कम उमेरमै किन हुन्छ पक्षाघात?

पवित्रा सुनार, काठमाडौं || प्रकाशित मिति :2018-10-07 10:23:27

शरीरको एउटा भाग नचल्नु, बोली लरबरिनु प्यारालाइसिसका लक्षण हुन् । यसलाई नेपालीमा पक्षाघात भनिन्छ। पछिल्लो समय हाम्रो जीवनशैलीमा आएको परिवर्तनले प्यारालाइसिस समस्या बढ्दै गएको चिकित्सक बताउँछन्।

काठमाडौंस्थित वीर अस्पतालमा मात्र हरेक वर्ष यो रोगका बिरामी सात सयदेखि आठ सयसम्म आउने गरेको तथ्यांक छ । पक्षाघातका कारण बेहोस भएर, एउटा खुट्टा या हात नचल्ने भएर, मुख बांगो भएर बिरामीहरू अस्पतालको आकस्मिक कक्षमा आउने गरेका छन् । पहिलो चरणको उपचारपछि यस्ता बिरामीको बाँकी उपचार बहिरंग विभागबाट हुने अस्पतालले जनाएको छ।

पछिल्लो समय पक्षाघातका बिरामी बढिरहेको अस्पतालका न्युरोलोजी विभाग प्रमुख डा. सुनिल कोइराला बताउँछन्। उनका अनुसार वीर अस्पताल आउने नसाका बिरामीमध्ये ५० प्रतिशत पक्षाघातकै छन्।

वीर अस्पतालमा पक्षाघात भएर आउनेहरू यस रोगका लागि जोखिमयुक्त मानिने उमेरभन्दा आधाका समेत छन्। पहिला ६० वर्ष कटेका पुरुषमा बढी यो रोग देखिन्थ्यो भने अहिले ३०/३५ वर्षकै पुरुषलाई पनि पक्षाघात भइरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका मानिसलाई अपांगता बनाउने पहिलो कारण मस्तिष्काघात हो । यस्तै विश्वमै मृत्युको दोस्रो कारण बे्रन अट्याक, बे्रन स्ट्रोक(प्यारालाइसिस) हो।

के हो पक्षाघात?
मस्तिष्कको तौल १.४ किलो हुन्छ । मस्तिष्क त्यस्तो अंग हो जुन अक्सिजनबिना चल्न सक्दैन । मस्तिष्क(बे्रन)लाई ग्लुकोज र अक्सिजन आवश्यक हुन्छ । शरीरका अन्य मांशपेशी बोसोबाट पनि चल्न सक्छन् । रगतमा ग्लुकोज र न्युट्रिसन हुन्छ । यसको उपयोग हुन अक्सिजन चाहिन्छ । मस्तिष्कले निरन्तर सूचना प्रवाह गर्न अक्सिजन सञ्चालन भइरहनुपर्छ । शरीरमा बग्ने कुल रगतको २० प्रतिशत रगत मस्तिष्कमा चाहिन्छ । रगतमा भएको न्युटे«सन उपयोग हुन अक्सिजन चाहिन्छ।

शरीरको जम्मा तौलको २ प्रतिशत मात्र मस्तिष्कको वजन हुन्छ । तर, शरीरमा सञ्चार हुने कुल रगतमध्ये २० प्रतिशत मस्तिष्कमा जानुपर्छ । शरीरका अन्य अंगको तुलनामा मस्तिष्कले बढी काम गर्ने भएकाले यसमा बढी रक्तसञ्चार आवश्यक भएको हो।

मस्तिष्कमा पाँच मिनेट मात्र रक्तसञ्चार भएन भने मस्तिष्कका अन्य कोषहरू नष्ट हुन्छन् । मुटुको धमनीबाट मस्तिष्कमा रगत जान्छ । कहिलेकाहीं धमनीमा रगत जमेर या उच्चरक्तचापले नसा फुटेर पनि मस्तिष्कमा रक्तसञ्चार बन्द हुन पुग्छ । रक्तसञ्चार बन्द भएको भागमा तीन घण्टाभित्र पुनः रक्त सञ्चालन भएन भने त्यो भाग या कोष मर्छन् । अनि मस्तिष्कका ती भाग शरीरका जुन–जुन अंगसँग सम्बन्धित हुन्छन् तिनले काम गर्न छाडछन् । यसैलाई अंग्रेजीमा प्यारालाइसिस र नेपालीमा पक्षाघात भनिन्छ।

मस्तिष्काघात दुई प्रकारका हुन्छन् :
१. पहिलो नन् मोडिफायर बे्रन स्ट्रोक
यो जीवनशैलीमा परिवर्तन ल्याएर घटाउन नसकिने प्रकारको मस्तिष्काघात हो । यस प्रकारको मस्तिष्काघात विशेष गरी  वृद्ध अवस्थामा हुन्छ भने पुरुष, एसियाली र काला जातिमा यो रोगको जोखिम बढी हुन्छ । कसै–कसैको पितापुर्खालाई यो रोग छ भने तिनका सन्तानलाई पनि हुने सम्भावना हुन्छ।

२. मोडिफायर बे्रन स्ट्रोक
चिकित्सकका अनुसार योचाहिँ जीवनशैली परिवर्तन र औषधिबाट नियन्त्रण गर्न सकिने मस्तिष्काघात हो। यसलाई  जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ । रक्सी नखाने, व्यायाम गर्ने, कोलेस्ट्रोलको औषधि सेवन गर्ने, चुरोट नखाने तथा मुटुको बिग्रेको भल्वको समयमै उपचार गरेर रगत जम्नबाट बच्न सकिन्छ । रगतमा डल्लो नबने बे्रनअट्याक(अक्सिन अवरुद्ध) र बेन स्ट्रोक हुँदैन । त्यसबाहेक रगत जम्ने तत्व थम्वोलियाको उपचार पनि समयमै गरेर यसबाट बच्न सकिन्छ । महिलाले गर्भनिरोधका लागि खाने पिल्स चक्कीले पनि रगत बाक्लो बनाउँछ । दम रोगीका पनि रगत बाक्लो हुन्छ  र अक्सिजन नपुगेर रगत जम्ने सम्भवाना बढी हुन्छ।

युवा उमेरमै पक्षाघात
वीर अस्पतालका न्युरोलोजिस्ट डा. सुनिल कोइरालाका अनुसार पछिल्लो समय हाम्रो जीवनशैलीमा आएको परिवर्तनका कारण पक्षाघात समस्या बढेको हो । उनी भन्छन्, ‘पहिला, धनी मानिस र वृद्धा अवस्थाको रोग भनेर चिनिन्थ्यो, अहिले सबै वर्ग र उमेरका मानिसमा देखिन्छ।’

तनावयुक्त जीवनशैली, अनियन्त्रित मधुमेह, बढी चिल्लो र गुलियो पदार्थको बढी सेवन,  शारीरिक श्रम कम,  कोठामै बसेर गर्ने काम बढी हुनाले मोटोपन बढेर पक्षाघातको जोखिम पनि बढेको चिकित्सक बताउँछन्।

‘एक पाइलाको बाटोमा पनि मोटरै चढ्ने चलन, अस्वस्थ खानपानको त कुरै नगरौं,’ काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, न्युरोलोजी विभागका प्रमुख डा.जगदीशचन्द्र अग्रवालले भने।

चिकित्सकका अनुसार विशेष गरी मोटोपना बढेका मानिसमा मतिष्काघात हुने गरेको छ । ‘यही कारणले पक्षाघात पनि बढेको हो,’ डा.कोइरालाले भने । उनका अनुसार एक दशकयता यो रोग ह्वात्तै बढेको छ । ‘पहिलाका मानिस हिंड्थे व्यायाम हुथ्यो,’ उनले भने । पहिला चिल्लो र रक्सी खाए पनि शारीरिक श्रमका कारण रगतमा बोसो जम्न पाउँदैथ्यो।

वीर अस्पतालमा पक्षाघात भएर आउनेहरू यस रोगका लागि जोखिमयुक्त मानिने उमेरभन्दा आधाका समेत छन् । पहिला ६० वर्ष कटेका पुरुषमा बढी यो रोग देखिन्थ्यो भने अहिले ३०/३५ वर्षकै पुरुषलाई पनि पक्षाघात भइरहेको छ । यसको मुख्य कारण आरामदायी जीवनशैली र चिल्लोयुक्त खानेकुराका कारण बढेको मोटोपन । अर्को कारण, नियन्त्रणभन्दा बाहिर गएको मधुमेह (चिनी रोग) पनि हो।

वीर अस्पतालको न्युरोलोजी विभागले तीन वर्षअघि गरेको अनुसन्धानअनुसार पक्षाघात भएर आउने २० देखि २२ प्रतिशतसम्म ४० वर्ष मुनिका छन् । गाउँ र सहर दुवै क्षेत्रमा यो रोग बढ्दै गएको अध्ययनले देखाएको छ । गाउँमा पक्षाघात हुने मुख्य कारण बाथरोग र मोटोपन देखिन्छन्।

चिकित्सकका अनुसार बाथरोग गर्मीमा भन्दा जाडोमा बढी हु्न्छ । जाडोमा चिसोका कारण नसा खुम्चिने भएकाले रगतमा बोसो जम्ने खतरा बढी हुन्छ । जसले मस्तिष्काघात गराउँछ । पक्षाघात हुनेमा महिलाको तुलनामा पुरुष बढी छन् । महिला ४० प्रतिशत छन् भने पुरुष ६० प्रतिशत छन्।

महिलाका तुलनामा पुरुष बढी  उत्तेजित (एग्रोसिब)हुनु, प्रतिस्पर्धी जीवनशैली अनपाउनुजस्ता कारणले पनि पुरुषमा यसको जोखिम बढी हुने गरेको चिकित्सक बताउँछन्।

उपचारको अवस्था   
चिकित्सकका अनुसार सामान्य लक्षणका आधारमा फिजिसियनले पनि पक्षाघातको उपचार गर्न सक्छन् । मस्तिष्कमा रक्तसञ्चार बन्द भएको तीन घण्टाभित्र अस्पताल पु¥याउनु पर्छ । तीन घण्टाभित्र उपचारमा पुग्न सकेमा चिकित्सकले कुन कारणले पक्षाघात भएको भन्ने पत्ता लगाएर त्यसअनुसार उपचार गर्न पाउँछन् । तीन घण्टाभित्र रगतको अवरोध खुलाइदिएमा, उच्च रक्तचाप र कोलस्ट्रोलको औषधि दिएमा बिरामी सामान्य अवस्थामा फर्किन पनि सक्छन्।

तर, तीन घण्टाभन्दा ढिलो गरी अस्पताल पु-याउँदा रक्तसञ्चार बन्द भएको मस्तिष्कको कोषको मृत्यु भइसकेको हुन्छ । अनि त्यस भागसँग सम्बन्धित अंगमा रक्तसञ्चार बन्द हुन्छ र तिनले काम गर्न छाड्छन्।

जस्तो, आँखामा सन्देश पु-याउने मस्तिष्ककको भागमा रक्तसञ्चार बन्द भएको खण्डमा आँखाको दृष्टि गुम्न सक्छ । खुट्टामा सन्देश पु-याउने भागमा रक्तसञ्चार बन्द भएमा खुट्टा चल्दैन । समयमै अस्पताल पुगे मस्तिष्काघातले थप असर पु-याउन पाउँदैन।

यो रोग उपचारका लागि नेपालमा अहिले पनि जिल्ला तथा अञ्चल स्तरका अस्पतालहरूमा पर्याप्त सेवा नहुँदा बिरामी प्रभावित हुने गरेको डा. अग्रवाल बताउँछन् । केन्द्रीय अस्पतालहरूमा भने विश्वका विकसित राष्ट्रमा हुने तहकै उपचार सेवा रहेको डा. अग्रवालको दाबी छ । पक्षाघातले पु-याएको असर उपचारपछि पूर्ण रूपमा निको हुन नसक्ने उनी बताउँछन् । छिटो उपचारमा जानेको भने धेरै हदसम्म निको हुने सम्भावना हुन्छ।

पक्षाघातका सुरुवाती लक्षणहरू
– मोटोपना बढ्नु
– कोलेस्ट्रोल बढ्नु
– मधुमेह र उच्चरक्तचाप बढ्नु
– एकछिन् हातखुट्टा नचल्नु
– टिआइए अट्याक (शरिरको कुनै भागको क्रिया बन्द भई २४ घण्टाभित्र आफै चल्ने )
– शरीरको कुनै भागमा स्टे«स हुन सक्छ
– बोली अस्पष्ट हुने, लरबरिने

कसरी बच्ने?
– जीवनशैली सुधार गर्ने
– उच्चरक्तचाप,  मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा राख्ने
– रातो मासु सकेसम्म कम खाने
– चुरोट र रक्सी नखाने
– रगतमा रगत जमाउने तत्व छ भने त्यसको उपचार गर्ने
– खानामा फलफूल र सागपातको मात्रा बढाउने
– तनाव नलिने
– तौल नियन्त्रणमा राख्ने

नागरिकन्युज

 

    Comment Here!