फादर अफ इन्डो—युरोलोजी: डा. जगदीश लाल वैद्य

डा. जगदीश लाल वैद्य, बी एण्ड बी अस्पताल || प्रकाशित मिति :2018-10-09 08:12:04

मुलुकमा पहिलोपटक इन्डो—युरोलोजी सेवा शुरु गर्दा डा. बैद्यले यो सेवा यसरी व्यापक होला भन्ने सोच्नुभएको थिएन । उहाँले सन् १९८२ को मे—जुन महिनामा शान्त भवन हस्पिटलमा मुलुकमा पहिलोपटक इन्डो—युरोलोजी सेवा शुरु गर्नुभएको थियो । इन्डो—युरोलोजीअन्तर्गत मुत्राशयबाट यन्त्र भित्र छिराएर शल्यक्रिया गरिन्छ । त्यसअघिका युरो सर्जनहरुले शल्यक्रिया काटेर गर्दथे ।

‘‘डा. बैद्यले अहिलेसम्म ३० हजार भन्दा बढी युरोलोजीसम्बन्धित सफल शल्यक्रिया गरी हजारौंको ज्यान जोगाउनुभएको छ ।’’

इन्डो—युरोलोजी के हो ?
इन्डो—युरोलोजीअन्तर्गत मुत्रनलीबाट अत्याधुनिक शुक्ष्म यन्त्रहरु इन्द्राशयभित्र पसाएर भित्रको क्यान्सर, प्रोस्टेट निकाल्ने गरिन्छ । यसका साथै पत्थरहरुलाई त्यहीँ फुटाएर निकाल्ने गरिन्छ । बाहिरबाट मिर्गौलामा प्वाल पारेर यन्त्र घुसाएर भित्रको शल्यक्रिया गर्ने कार्य इन्डो—युरोलोजी हो ।

कसरी इन्डो—युरोलोजीको ज्ञाता हुनुभयो ?
नेपालमा जन्मे हुर्केको भएकाले मलाई देशको स्वास्थ्य समस्याबारे राम्रो ज्ञान थियो । यसै सिलसिलामा डाक्टर अध्ययनका लागि बेलायत गएँ । सर्जरी सम्बन्धि अध्ययन गरेँ । त्यहाँ राम्रै ठाउँमा सर्जरी गर्ने मौका मिल्यो । लण्डनको च्यारिङ क्रस टिचिङ हस्पिटलमा प्रोफेसर डा.रेनको पोष्ट—फेलोसिप रजिस्टार भएको थिएँ । हस्पिटलका युरोलोजी सेक्सन प्रमुख डा.पिटरफिलिपसँग इन्डो—युरोसर्जरी सिक्ने मौका पाएँ । मेरो इङ्गल्याण्ड मै बस्ने पिआर पनि थियो । तर बुवाआमा र परिवारको मायाले नेपाल आउने इच्छा जाग्यो र नेपाल फर्केको हुँ । त्यहिँ बसेर काम गरेको भए पनि धेरै अवसरहरु थिए ।
इन्डो—युरोलोजीबारे बुझाउन कत्तिको गाह्रो  भयो ?
त्यो बेला हस्पिटलले मेडिकल उपकरणमा लगानी गरेर खरीद गर्ने अवस्था थिएन । अस्पतालहरुसँग रकमको अभाव हुन्थ्यो । लन्डनमा बस्दा कमाएर बचाएको रकम खर्च गरेर इन्डोस्कोपीलगायतका उपकरहरु आफैंले लिएर आएको थिएँ । लन्डनबाट फर्किदा मेरो लगेजमा सर्जरीका सामान मात्र थिए । अन्य आवश्यकपर्ने उपकरणहरु पानी जहाजबाट मगाएको थिएँ ।
मुलुकमा इन्डो—युरोलोजी सेवा कसरी स्थापित गराउनुभयो ?
त्यो बेला नेपालमा टेलिभिजन शुरु नै भएको थिएन । काठमाडौंका एउटा दुइवटा पत्रपत्रिका र रेडियोले अन्तर्वार्ता लिए । इन्डो—युरोलोजीको चर्चा बिस्तारै सुरु हुन थाल्यो । त्यो बेला पिसाबथैलीको क्यान्सरको उपचार काटेर गरिन्थ्यो । यसबाट धेरै कम्प्लिकेसन देखिन्थ्यो । तर इन्डो—युरोलोजी सेवाबाट कम्प्लिकेसन हुने समस्या घट्न थाल्यो । त्यसपछि बिस्तारै अरु डाक्टरहरु इन्डो—युरोलोजी विषयमा अध्ययन गर्न जानेक्रम सुरु भयो । मैले धेरै चिकित्सकहरुलाई ट्रेनिङ दिएँ । कतिपयलाई अध्ययन गर्न जान सहयोग गरेँ । नेपालमा म आफैँ ट्रेनरको रुपमा स्थापित भएँ । अहिले म सँग युरोलोजीमा पोष्ट ग्य्राजुयट्स गरेका १८ जना विद्यार्थी छन् । म जेनरल सर्जरीको पनि ट्रेनिङ गराउँछु । अहिले मेरो टिममा ९ जना डाक्टर छन् । म पोष्ट ग्य्राजुयट्सका विद्यार्थीसँग शुल्क लिनुहुन्न भन्ने पक्षको मान्छे हो । प्रा.डा.अशोक बाँस्कोटाले पनि ३३ जनालाई अर्थोपेडिकमा पोष्ट—ग्य्राजुयट्स विद्यार्थी निकालिसक्नुभयो । तर उहाँले कसैसँग पनि पैसा लिनुभएको छैन । यद्यपी मुलुकमा दक्ष जनशक्ति विकासमा आफ्नो तर्फबाट सानै भएपनि कोसिस गरिरहेको छु । यसमा मलाई खुशी र आनन्दको अनुभूति हुन्छ ।
यहाँको अहिलेको दिनचर्या कस्तो छ ?
म अहिले ७४ वर्षको भएँ । सन् १९८२ देखि अहिलेसम्म निरन्तर बिरामीको सेवामा छु । म दिनहुँ शल्यक्रियामा संलग्न हुन्छु । हप्ताको ३ दिन ओपिडी सेवा दिन्छु । आजकल आइतबार, मंगलबार र बिहिबार दिउँसो २ बजेपछि घरमा परिवारलाई समय दिने गरेको छु । विगतमा पाटन हस्पिटलमा १९ वर्ष काम गर्दा कुनै दिनपनि छुट्टी लिदैनथेँ ।
त्यो बेला मासिक तलब कति थियो ?
अस्पतालले दिने मासिक तलब १ हजार ८ सय थियो । टेलिफोन र गाडिको पेट्रोल खर्चसमेत गरेर जम्मा २ हजार ४ सय पुग्थ्यो । घरायसी रासन पानी र गाडिको पेट्रोल खर्च कटाएर बाँकी रहेको आम्दानीबाट मैले छोरासरह भाइबहिनीहरुलाई पनि पढाएँ । त्यसकारण परिवारका सबै सदस्य शिक्षित छन् ।

डा. बैद्यले मुलुकमा रोबोटिक सर्जरी सेवा भित्र्याउने चर्चा पनि छ ?
ढिलो चाँडो एक दिन मुलुकमा रोबोटिक सर्जरी सेवा अवश्य शुरु हुन्छ । यसका लागि धेरै दक्ष जनशक्तिको जरुरत पर्छ । बी एण्ड बी मा दुई जना युरोसर्जनले रोबोटिक सर्जरीबारेमा सिकेर आइसकेका छन् । उनीहरुले क्यान्सरमा रोबोटीक सर्जरी गर्ने अभ्यास गरेका हुन् । अमेरिकन कम्पनिको मात्र वर्चश्व भएकाले रोबोटिक सर्जरी उपकरण महँगो छ । यसको मूल्य करिब २० करोड भन्दा बढी लाग्छ । यसको मर्मतसम्भार खर्च मात्र बार्षिक २ करोड जति पर्छ । त्यसैले बिरामीले महँगो शुल्क तिर्नुपर्ने हुनसक्छ ।

रोबोटिक सर्जरीको फाइदा कस्तो हुन्छ ?
यो भिडियोमा हेरेर गरिने ल्याप्रोस्कोपिक सर्जरी हो । मान्छेको नियन्त्रणमा रोबोटले शल्यक्रिया गर्छ । रोबोटिकमा फोर डि भिजनद्धारा नजिकैबाट हेरेर शल्यक्रिया हुने गर्छ । रोबोटले साँघुरो ठाउँमा पनि सियो पठाएर सिउने काम गर्छ । शरीरको भाग काट्नुपर्दैन । सानो प्वाल बनाए पुग्छ । यो विशेषगरी प्रोस्टेट क्यान्सर, पाठेघरको ट्युमर, मुत्रथैलीको ट्युमरमा प्रयोग हुन्छ । रोबोटिक सर्जरीमा मिर्गौला बचाएर सजिलै काम गर्न सकिन्छ ।
विगतमा दैनिक कति जनाको शल्यक्रिया गर्नुहुन्थ्यो ?
पाटन हस्पिटलमा काम गर्दा म एक्लैले दैनिक २० वटा शल्यक्रिया गर्दथेँ । यसमा मिर्गौलाको पत्थरी प्रोस्टेटलगायत युरोलोजीसम्बन्धि सबै शल्यक्रिया पर्दथे ।
आफ्ना चेलाहरु कति उत्पादन गर्नुभयो ?
जापान, सिंगापुरलगायतका विभिन्न ठाउँमा पठाएर धेरै चिकित्सकहरुलाई युरोलोजी शल्यक्रिया विधामा पोख्त बनाइसकेको छु । उनीहरुमध्ये धेरै चिकित्सक म सँगै छन् । मेरो अनुपस्थितिमा पनि बिरामीले उत्कृष्ठ र भरपर्दो शल्यक्रिया सेवा प्राप्त गर्छन् ।
यहाँको आजकलको दैनिक कार्यतालिका कस्तो छ ?
म बिहान समाचार पढ्नका लागि भने पनि ६ बजे उठिसकेको हुन्छु । कफी पिएर २५ मिनेट जति ट्रेडमिल गर्छु । त्यसपछि आधा घण्टा जति पौडी खेल्छु । ब्रेकफास्ट गरेपछि सवा आठ बजेतिर अस्पताल आउँछु । हप्ताको सोमबार, मंगलबार र शुक्रबार तिन दिन मेरो अस्पताल पुग्ने बित्तिकै क्लास हुन्छ । यसमा पोष्ट ग्य्राजुयट गरेका डाक्टरको प्रिजेन्टेसन हुन्छ । त्यसमा म कमेन्ट गर्छु । अरु दिन प्रि—राउन्ड कन्फरेन्स हुन्छ जहाँ अघिल्लो दिन राती ड्युटी गरेको डाक्टरको २४ घण्टा भित्र भएको बिरामीको समस्या र अपरेशन गरेको बिरामीको अवस्थाबारे जानकारी प्रस्तुत हुन्छ । साथै शल्यक्रिया गर्न आएका नयाँ बिरामीको अवस्थाबारे पनि प्रि—राउन्ड कन्फरेन्समा जानकारी दिइन्छ । पोष्ट ग्य्राजुएटका नयाँ विद्यार्थीहरुलाई बिरामी सँग कसरी डिल गर्ने भन्ने सिकाइन्छ । मेरो स्पेशल क्लिनिकबाट पनि दिनहुँ धेरै बिरामीले लाभ लिइरहेका छन् । हरेक डाक्टरले शत्प्रतिशत सफल उपचार सेवा दिनुपर्छ भन्ने मान्यता अनुसार काम भइरहेको छ ।
एउटा असल युरोलोजी सर्जन हुन के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
सबैभन्दा पहिला हरेक दिन हुने काम बारेमा पढेर आउनुपर्छ । सम्बन्धित कामको आफूमा ज्ञान हुन जरुरी छ । बिरामीलाई आफ्नो परिवारको सदस्य जस्तै सोचेर उपचार गर्नुपर्छ । तपाईको सानो हेलचेक्र्याईले गर्दा उसले जीन्दगीभर दुःख पाउन सक्छ ।
बिरामी र डाक्टरबीच कस्तो सम्बन्ध हुनुपर्छ ?
बिरामी हेर्न थालेदेखि नै काउन्सिलिङ सुरु हुन्छ । अबका दिनमा काउन्सिलिङ लिखित या अडियोभिडियो टेप गरेर राख्नुपर्ने अवस्था आएको छ । डाक्टर भगवान होइन । डाक्टर पनि बिरामीजस्तै मान्छे हो । डाक्टरले आफ्नो ज्ञान र सिपले भ्याएसम्म बिरामी बचाउने कोशिस गर्छ । अरुको मद्धत लिन पनि हिच्किचाउनु हुँदैन । छलफल गरेर मात्र शल्यक्रिया शुरु गर्नुपर्छ । भविष्यमा हुनसक्ने कम्प्लिकेसनबारे बिरामीलाई स्पष्ट बताउनुपर्छ । डाक्टर र बिरामीको सहमतिमा उपचार गरिने भएकाले समस्या आउनेबित्तिकै चिकित्सकलाई दोष दिन हुँदैन ।

    Comment Here!