फार्मेसीमा अक्षर बुझ्छन् र औषधि लिऊँला भनेर बिरामी भौतारिन्छन्, दु:ख पाउँछन् ।
औषधिको प्रेस्क्रिप्सन लेख्दा अक्षर त सफा लेख्नु नै पर्छ, बिरामीको स्वास्थ्यस्थिति विवरण पनि सबै लेख्नुपर्छ । आचारसंहिताअनुसार काउन्सिलमा आफू दर्ता भएको नम्बरसमेत लेख्नुपर्ने हुन्छ । चिकित्सकले यो आचारसंहिता विरलै मात्रै पालना गरेको देखिन्छ ।
काउन्सिलले चिकित्सा पेसा व्यवस्थित र मर्यादित बनाउन आचारसंहिता बनाएको हो । आचारसंहिता पालना नगरेमा काउन्सिलले चिकित्सकलाई निलम्बन गर्नेदेखि लाइसेन्स खारेज गर्नेसम्मको कारबाही गर्न सक्छ ।
सरकारी अस्पतालमा बिरामीको चाप अत्यधिक हुन्छ । चिकित्सकलाई बिरामी हेर्न भ्याइनभ्याइ हुन्छ । बिरामी जाँच्ने, अनुसन्धान गर्ने पर्याप्त समय हुँदैन । बिरामीको चाप व्यवस्थापन गर्न हतारो हुन्छ । सबै बिरामी हेर्ने समय मिलाउनकै लागि छिटोछिटो औषधिको नाम लेख्दा अक्षर स्पष्ट नहुने गरेको उनीहरूको तर्क छ ।
नेपाल मेडिकल काउन्सिलको आचारसंहिता समितिका अध्यक्ष डा. ढुण्डीराज पौडेलका अनुसार धेरै बिरामी हेर्नकै लागि औषधि लेख्दा अक्षर अस्पष्ट लेख्न मिल्दैन । चिकित्सकले सफा र ठूला अक्षरमै औषधिको प्रेस्क्रिप्सन लेख्नुपर्छ । उनी भन्छन्, ‘हामीले यससम्बन्धी अनुगमन गरिरहेका छौं, आचारसंहिता पालनामा अटेरी गर्ने प्रवृत्ति पहिलेभन्दा कम छ ।’
आचारसंहिताअनुसार चिकित्सकले उपचार गर्दा बिरामीलाई पर्याप्त समय दिनुपर्ने, अनावश्यक औषधि लेख्न नहुने, गोपनीयता भंग गर्न नहुने, आफ्नो प्राइभेट क्लिनिकमा बोलाएर उपचार गरी बिरामीको खर्च बढाउन नपाइने, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर बिरामी जाँच्न पाइने, सरकारी अस्पतालमा आएका बिरामीलाई अनावश्यक रूपमा निजी अस्पतालमा रिफर गर्न नहुने जस्ता नियम छन् ।

यस्ता नियम विरलै मात्रै कार्यान्वयनमा आउने गरेका छन् । यससम्बन्धी काउन्सिलमा उजुरी पनि परिरहन्छन् । उजुरी पर्दा काउन्सिलले छानबिन गरेर दोषीलाई कारबाही पनि गर्ने गरेको छ । कान्तिपुरदैनिक

प्रतिक्रिया दिनुहोस्