Logo
|
Thursday 18th April 2024
Logo

epaper

एक वर्ष मुनिका बालबालिकाहरुमा पिसाब संक्रमण



एक वर्षभन्दा कम उमेरका केटा बच्चाहरुमा पिसाबमा इन्फेक्सन देखिएमा उनीहरुमा पोस्टेरियर युरेथ्रल भाल्ब (पीयूभी) हुनसक्छ । पोस्टेरियल युरेथ्रल भाल्भ भनेको पिसाबथैलीको मुनि पिसाब आउने बाटोमा फोल्ड अर्थात भाल्बको रिंग बन्ने प्रक्रिया हो । यसबाट पिसाब फेर्दा पिसाब थैलीबाट राम्रोसँग पिसाब निख्रिन पाउँदैन र पिसाबमा इन्फेक्सन देखिनसक्छ । यो सामान्य शल्यक्रियाबाट निको हुन्छ ।

एक वर्षभन्दा कम उमेरका केटी बच्चाहरुमा पिसाब संक्रमण भएमा सामान्यत यसलाई गहिरिएर अनुसन्धान गरिँदैन । तर उनीहरुमा पटकपटक पिसाबमा संक्रमण देखिएमा जन्मजात समस्या हुनसक्छ । मिर्गौलाबाट पिसाब बनेर पिसाबथैलीमा आएपछि एक किसिमको भल्बले त्यसलाई माथि फर्किन दिँदैन । तर कतिपय केटी बच्चामा कमजोर भल्वका कारण पिसाबथैलीबाट पूर्ण रुपमा पिसाब बाहिर ननिस्कने र केही पिसाब मिर्गौलातिर फर्किनसक्छ । यस्तो अवस्थामा संक्रमण देखिनसक्छ । यस्तो अवस्थामा विभिन्न लक्षण देखिनसक्छ ।
– कतिपय बच्चाहरु खाना खान मन नगर्ने
– काम ज्वरो आउने
-पिसाब फेर्दा रुने
– पिसाब आउने ठाउँमा हात लगिरहने
– पिसाबथैलीबाहेक मिर्गौलामा संक्रमण भएमा पेट दुख्नसक्ने

पिसाबको नली छोटो हुने कारण केटा बच्चाहरुको तुलनामा केटी बच्चाहरुमा संक्रमण हुने संभावना धेरै हुने गर्छ किनभने उनीहरुमा पिसाब र दिसा गर्ने ठाउँको दूरी एकदमै नजिक हुन्छ । कतिपय बच्चाहरुमा जन्मजात डिफेक्ट हुनसक्छन् । कतिपय बच्चाहरुको मिर्गौलामा पत्थरी हुनसक्छ । बाल्यकालमा पत्थरी भएकाहरुमा भविष्यमा पनि यस किसिमको समस्या दोहोरिने संभावना रहेकाले निकै संवेदनशील हुन जरुरी हुन्छ । दूरबीन, लेजर आदि प्रविधिबाट पिसाबथैलीको पत्थरी निकालिन्छ । बच्चाहरुमा मिर्गौलाको क्यान्सर पनि हुनसक्छ । तर चाँडै पत्ता लागेमा यो सँधैका लागि निको पार्न सकिन्छ । जेनाइटोयुरिनरी सिस्टममा भएको इन्फेक्सनको उपचार समयमा नभएमा यसले मिर्गौलामा स्कारिङ (खत) बढ्दैजान्छ । हरेक इन्फेक्सनले मिर्गौलालाई असर पु¥याउनसक्छ । यस किसिमको समस्या भएमा मिर्गौला कमजोर हुनसक्छ । त्यसैले यसबारे अभिभावकले ख्याल गर्नुपर्छ र चिकित्सकलाई देखाउनुपर्छ । साथै बच्चाको स्वास्थ्य र गुप्ताङ्गको सफाइमा विशेष ख्याल पु¥याउनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्