Logo
|
Tuesday 16th April 2024
Logo

epaper

विश्व वाथ दिवसमा नेशनल बाथरोग सेन्टरको सचेतना अभियान



बाथरोग एक प्रकारको दीर्घ रोग र शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरका विभिन्न अंग तथा जोर्नीहरुलाई असर गरेपछि देखापर्ने समस्या भएकाले यसप्रति सचेत रहन सरोकारवालाहरुले सुझाव दिएका छन् ।
विश्व वाथरोग दिवसका अवसरमा काठमाडौंको रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले आयोजना गरेका बाथरोग विरुद्ध जनचेतना अभियानका वक्ताहरुले सो सुझाव दिएका हुन् ।
बाथरोगका दीर्घकालीन असरहरु मानव शरीरमा निकै नकारात्मक हुन्छन् । बाथको कारणले हातखुट्टाका औंलाहरु बाङ्गिने तथा कुप्रो पर्ने हुनसक्छ । यति मात्र नभई बाथले छालामा निको नहुने घाउ, शरीरमा सेतो रगतको कमी र आँखाको समस्या गराउँछ । कहिलेकाँही बाथले बारम्बार गर्भ खेर जाने समस्या पनि निम्त्याउन सक्छ ।
नेशनल बाथरोग सेन्टरका वरिष्ठ बाथरोग विशेषज्ञ डा. बिनित वैद्यले शुरुको अवस्थामा बाथरोग पहिचान भएमा वाथले शरीरका विभिन्न अंगलाई पार्नसक्ने खतरा न्युनिकरण गर्नसक्ने स्पष्ट पार्नुभयो । ३ महिनादेखि ६ महिनाभित्र बाथरोग पहिचान भएमा बिरामीले जीवनभर औषधि सेवन गर्नुपर्ने समस्या न्युनिकरण गर्नसकिने बताउनुभयो ।
सो अवसरमा वाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीले १ सय ५० भन्दा बढी प्रकारका बाथरोग हुने भएकाले नेपालमा गठीया बाथ, अष्टियोआर्थराइटिस, पुरुषहरुमा धेरै देखिने मेरुदण्डको बाथ, महिलाहलाई धेरै देखिने मांशपेशीको बाथ, भिटामिन डी को कमीले हुने बाथ धेरैलाई देखिने गरेको बताउनुभयो । उहाँले जोर्नी बिर्गिसकेपछि बिरामीले धेरै दुःख पाउने उल्लेख गर्दै समयमै सचेत रहन आग्रह गर्नुभयो ।
सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपलमै बाथरोगको उपचारका लागि प्रविधि र प्राविधिक भएकाले बाथरको उपचारको लागि विदेश जान नपर्ने बताउनुभएको छ । उहाँले शुरुवाती अवस्थामा सही ढंगले बाथको उपचार गरेमा समयमै बाथरोग नियन्त्रण हुने बताउनुभयो । बाथरोगको उपचार अलि खर्चिलो भएपनि नियमित रुपमा औषधिको सेवन गरी बेलाबेलामा स्वास्थ्य परीक्षण गराएमा मासिक रुपमा बाथको उपचारमा लाग्ने खर्च कम हुने उहाँको भनाइ छ । तर बाथरोगको औषधि नियमित रुपमा सेवन नगरको खण्डमा बिरामीलाई आर्थिक भार पर्नसक्छ । सरकारले बाथरोगको उपचारमा प्रयोग हुने प्रविधिहरुमा कर छुट दिने हो भने बिरामीलाई पर्ने आर्थिक भार कम हुने कक्षपतिको भनाइ छ ।
अमेरिकन कलेज अफ र्युमाटोलोजीका अनुसार, कुनै पनि जनसंख्याको १० प्रतिशत मानिसमा बाथरोग हुनसक्छ । नेपालको परिपे्रक्ष्यमा सामुदायिक रुपमा गरिएको एक अनुसन्धाले करिब ८ दशमलब ७७ प्रतिशत जनसंख्यामा बाथरोग हुनसक्ने देखिएको छ । यो अनुसन्धान अझै जारी छ ।
बाथरोग सम्बन्धि जनचेतना जगाउन विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारेखमा दिन विश्वव्यापी रुपमा मनाइन्छ । ‘ढिलो नगर्नुस्, आजै जँचाउनुस’ भन्ने नारा सहित नेपालमा पनि विश्व बाथरोग दिवस २०१८ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
सेन्टरले विगत ६ वर्षदेखि बाथरोग विरुद्ध जागरण अभियान गरी विश्व बाथरोग दिवस मनाइरहेको छ । विगतको वर्षझैं यस वर्ष पनि नेशनल बाथरोग सेन्टरले जनमानसमा बाथरोग विरुद्ध जनचेतनाको अभिवृद्धि होस भन्ने उद्देश्यका साथ बाथरोगविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । नेशनल बाथरोग सेन्टरले आगामी दिनहरुमा ग्रसित जनसंख्यासँग हरेक हप्ता बाथरोग सम्बन्धि अन्तक्र्रिया गर्ने, स्वास्थ्यकर्मीहरुलाई बाथरोग सम्बन्धि तालिम दिने योजना अघि सारेको छ । त्यसैगरी उपत्यकाभित्र ५० र उपत्यकाबाहिर १८ वटा ठाउँमा बाथरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्