Logo
|
Saturday 20th April 2024
Logo

epaper

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुचारु : स्वास्थ्यकर्मीका माग पूरा, बिरामीलाई सास्ती कायमै



बिरामीको अत्यधिक चाप हुने पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ९ दिनपछि खुलेको छ । स्वास्थ्यकर्मी र कर्मचारीका माग पूरा भए पनि विशेषज्ञ डाक्टर र उपकरणको अभावले बिरामीले पाउने सास्ती भने कायमै छ ।

स्थायीलाई स्तरवृद्धि र करारलाई स्थायी गर्नुपर्ने माग राख्दै आन्दोलित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलन गरेपछि बन्द भएको सेवा शनिबारबाट सुचारु भएको हो ।

अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले राखेको माग व्यवस्थापनले पूरा गर्ने सम्झौता गरेपछि उनीहरू काममा फर्किएका हुन् । आफ्ना माग पूरा गर्न दबाबस्वरूप उनीहरूकाम छोडेर अस्पतालपरिसरको पार्कमा सामूहिक धर्नामा बसेका थिए ।

सयको स्तरवृद्धि र दुई सयलाई स्थायी गरिने
करिब सय कर्मचारीको स्तरवृद्वि र करारमा कार्यरत दुई सय कर्मचारीलाई स्थायी गरिने भएको छ । कर्मचारी युनियनका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले करिब एक दशकअघि स्थायी भएका कर्मचारीको स्तरवृद्वि नभएको र १५–१६ वर्षदेखि कार्यरत कर्मचारी स्थायी नभएकाले आन्दोलनमा उत्रनुपरेको बताए । यसअघि आफ्ना मागमा अस्पताल प्रशासनले बेवास्ता गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ थियो ।

यसअघि तत्कालीत अस्पताल विकास समितिका कर्मचारीलाई प्रतिष्ठानमा समायोजन गरी नियुक्तिपत्र दिने र स्थायी प्रक्रिया अघि बढाउने सहमति भए पनि सहमतिअनुसार काम नभएको श्रेष्ठको भनाइ छ ।

प्रतिष्ठानको सभामा प्रस्ताव लैजाने
आन्दोलनरत कर्मचारी र प्रशासनबीच प्रतिष्ठानको दोस्रो सभाअघि कार्यरत सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न सभा बैठकमा एजेन्डा प्रस्तुत गरी स्वीकृति गराउने वा अनुमति लिएर एक साताभित्र एकपटकका लागि आन्तरिक विशेष प्रतियोगितामार्फत प्रक्रिया अघि बढाउने सहमति भएको छ । त्यसैगरी ०६४ मा स्थायी कर्मचारीको स्तरवृद्धि सम्बन्धमा १ साउन ०७५ देखि लागू हुने गरी समायोजन तथा एकपटकका लागि असोज मसान्तभित्र एक तह स्तरवृद्धि गर्ने सहमति भएको छ ।

अस्पतालमा विशेषज्ञ डाक्टर छैनन्, उपकरणले काम गर्दैनन्

गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पोखरा क्षेत्रीय अस्पतालमा डाक्टर, नर्सलगायत जनशक्ति अभाव छ । अस्पतालमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि दैनिक ११ सय बिरामी आउँछन् । स्वास्थ्यकर्मी र कर्मचारीका माग पूरा भए पनि बिरामीले भने उस्तै समस्या भोग्नुपरेको छ ।

अस्पतालमा दरबन्दी कम छ, भएका दरबन्दीमा पनि डाक्टर नआउँदा अस्पतालमा आएका बिरामीसमेत अन्यत्र जानुपर्ने बाध्यता छ । अस्पतालमा झन्डै ५० प्रतिशत डाक्टर हाजिर भएका छैनन् । सबै वार्डमा विशेषज्ञ र मेडिकल डाक्टरको अभाव छ । अस्पताल विकास समिति आफैँले २८ डाक्टर नियुक्त गरे पनि समस्या समाधान भएको छैन ।

बिरामीको आवश्यक रेखदेखमा खटिने नर्सको पनि अस्पतालमा अभाव छ । नर्सको सय दरबन्दी रहेको अस्पतालमा ७० मात्र कार्यरत छन् । सिटी स्क्यान बनेको छैन, एमआरआई र इन्डोस्कोपी सेवा पनि दिन सकेको छैन । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्