पिसाब नली साँघुरो हुने समस्या: युरेथ्रल स्ट्रिक्चर

उप—प्रा.डा.पवन राज चालिसे, युरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन || प्रकाशित मिति :2018-10-09 05:17:57


युरोलोजीसम्बन्धि उपचारमा प्रतिफल एकदम राम्रो छ । यसमा बिरामी चाँडै रि—कभर हुने र सफल दर ९५ प्रतिशतसम्म मिलेको छ । जस्तैः पिसाब थुनिएको समस्या लिएर आएको बिरामीको शल्यक्रिया गरेपछि ठिक हुन्छ । युरोलोजीअन्तर्गत कुनै पनि भागमा ढुङ्गाले ब्लक भएर छटपटाएका बिरामीहरुलाई ढुङ्गा निकालेपछि सन्चो हुन्छ । यसरी आफ्नो प्रयासका कारण बिरामीलाई सञ्चो भएर खुशी भएको देख्दा त्यो भन्दा आनन्दको क्षण केही हुने रहेनछ ।
मैले युरोलोजीकै क्षेत्रमा काम गरेको १० वर्षको अवधिमा धेरै मिर्गौला प्रत्यारोपण समेत गरिरहेको छु ।
विगतदेखि नै युरेथ्रल स्ट्रिक्चर डिजिज एकदमै नेग्लेटेड भएको पाएको छु । मैले अध्ययन र काम गर्दा यस प्रकारका बिरामी धेरै देख्थँे । मानिसहरु पाइप झुन्ड्याएर बस्थे । यस्ता व्यक्तिलाई पाइपबाट मुक्त बनाउन सकिन्छ कि सकिदैन भनेर धेरै नै खुलदुली हुन्थ्यो । यसका लागि विदेशका धेरै ठाउँमा पनि ट्रेनिङ गर्न गएँ । अहिलेसम्म मैले युरेथ्रल स्ट्रिक्चरका १ सय भन्दा बढि बिरामीको सफल उपचार गरेको छु ।

‘‘गत वर्षको त्रि.बि.शिक्षण अस्पतालको तथ्याङ्ग अनुसार ओपिडिमा हेरेका २२ हजार बिरामीमध्ये जटिल शल्यक्रिया ८ सयको हारहारीमा भएको थियो ।’’

यसरी बहिरङ्ग विभागमा आउने २२ हजार युरोलोजीका बिरामीमध्ये ३०–४० प्रतिशत शल्यक्रिया गर्नुपर्ने अवस्थाका हुन्छन् । तर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको हाम्रो युरोलोजी टिमले जति गरेपनि १ हजार २ सय भन्दा बढि बिरामीको शल्यक्रिया गरी उपचार सेवा दिन सकेका छैनौँ । अस्पतालमा आउने ४० प्रतिशत बिरामीहरु अन्यत्रबाट रिफर भएर आएका हुन्छन् र ति सबै जटिल शल्यक्रियाका लागि रिफर भएका हुन्छन् ।

पर्याप्त भौतिक अवस्था र साधनस्रोतको अभावका कारण अस्पतालले सबै बिरामीलाई सहज उपचार सेवा दिन सकेको छैन । ‘उपचार गराइ पाऊँ’ भन्ने बिरामीहरुको भिड पनि कम हुँदैन । धेरैले त उपचार सेवा नै प्राप्त गर्न सक्दैनन् भने कतिपय बिरामीहरुको शल्यक्रियाका लागि १ देखि २ वर्षसम्म कुर्नुपर्छ । त्यसैले युरोलोजी सेवामा सबैको पहुँच पु¥याउन त्रि.बि. शिक्षण अस्पतालमा छुट्टै युरोलोजी सेन्टर खोलिनुपर्ने आवश्यकता देखिएको छ ।
युरेथ्रल स्ट्रिक्चर के हो ?
पिसाब थैलीबाट निस्केको नली साँघुरिने प्रक्रियालाई युरेथ्रल स्ट्रिक्चर भनिन्छ । यद्यपी स्ट्रिक्चर भनेको साघुँरो हुनु हो ।
कसरी हुन्छ ?
यो चोट र इन्फेक्सन दुवैले हुने गर्छ ।
पिसाब थैलीबाट पिसाब बहिर आउने नली हुन्छ । यसको पहिलो भागमा प्रोस्टेट ग्रन्थी हुन्छ । प्रोस्टेट बढेको अवस्थामा पनि पिसाबको धारा सानो आउन सक्छ । पिसाब थैलीमा राम्रोसँग पिसाब निख्रिन पाउँदैन र पटक पटक संक्रमणको समस्या भइरहन्छ । यसैगरी पिसाब नली साँघुरो हुने अर्को कारण चोट हो । साइकलको डण्डीमा ठोक्किएर, रुखबाट लडेर, काठमा ठोक्किएर, सडक दुर्घटनामा पेल्भिक फ्याक्चर भएमा पिसाब नलीमा चोट पर्छ र पिसाब बाहिर निस्किदैन । त्यसपछि पिसाबथैलीमा सोझै पाइप हालेर पिसाव निकाल्नुपर्छ र पछि त्यसलाई शल्यक्रिया गरेर जोड्नुपर्छ ।
लक्षणहरु के के देखिन्छ ?
पिसाब फेर्न गाह«ो हुन्छ । पिसाब थैलीबाट पिसाब जाने बाटो नहुँदा पिसाव फेर्न बल गर्नुपर्छ । पिसाबको धारो सानो हुन्छ । पिसाब ननिख्रने कारण हुने संक्रमणबाट मिर्गौलासमेत विफल हुनसक्छ । गोनोरियाको संक्रमणले पनि युरेथ्रल स्ट्रिक्चरको समस्या हुन्छ ।
डायग्नोसिस कसरी गरिन्छ ?
भिडियो एक्स–रे गरेर पिसाब जमेनजमेको थाहा पाइन्छ । रेट्रोग्रेट युरेथ्रोग्राम गरेर राम्रोसँग समस्या पहिचान हुन्छ । पिसाबको मुखबाट सानो नली घुसाएर औषधि हालेर पिसाब नली फुलाएर साँघुरो ठाउँ पहिचान गर्ने प्रविधि रेट्रोग्रेट यरेथ्रोग्राम भनिन्छ ।
मेडिकल र सर्जिकल उपचार

‘‘युरेथ्रल स्ट्रिक्चर भइसकेपछि मेडिकल उपचारभन्दा पनि सर्जिकल उपचारको जरुरत पर्छ । चोट लागेर युरेथ्रा चुँडिएमा सर्वप्रथम पिसाबथैलीमा सोझै पाइप हालेर पिसाब निकालिन्छ र पछि शल्यक्रिया गरेर जोडिन्छ ।’’

युरेथ्रलको इन्फेक्सनहरु औषधिबाट पनि उपचार हुन्छ । बेलैमा युरेथ्रल इन्फेक्सन उपचार भएमा स्ट्रिक्चर हुन पाउँदैन । गोनोरिया र असुरक्षित यौन सम्पर्कका कारण संक्रमण भएमा समस्या लुकाएर बस्न हुँदैन । छालामा सेतो दाग देखिएमा सम्बन्धित चिकित्सकबाट उपचार सेवा लिनुपर्छ ।
सुरुको अवस्थामा औषधिबाट उपचार सम्भव हुन्छ । साँघुरो युरेथ्रालाई ठुलो बनाउनुपर्छ र यदि युरेथ्रा पूर्ण रुपमा बिग्रिसकेको अवस्थामा मुखको भित्रको छाला निकाली पिसाव नलि बनाउने (रिकन्स्ट्रक्सन) अप्रेशन गनर्’ पर्ने ह’न्छ .
राति सुतेको बेला पिसाब चुहिने
बेड ओइटिङ
राति सुतेको बेलामा पिसाब चुहिने समस्यालाई बेड ओइटिङ भनिन्छ । हाम्रो शरीरमा पिसाब जम्मा हुने र निष्कासन हुने प्रक्रिया चलिरहन्छ ।
पिसाबथैली मुटुभन्दा पनि कम्लेक्स जस्तो लाग्छ । खुम्चिएको पिसाब थैली पिसाब भरिदै गएपछि फुल्दै जान्छ र पूरा भरिएपछि पिसाब लाग्छ र ठाउँ हेरि व्यक्तिले सामान्य रुपमा पिसाब त्याग गर्दछन् ।
तर कसै कसैमा पिसाब ननिख्रर्ने समस्या (क्रोनिक रिटेन्सन) भएमा वा पिसाब निस्कने बाटो साँघुरोे भएमा दिनको समयमा पिसाब बाहिर निकाल्न सकिरहेको हुँदैन । दिउँसोको समयमा पिसाबलाई स्पिन्चरले रोकेर राखेको हुन्छ । तर राति सुत्ने बित्तिकै स्पिन्चर रिल्याक्स भएर जम्मा भएको पिसाब सबै बाहिर निस्कन्छ ।
(डा. चालिसे त्रि.बि.शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

    Comment Here!