Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

विदेशमा कोमामा रहेका नेपालीलाई स्वदेशमै उपचार



वैदेशिक रोजगारीका क्रममा घाइते भएर कोमामा रहेका नागरिकलाई स्वदेशमै ल्याएर उपचार गर्न सरकारले पहल सुरु गरेको छ । विदेशी भूमिमा मृत्युसँग लडिरहेका उनीहरूलाई ठूला सरकारी अस्पतालमा २० बेड आइसियू व्यवस्था गरेर नेपाल ल्याउने तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता बिरामी कामदारको उपचारका लागि मात्रै लक्षित गरेर ठूला सरकारी अस्पतालमा कम्तीमा २० बेड र मेडिकल कलेजमा १ बेड आइसियू अनिवार्य गर्न लागेको जानकारी दियो । मन्त्रालयका अनुसार पहिलो चरणमा वीर र शिक्षण अस्पतालमा २० बेड आइसियू थप्ने तयारी भएको छ ।

‘कोमामा रहेका नागरिक ल्याउने तयारी भइरहेको छ । तर, उनीहरूको उपचार गर्न आइसियू बेड छैन,’ स्वास्थ्यका एक उच्च अधिकारीले भने, ‘त्यसैले हामीले वीर र शिक्षण अस्पतालमा छुट्टै २० बेड आइसियू सञ्चालनमा ल्याउने तयारी गरेका हौँ ।’ उनका अनुसार यी बेड वैदेशिक रोजगारीमा घाइते भएका कामदारको उपचारका लागि प्रयोग हुने भए पनि खाली रहेको अवस्थामा अन्य बिरामीले पनि उपभोग गर्न पाउनेछन् ।

सरकारले जिम्मा नलिए फर्काउन समस्या

सरकारले विदेशमा कोमामा रहेका नागरिकलाई स्वदेश ल्याएर परिवारको जिम्मा लगाउने योजना बनाएको छ । तर, बिरामीका परिवारले भने नेपाल फर्काएर सरकारले नै दायित्व लिनुपर्ने माग गरेका छन् । कतारका लागि श्रम सहचारीसमेत भइसकेकी गिरजा शर्मा पनि बिदेशी कोमामा रहेका नेपालीलाई स्वदेश फर्काएर व्यवस्थापन गर्न सजिलो नभएको बताउँछिन् ।

पहिलो त नेपालमा सुविधा सम्पन्न पूर्वाधार नै नभएको र दोस्रो उनीहरुको दैनिक स्याहार सहज नभएको उनले बताइन् । सरकारले जिम्मा नलिए उनीहरुको जीवन झन् जटिल हुने उनको भनाई छ ।

‘उनीहरुको उपचार, खाना, सरसफाइ, रेखदेखलगायतको जिम्मेवारी राज्यले नै लिने गरी स्वदेश फर्काउनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई मात्रै आर्थिक भार पार्नेभन्दा सरकारले नै जिम्मा लिँदा उपयुक्त हुन सक्छ ।’

कोमामा रहेका बाहेक बिदेशमा रहेका गम्भीर प्रकारका बिरामीको तथ्यांक नै छैन

विदेशी कोमामा १८ नेपाली रहेको तथ्यांक परराष्ट्र मन्त्रालयसँगथ छ । तर, अन्य अन्य गम्भीर प्रकृतिका बिरामीको तथ्यांक एकिन छैन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दूतावासहरूमा पत्र पठाएर सबै गम्भीर प्रकृतिका बिरामीको तथ्यांक पठाउन आग्रह गरिएको जनाएको छ ।

स्वदेश ल्याउन निर्देशिका नै छैन

हालसम्म वैदेशिक रोजगारीको सिलसिलामा कोमामा रहेकालगायत गम्भीर प्रकृतिका कामदारको उद्धारसम्बन्धी निर्देशिका नै छैन । बल्ल सरकारले त्यस्तो निर्देशिका बनाउने तयारी सुरु गरेको छ । गत वैशाखमा बसेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बैठकले कोमामा रहेका नेपाली कामदार फिर्ता ल्याउने विषय उठान गरेको थियो ।

बोर्डअन्तर्गतको स्वास्थ्यसम्बन्धी विशेषज्ञ समितिले निर्देशिकाको मस्यौदा तयार पारेर श्रम मन्त्रालयलाई बुझाएको छ । डा. दीपेन्द्ररमण सिंह संयोजक रहेको उक्त समितिले तयार पारेको मस्यौदाअनुसार अचेत अवस्थामा रहेका बिरामी, मस्तिष्कघात भएका, पूर्ण पक्षघात भएका, टाउकोमा गम्भीर चोटपटक लागेका र खानपिन, दिसा–पिसाब, नुहाइधुवाईजस्ता आफ्ना काम आफैँ गर्न नसक्ने गम्भीर प्रकृतिका बिरामीलाई पाँच भागमा वर्गीकरण गरिएको छ ।

सहमतिका लागि भन्दै मस्यौदा कानुन मन्त्रालयमा पनि पुग्यो । तर, कानुनले मस्यौदामा थप केही स्पष्ट पार्न आवश्यक रहेको भन्दै श्रमलाई नै फिर्ता पठाइदियो । फेरि, श्रमले मस्यौदामा आवश्यक गृहकार्य गर्न भन्दै बोर्ड सचिवालयलाई नै जिम्मा दिएको छ ।

बिरामी ल्याउनुअघि खर्चको सीमा तोक्नुपर्छ: राजन श्रेष्ठ, महानिर्देशक वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड

सम्बन्धित देशमा गुणस्तरीय स्वास्थ्य सेवा पाइरहेको बिरामीहरूलाई यहाँ त्यस्तै सेवा दिन सक्ने आधार छैन । नेपालमा सरकारी अस्पतालमा उपयुक्त आइसियू बेड पनि छैन । निजीमा लगेर उपचार गर्दा राज्यले धान्न सक्दैन । यस्तो अवस्थामा ल्याएर थप समस्या हुन्छ । विदेशमा लुकेर बसेका पनि धेरै छन् । उनीहरू बिरामी भएर कोमामा पुगे कसले जिम्मा लिने भन्ने विषयमा समेत कसैले सोचेको छैन । कोमामा रहेका र कोमाबाहिर रहेकालाई उपचार खर्चको सीमा तोकेर मात्रै ल्याउनुपर्छ । रोजगारदाता कम्पनी पन्छिन खोजिरहेका छन् । उपचारको ग्यारेन्टी अस्पतालले लिन सक्दैन । परिवारका सदस्यले निश्चित समयपछि बिरामी सडकमा ल्याए जिम्मा कसले लिन्छ ?

१८ नेपाली कामदार विभिन्न देशका कोमामा

वैदेशिक रोजगारीका क्रममा बिरामी तथा घाइते भएर १८ नेपाली कामदार कोमामा छन् । सम्बन्धित देशमै उनीहरूको उपचार भइरहेको छ । रोजगारदाता कम्पनीले आफ्ना नागरिक लैजान पटक–पटक ताकेता गरेपछि सरकारले ल्याउने तयारी थालेको हो । तर, कहिले ल्याउने यकिन भने छैन ।

श्रम तथा रोजगार मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलेर कोमाका बिरामीलक्षित निर्देशिका बनाउँदै छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार विदेशमा धेरै नेपाली बिरामी अवस्थामा उपचार गराइरहेका छन् ।

रोगअनुसार उनीहरूको सम्बन्धित देशमै उपचार भइरहेको छ । श्रम तथा रोजगार मन्त्रालयका कानुन शाखाका उपसचिव रेशमराज सिग्देलले कोमामा रहेका कामदारलाई नेपाल ल्याएर तीन महिनासम्म सरकारले उपचार गर्ने र त्यसपछि परिवारका सदस्यले नै खर्च व्यहोर्नुपर्ने बताए ।

कति छन् विदेशका कोमामा ?

साउदी अरब (रियाद)

-चण्डेश्वर विन मुखिया, धनुषा
-प्रकाश गुरुङ, धनुषा
-बाटुली सुनुवार, धनुषा
-धर्मनाथ पासवान, सिरहा

साउदी अरेयिबा (जेद्दा)

-डोमा यादव (ठेगाना नखुलेको)

कतार

-बिन्दे मुखिया विन, धनुषा
-भक्तबहादुर रास्कोटी मगर, दाङ
-अनिलकुमार चौधरी, सप्तरी
-भरत राम लावड, बैतडी
-सन्तोषकुमार यादव, धनुषा
-ललित बुढा, रुकुम
-पूर्णबहादुर नेपाली सार्की, पाल्पा
-वीरबहादुर मगर, पाल्पा
-श्रीबहादुर नेम्वाङ, झापा

संयुक्त अरब इमिरेट्स

-कुमार फकामी पुन, पर्वत

बहराहिन

-दीपक कार्की, ओखलढुंगा

कुवेत

-भगीरथ चापागाईं, नवलपरासी
-नितेशकुमार झा, सर्लाही

नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्