पत्थरको उपहार, मिर्गौला विफल

सह—प्रा.डा. अनिल श्रेष्ठ, वरिष्ठ कन्सल्टेन्ट, युरो सर्जन || प्रकाशित मिति :2018-10-08 05:19:06

सन् २०११ देखि युरोलोजी विषयमा अभ्यासरत डा. श्रेष्ठको टिमबाट वीर अस्पतालमा मात्र दैनिक करिब २ सय भन्दा बढी युरोलोजीसम्बन्धित बिरामीले ओपिडी सेवा प्राप्त गर्छन् भने दैनिक करिब २० जनाको शल्यक्रिया हुने गरेको छ ।

बिरामीहरु के कस्ता समस्या लिएर आउँछन् ?
मिर्गौला र मुत्रनलीको पत्थर, प्रोस्टेट, मिर्गौलाको संक्रमण, मिर्गौला प्रत्यारोपण, ट्युमर, मुत्रनलीको समस्या, पिसाब थैलीको, पुरुषहरुको एड्रिनल ग्ल्यान्ड, लिङ्ग, अण्डकोष र निःसन्तानपनसम्बन्धि समस्या आदि पर्दछन् ।
मिर्गौलाको पत्थरको समस्या देखिने विश्वका धेरै देशमध्ये नेपाल पनि एक हो ।

खासगरी नेपालको तराई क्षेत्रमा यस प्रकारको समस्या धेरै हुने गरेको पाइन्छ । यसबाहेक ५० वर्ष नाघेका पुरुषहरुमा प्रोस्टेटको समस्या पनि धेरै छ । पिसाबथैली, मिर्गौलाको क्यान्सरका बिरामीको संख्या पनि कम छैन । महिलामा हुने पिसाब सम्बन्धि (पिसाब चुहिने, पिसाब थाम्न नसक्ने) समस्या पनि धेरै छ । यसका साथै बालबालिकाहरुको युरोलोजीसम्बन्धि समस्या लिएर आउनेहरुको पनि कमी छैन ।
मिर्गौलामा पत्थर हुने कारण के हो ?
मुख्य रुपमा मिर्गौला र पिसाबको नलीको पत्थरको समस्या देखिनसक्छ । यसको ठोस कारण चिकित्सा विज्ञानलेसमेत पत्ता लगाउन सकेको छैन । तर शरीरमा पानीको मात्रा कम भएमा, पटक पटक मिर्गौलाको संक्रमण भइरहने, जन्मजात पिसाबसम्बन्धी समस्याका कारण मिर्गौलामा पत्थर हुनसक्ने सम्भावना बढ्छ । यसरी पिसाब राम्रोसँग वहाव भएर बाहिर निस्कन नसक्दा पिसाब थेग्रिने समस्या हुन्छ जसले गर्दा बिस्तारै पत्थरी बन्ने क्रम सुरु हुन्छ । खानाका कारण पनि पत्थरी बन्नसक्छ ।

मिर्गौलाको पत्थर हुँदाको लक्षण के हो ?
यसकोे मुख्य लक्षण दुःखाइ हो । धेरैजसो बिरामी दुःखाई र संक्रमणको लक्षण लिएर आउँछन । बिना लक्षण पत्थरका कारण मिर्गौला बिग्रेपछि उपचारका लागि अस्पताल आउने बिरामीको संख्या पनि कम छैन ।

मिर्गौलाको पत्थर हुँदा दुःखाइ किन हुन्छ ?
विशेषगरी पत्थरले पिसाबको बहावलाई बन्द गरिदिँदा मिर्गौला फुलेर दुःखाई शुरु हुन्छ । धेरैजसो मिर्गौलाको नली (युरेटर) को पत्थरीले धेरै दुःखाइ हुन्छ । मिर्गौलाको नली सानो हुने कारण सानो पत्थरले पनि पिसाब बन्द गरिदिन्छ र मिर्गौला फुल्न थालेपछि दुःखाई शुरु हुन्छ । पत्थरको साइजका कारण दुःखाइ धेरै र थोरै हुन्छ भन्ने हुँदैन । ढुंगाको साइज जस्तो भएपनि त्यसैले पिसाबको वहाव वन्द नगरेको अवस्थामा दुःखाइ नहुनसक्छ ।

कस्तो अवस्थामा मेडिकल र सर्जिकल उपचारको जरुरत पर्छ ?
हाम्रो समाजमा पत्थर भएका धेरैजसो बिरामी आयुर्वेद उपचारमा विश्वास राख्छन् । आयुर्वेद औषधि एवं पानी पिएर पत्थर निकाल्ने मनस्थिति भएका व्यक्ति धेरै छन् । मिर्गौला बिग्रेपछि मात्र उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य छ । यसबारे मैले ८ बर्ष अगाडि मिर्गौला र मिर्गौलाको नलीमा भएको कुन साइजनको पत्थर झर्न कति समय लाग्छ ? र कुन साइजको पत्थर झर्दैन भन्नेबारे ५०० बिरामीमा अनुसन्धान गरेको थिएँ ।

‘‘अध्ययनले मिर्गौलाको नलीको तल्लो भागमा रहेको ५ मिलिमिटर (एम.एम.) भन्दा सानो पत्थर झर्ने सम्भावना ८० देखि ९० प्रतिशत सम्म देखाएको थियो । यसका लागि औषधिको जरुरत पर्दैन ।’’

यसका लागि प्रशस्त पानी पिउनुपर्छ । तर मिर्गौलाको नलीको माथिल्लो भागमा भएको पत्थर झर्ने सम्भावना कम हुन्छ । कतिपय अवस्थामा मिर्गौलाको नलीमा १० एम.एम भन्दा सानो पत्थर भएमा पनि त्यसले कुनै समस्या गरेको छैन भने तुरुन्त औषधि उपचारको जरुरत पर्दैन । मिर्गौला स्वस्थ्य छ, संक्रमण छैन, बिगार्ने लक्षण छैन, पिसाबमा रगत बगेको छैन र दुःखाइ पनि छैन भने त्यसलाई केहि हप्ता कुरेर हेर्ने गरिन्छ । तर १० एम.एम.भन्दा ठूलो पत्थर भएमा कुरेर कुनै फाइदा हुँदैन । यस प्रकारको पत्थर विभिन्न प्रविधिको माध्यमबाट निकाल्न सकिन्छ ।

पिसाबमा रगत किन आउँछ ?
पिसाबको नली या मिर्गौलामा बिस्तारै पत्थर जम्न थालेपछि संक्रमणका कारण पिसाबमा रगतका कण देखिन्छ । पत्थरको चोटले पनि पिसाबमा रगत आउँछ । शुरुको अवस्थामा पिसाबमा रगत आएको आँखाले देख्न सक्दैन । यसलाई माइक्रोसकोपले राम्रोसँग देखाउँछ ।

समस्या, पहिचान र डायग्नोसिस कसरी हुन्छ ?
मिर्गौलामा पत्थर भएको थाहा पाएपछि जतिसक्दो चाँडो युरोलोजीष्टको सल्लाह र परामर्शमा बस्नुपर्छ । मिर्गौलाको पत्थर भएकाहरुमा उपचारपछि पनि पटक पटक फर्केर आउने सम्भावना रहन्छ ।
हाम्रो ५ सय बिरामीहरुको अध्ययनबाट केही ठूला समस्याहरु पत्ता लगाउन सक्यौं । धेरैजसो हाम्रा बिरामीहरु शल्यक्रिया गरिसकेपछि पुनः स्वास्थ्य परीक्षण नगर्ने हुनाले पुनः पत्थर बल्झिएर कमजोर मिर्गौला विफल गरेको पाइयो । त्यसमध्ये पनि धेरैजसो २०—४० वर्षका युवावर्गहरुमा पत्थरीले मिर्गौला विफल गराएको तथ्य पनि खुल्न आयो ।

‘‘मिर्गौलामा एक पटक पत्थर भएका व्यक्तिलाई उपचारपछि ५ वर्षमा फेरि बल्झने सम्भावना ५० प्रतिशत हुन्छ ।’’

त्यसैले सबै मिर्गौलाको पत्थरीका बिरामीहरुले शल्यक्रिया पश्चात् पनि कम्तिमा वर्षमा एकपटक मिर्गौलाको स्वास्थ्य परीक्षण गर्न अति आवश्यक भएको कुरा बुझ्न जरुरी छ । पत्थर फेरि परेर कमजोर पत्थरको शल्यक्रिया गरेका व्यक्तिले वर्षमा एकपटक युरिन टेस्ट, अल्ट्रासाउन्ड र फङ्सनल टेस्ट गरेर सम्बन्धित डाक्टरलाइ देखाउनुपर्छ ।
पत्थर भएका व्यक्तिमा कोखा र ढाडको दुःखाइ हुन्छ । कसैकसैलाई तल्लो पेट दुख्छ । हाम्रो गाउँघरमा ढाड दुखेमा काम गर्दा दुखेको भनेर बर्षौ कुर्ने प्रचलन छ । यसबाट कतिपय व्यक्ति मिर्गाैलाले काम नै नगर्ने अवस्थामा अस्पताल आउँछन् ।
पत्थरले कति समयमा मिर्गौला विफल गराउँछ ?
यसको कुनै ठेगान हुँदैन । कोहीको मिर्गौलामा १० वर्ष सम्म पत्थर भएपनि मिर्गौला स्वस्थ्य हुन्छ । कसैको मिर्गौलाको नलीमा भएको पत्थरले २ महिनामा मिर्गौला विफल भएको हुन्छ । मिर्गौला विफल गराउने या नगराउने भन्ने पत्थरको साइज र स्थानले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले मिर्गौलाको नलीमा पत्थर सानो छ भनेर कुर्न हुँदैन । डाक्टरको सल्लाह लिनुपर्छ ।

पत्थरले मिर्गौला विफल कसरी गराउँछ ?
पत्थरले पिसाब निस्कने बाटो थुनिदिएपछि पिसाब बाहिर निस्कन पाउँदैन । पत्थरको अवरोधका कारण मिर्गौलामा पिसाबको दवाव पर्छ । हप्तौं एवं महिनौं दिनदेखि यस प्रकारको समस्या भइरहेमा मिर्गौलालाई असर पर्दैजान्छ । मिर्गौलाको फिल्टर गर्ने मेकानिजम बिग्रेपछि यो विफल हुन्छ ।
मिर्गौलाको रि—करेन्ट इन्फेक्सनका कारण पनि मिर्गौला विफल हुनसक्छ । मिर्गौलामा पटक पटक पत्थर बनेर संक्रमण भइरहेमा, पिसाब जमेर पिप बनेमा मिर्गौला विफल हुनसक्छ ।
खासमा पत्थरमा के हुन्छ ?
पत्थरको कम्पोजिसन धेरै प्रकारको हुन्छ । नेपालमा प्रायजसो पत्थरमा क्याल्सियम र अक्जालेटको कम्पोजिसन सबैभन्दा धेरै छ । त्यस्तै युरिक एसिडको कम्पोजिसन पनि हुन्छ । इन्फेक्सनले एमोनियम फस्फेट कम्पोजिसन बनाउँछ । पत्थरको कम्पोजिसन विभिन्न कारण अनुुसार फरक हुन्छ । युरिक एसिडको कम्पोजिसनले बनेको युरिक एसिड पत्थरलाई औषधि खाएर पनि पगाल्न सकिन्छ । क्याल्सियम र अक्जालेट पत्थर शरीरमा पर्याप्त पानी नपुगेर, नुन धेरै भएर र क्याल्सियमको अरु मेटावोलिजम बिग्रेर बन्छ । पाराथायराथायरोइड ग्रन्थीको काम धेरै भएमा क्याल्सियम पत्थर हुन्छ ।
डाइग्नोसिस कसरी गरिन्छ ?
सामान्य त साधारण भिडियो एक्स—रे बाट पनि मिर्गौलाको पत्थर पत्ता लगाउन सकिन्छ । पत्थरको ठिक साइज र कडापन पत्ता लगाउन सिटी केयूभी  जाँच सबैभन्दा राम्रो मानिन्छ । मिर्गौलाको नलीको पत्थर पहिचानका लागि अल्ट्रासाउन्ट त्यति राम्रो छैन । अल्ट्रासाउन्डले पिसाबथैलीको पत्थर राम्रोसँग देखाउँछ । पत्थर पहिचानको लागि सिटी धेरै भरपर्दो माध्यम हो । यसको सेन्सेटीभिटी ९९ प्रतिशत छ । पत्थरले मिर्गौला विफल गरे नगरेको थाहा पाउन चिकित्सकसँग सल्लाह लिनुपर्छ । मिर्गौला विफल भएर फाल्नुपर्ने भएनभएको र पत्थर झिकेर मिर्गौला बचाउन सकिने वा नसकिने पहिचानका लागि सिटी—आइभियू जाँच गर्नुपर्छ । पटक पटक पत्थर बनिरहने समस्यामा शल्यक्रिया गरेर पुग्दैन । यसको कारण पत्ता लगाउन जटिल प्रकारका विभिन्न जाँच गर्नुपर्छ ।
पत्थर बन्ने जोखिममा को पर्दछन् ?
पानी कम पिउने मानिस बढी जोखिममा हुन्छन् ।

‘‘गर्मी ठाउँमा बसोबास गर्ने मानिसमा बढी पसिना आउने भएकाले उनीहरुले पर्याप्त पानी पिउनुपर्छ ।’’

त्यसैले अत्यधिक गमी हुने नेपालको तराइ र उत्तरी भारतको भु–भागमा बसोबास गर्ने मानिस जोखिमा हुन्छन् । यसका साथै पाराथायराइडको समस्या र शरीरमा क्याल्सियमको समस्या भएका व्यक्ति जोखिममा हुन्छन् । वारम्बार संक्रमण भइरहने महिला पुरुष दुवैमा पत्थरी हुने उच्च जोखिम रहन्छ ।
उपचार र सल्लाह
मिर्गौलालगायत मुत्रप्रणालीका कुनै पनि भागमा भएको पत्थरीको उपचारका लागि ढिलाई गर्न हुँदैन । पत्थरीको पहिचान भएपछि सम्बन्धित युरोलोजिष्ट चिकित्सकको सल्लाह र परामर्शमा रहनुपर्छ । पत्थरीको साइज अनुसार हरेक पत्थरीको भिन्न भिन्न उपचार विधि हुन्छन् ।
पत्थरी सानो भएको अवस्थामा ‘पख र हेर’ भनेर पानी र औषधि सेवन गराइन्छ । युरिक एसिड पत्थरमा मेडिकल मेनेजमेन्टबाट समाधानको उपाय खोजिन्छ । बजारमा पिसाबको नली खुकुलो बनाएर नली भित्रको पत्थर झार्ने औषधि पनि पाइन्छ ।
यदि यसबाट समस्या समाधान नभएमा शल्यक्रिया गर्नुपर्छ । शल्यक्रिया विभिन्न प्रकारका हुन्छन् । इएसडब्लुएल इ.एस.डब्लु.एल.प्रविधि पनि चलनचल्तीमा छ । यस प्रक्रिया अनुसार सकले पत्थरलाई टुक्रा पारेर फुटाउने र पिसाबबाट बाहिर निकाल्ने गरिन्छ । यसका साथै आजकाल प्रख्यात आरआईआरएस  पनि छ । यस प्रविधि अनुसार २ सेन्टिमिटिर भन्दा सानो पत्थरका लागि पिसाबको नलिबाट सानो क्यामेरा लेजर भएको औजार छिराएर मिर्गौलाभित्र पु¥याएर पत्थरलाई मसिनो बनाएर निकाल्ने गरिन्छ ।
२ सेन्टिमिटरभन्दा ठूलो पत्थर भएमा पिसिएनएल  र मिनी—पिसिएनएल प्रविधि अपनाइन्छ । यसअन्तर्गत शरीरमा सानो प्वाल पारेर नलीबाट पत्थर निकाल्न सकिन्छ । नेपालमा नयाँ प्रविधि नआउँदासम्म ओपन सर्जरीबाट पत्थर निकालिन्थ्यो ।

शल्यक्रियापछि पत्थर पुःन पलाउने सम्भावना कति हुन्छ ? यसलाई न्युनिकरण गर्न के गर्नुपर्ला ?
यो शरीरको संरचनामा निर्भर गर्छ । कतिको चाँडो पलाउँछ भने कतिको ढिलो पलाउँछ । पत्थर निकालेका एक सय जनामध्ये ५० प्रतिशतमा ५ वर्षमा पुन पत्थर पलाउन सक्छ । १० वर्षमा पुन पत्थर फर्किन सम्भावना ७५ प्रतिशत रहेको हुन्छ । यद्यपी एकपटक निकालिसकेको पत्थर पुन बल्झिन सक्छ । त्यसैले वर्षको एकपटक जाँच गराउनुपर्छ । संक्रमण भइरहने र पाराथायराइड ग्रन्थीको समस्यामा उपचार गर्नुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । दैनिक २ लिटर जति पिसाब आउने गरी पानी पिउनुपर्छ । यसका लागि दैनिक ३ लिटर जति पानी पिउनुहोला । नुनको सेवन कम गर्ने, धेरै माछा मासु नखाने, हरियो सागपात र फलफूल सेवनमा जोड दिनुपर्छ ।

(डा. श्रेष्ठ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एसोसिएट प्रोफेसर, युरोलोजी एमसिएच अध्यापनको को—अर्डिनेटर र वीर अस्पतालमा वरिष्ठ कन्सल्टेन्ट युरो सर्जनका रुपमा कार्यरत हुनुहुन्छ ।)

    Comment Here!