Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रा.डा. उपेन्द्र देवकोटाका चेलाहरु नै काफी



मासिक १ सयको सफल शल्यक्रिया

२ हजारलाई ओपिडी सेवा, ३—४ वटा जटिल शल्यक्रिया


धेरैको मनमा लागेको हुनसक्छ प्रा.डा. उपेन्द्र देवकोटाको अनुपस्थितिमा काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलले कसरी सेवा प्रदान गर्छ ? तर अहिले उपचारका लागि न्युरो हस्पिटल पुग्ने जोकोही बिरामीले प्रा.डा. देवकोटाको अभाव महसुस गर्नुपरेको छैन । प्रा.डा. देवकोटाले सिकाउनुभएको चेलाहरु नै प्रा.डा.देवकोटा सो—सरह सेवा प्रदान गरेर बिरामीको मन जित्न सफल भएका छन् ।
बेलायतमा उपचारत वरिष्ठ न्युरोसर्जन प्रा.डा. उपेन्द्र देवकोटाले भन्नुभएको थियो—
‘यहाँ काम गर्ने धेरैजसो स्वास्थ्यकर्मीहरु मसँग लामो समय काम गरेर मेरो भरोसा जितेका व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुको प्रयासले यस अस्पतालले स्तरोन्नतिमा फड्को मार्नेछ भन्नेमा मलाई पूर्ण विश्वास छ । यस अस्पतालमा तपाईंहरुको उपचार सुरक्षित हातहरुमा छ । आश्वस्त हुनुहोस् ।’
आज प्रा.डा देवकोटा हामी सामू त हुनुहुन्न । तर उहाँको अभावमा हस्पिटलमा आउने जो कसैले पनि उपचार सेवामा कुनै कमी पाएका छैनन् ।  डा. देवकोटासँग काम गरेका जनशक्तिले अस्पतालमा उत्कृष्ठ सेवा प्रदान गर्न सफल छन् । प्रा.डा. देवकोटा आफैंले सिकाएका न्युरो सर्जनहरु नै उपचारमा काफी छन् ।
प्रा.डा. देवकोटा दूरगामी सोच र विचारको दक्षिण एसियाकै उत्कृष्ठ न्यूरो सर्जनका रुपमा परिचिति हुनुहुन्थ्यो ।
प्रा.डा. देवकोटाको दक्ष जनशक्ति उत्पादन गरेर मुलुकभर उत्कृष्ठ न्युरो सर्जरी सेवा उपलब्ध गराउने सोचबाट प्रेरित भएर जन्मिएको संस्था भएकाले मस्तिष्कघात, हेड इन्जुरी, मेरुदण्ड, स्पाइन, स्नायुजन्य रोग जस्ता समस्याको बिना ढिलाई उपचार यहाँ भइरहेको छ । प्रा.डा. देवकोटा बितेपछि अस्पतालको पछिल्लो गतिविधिबारे बुझ्न जनस्वास्थ्य सरोकार टिम न्युरो अस्पताल पुग्दा उपचारका लागि आएका बिरामीहरुको भिड थियो ।

अस्पतालका डाक्टर, नर्स एवं अन्य कर्मचारी आ—आफ्नो काममा व्यस्त देखिन्थे । अस्पतालकी अध्यक्ष डा. मधु देवकोटा आफ्नो कार्यकक्षमा काम गर्दै हुनुहुन्थ्यो । उहाँको कार्यकक्षमा पुगेपछि हामीले अस्पतालको गतिविधिबारे सोध्दा उहाँले भन्नुभयो —‘प्रा. डा. देवकोटालाई उपचारका लागि बेलायतमा लगेदेखि होस् वा डा. देवकोटा बितेपछि यताका दिनहरुमा अस्पतालका डाक्टर र स्वास्थकर्मीले मलाई एकपटक पनि चिन्ता गर्ने मौका दिनु भएन । डा. देवकोटाले सिकाएको बाटोमा सम्पूर्ण डाक्टर र स्वास्थ्यकर्मी एकजुट भएर काम गर्नुभएको छ ।’
अस्पतालमा डाक्टर, नर्स, पारमेडिक्टलगायत ३०० भन्दा बढि कर्मचारीहरु काम गर्छन् । डा. मधुले भन्नुभयो—‘मैले उहाँहरुलाई कसरी तलव खुवाउने भनेर चिन्ता लिनुपरेको छैन ।’
अस्पतालको क्वार्टरमा बसेर १२ जना चिकित्सकहरुले बिरामीलाई २४ सै घण्टा सेवा उपलब्ध गराइरहेका छन् । अस्पतालमा ५ जना न्युरो सर्जन, ३ जना न्युरोलोजिस्ट, २ जना रेडियोलोजिस्ट, ६ जना न्युरो एनेस्थेसियोलोजिष्टहरुले अस्पतालमा पूर्णकालीन सेवा प्रदान गरिरहनुभएको छ ।
अस्पतालमा गत महिनामा २ हजार भन्दा बढी बिरामीले बहिरंग सेवा लिएका थिए । अहिले प्रति महिना ९० देखि १०० जनाको शल्यक्रिया हुन्छ । जटिल मानिएको एन्युरिजम्को सर्जरी, डीप ब्रेन ट्युमरको सर्जरी पनि महिनामा करिब ३—४ वटा हुने गरेका छन् ।
‘यो अस्पतालप्रति बिरामीको विश्वास छ । क्वालिटी रिजल्ट आउनुको पछाडि टिम वर्कको ठूलो हात छ । म एकदमै आशावादी छु ।’— डा. मधुले भन्नुभयो—‘अबको मेरो जिम्मेवारी भनेको प्रा.डा. देवकोटाले सोच्नुभएको अस्पताल हाताभित्र स्नायु सम्बन्धि पुनस्र्थापना केन्द्र स्थापना गर्नु हो । यसका लागि गृहकार्य भइरहेको छ ।’
काठमाडौं विश्वविद्यालयको समन्वयमा अस्पतालबाट अहिले सम्म ९ जना डाक्टरले न्युरो सर्जरीमा एमसिएच पास गरिसकेका छन् । त्यसमध्ये ५ जना डाक्टर न्युरो हस्पिटलमा कार्यरत छन् । अन्य ४ जनाले देशका विभिन्न अस्पतालमा गएर न्युरो सर्जरी सेवा प्रदान गरिरहेका छन् । काठमाडौं विश्वविद्यालयको समन्वयमा अस्पतालले न्युरोलोजीमा डी.एम.अध्ययन गराउने शैक्षिक कार्यक्रम चाँडै शुरु गर्दैछ ।
‘न्युरो हस्पिटल राष्ट्रप्रति प्रा.डा.देवकोटाको सर्मपण हो ।’ डा. मधुले भन्नुभयो—‘ प्रा.डा देवकोटा टिमका सम्पूर्ण स्वास्थ्यकर्मी डाक्टर, नर्स सबैलाइ सम्मान गर्नुहुन्थ्यो । नर्सहरुलाई उहाँ आफैँले तालिम दिनुहुन्थ्यो । उहाँले मलाई अन्तिम सम्म पनि भन्नुहुन्थ्यो, जे गर्छ मेरो यहि टिमले नै गर्छ ।’


अस्पतालमा कार्यरत चिकित्सकहरु के भन्नुहुन्छ ?

हस्पिटलको स्तर खस्किन दिन्नौं

डा. लेख जंग थापा, वरिष्ठ न्युरोलोजिष्ट, निर्देशक

प्रा.डा. देवकोटाको देनका कारण आज हामीले बिरामीलाई राम्रोसँग उपचार सेवा दिने मौका पाएको छौं । संस्थाको स्तरलाई अझ माथि लैजान हामी १२ जना डाक्टरहरु अस्पतालको क्वाटरमा बसेर २४ सै घण्टा बिरामीको सेवामा समर्पित छौँ

प्रा.डा देवकोटा बिरामी हुनुभन्दा पहिला दिनमा ८० देखि १०० सम्म बिरामी ओ.पी.डी. सेवा लिन आउँथे । उहाँ बिरामी भएपछि संख्या घटेर ४० सम्म पुग्यो । तर त्यो अवधि धेरै लामो समयसम्म रहेन । अहिले हामी हरेक दिन ओ.पी.डी.मा १ सय देखि १ सय ७० सम्म बिरामीलाई हेर्छौं । अस्पतालको १ सय बेडमा ७० प्रतिशत भन्दा बढी बिरामी भर्ना भएका हुन्छन् । आई.सि.यू. सँधै पूरा हुन्छ । यस अस्पतालमा उपचार गराएका बिरामीलाई जतिसक्दो चाँडो निको पारेर घर पठाइन्छ । लामो समय अस्पतालमा बस्नुपर्दैन । औसतमा ५ देखि ७ दिनसम्म अस्पतालबाट बिरामी डिस्चार्ज भइसक्छ ।

 

उपचार र गुणस्तरमा कुनै भिन्नता छैन

डा. शिखर श्रेष्ठ, न्युरो सर्जन

न्युरो अस्पतालमा मैले प्रा.डा. देवकोटासँग ७ वर्ष काम गरेँ । हामी जटिल प्रकारका न्युरोसर्जरी सेवा दिन सफल छौंँ । डा. देवकोटा हुँदा र नहुँदामा बिरामीले दिने उपचार सेवामा खासै भिन्नता छैन । बिरामीहरु सन्तुष्ट छन् । डा. देवकोटा बित्नुभएको पहिलो महिना बिरामीको चाप अलि कम भयो । प्रा.डा. देवकोटा नै नरहेपछि अस्पतालले त्यहि अनुसारको सेवा दिन सक्ला वा नसक्ला भन्ने प्रश्न चिन्ह खडा भएको थियो । हाम्रो उपचार र गुणस्तरमा कुनै भिन्नता नपाएपछि बिस्तारै बिरामीको चाप बढ्न थाल्यो । हाम्रो सर्जरी टिममा मात्र १२ जना डाक्टर छौं । हामीले महिनामा ९० देखि १०० अपरेशन गर्छौँ । यहि अनुसार बिरामीको चाप भइरहेमा वर्षमा १ हजार भन्दा भन्दा बढि सफल शल्यक्रिया गर्नेछौं । डा. देवकोटाले सिकाउनुभएको सीपलाई फलो गरेर काम गर्दै आइरहेका छौँ ।

 

प्रा.डा. देवकोटाको पालामा जस्तै सर्जरी

डा. सुरज थुलुङ्ग, कन्सल्टेन्ट, न्युरोसर्जन

मैले प्रा.डा. उपेन्द्र देवकोटासँग एमसिएचको अध्ययन गरेर काम शुरु गरेको हो । हामीले प्रा.डा.देवकोटाबाट सबैखाले न्युरोसम्बन्धि सर्जरीहरु सिक्ने मौका पायौँ । अहिले हाम्रो टिममा न्युरो सर्जन, न्युरोलोजिस्ट, रेडियोलोजिस्ट लगायत ठूलो टिम छ । हामी जटिल किसिमको सर्जरीमा सहकार्य गर्दछौं । हामीले गर्ने सर्जरीमा ब्रेन ट्युमर, ब्रेनको भास्कुलर, स्पाइन, पेरिफेरल नर्भ लगायत ओभरअल सर्जरी पर्दछन् । ती सबै सफल भएका छन् । हामीले अहिले डा. देवकोटाको पालामा जस्तै सर्जरी सेवा दिइरहेका छौँ । डा. देवकोटाबाट सिकेको ज्ञानले आज सम्म बिरामीले निरास भएर फर्कनुपरेको छैन ।

हामी कन्फिडेन्ट छौं

 

डा. प्रत्युस श्रेष्ठ, न्युरो सर्जन

मैले प्रा.डा.देवकोटासँग न्युरोसर्जरी सिकेको हो । म स्पाइन, मेरुदण्ड र पेरिफेरल नर्भसम्बन्धि जटिल शल्यक्रिया गर्छु । डा. देवकोटाले काम गर्ने वातावरण वताइदिनुभएकाले हामीहरु कन्फिडेन्ड छौं । यसको परिणाम उहाँको अनुपस्थितिमा पनि बिरामीले राम्रो सेवा पाउनुभएको छ ।
प्रा.डा. देवकाटोले भन्नुहुन्थ्यो—‘मैले तिमीहरुलाई एउटा लेवलसम्म ट्रेन गरिसकेको छु । तिमीहरु कन्फिडेन्ट छौं । अफ्ट्यारो केस हुँदा डा. शिखर, डा. प्रत्युस, डा. थुलुङ तीन जना मिलेर दिमाग लगाएर मिहिनेत गर्नु । मैले गर्नेजस्ता सबै केसहरु तिमीले गर्न सक्छौं ।’ अहिले हामी अफ्टयारो केसमा सामुहिक छलफल गरेर मात्र काम गर्छौं ।

नियम र सिस्टमहरु एकदमै वैज्ञानिक

डा. सुरेश सापकोटा, न्युरो सर्जन

मैले प्रा.डा. देवकोटालाई आदरणीय गुरुको रुपमा मानेको छु । पहिला पढाइको शिलशिलामा म यहाँ आइरहन्थेँ । उहाँले मलाई धेरै इन्करेज्मेन्ट गरिरहनुहुन्थ्यो । मेरो अध्ययन सक्ने बित्तिकै न्युरो हस्पिटलमा काम गर्न थालेँ । मैले उहाँसँग धेरै समय काम गर्ने मौका त पाइँन । तर डा. देवकोटाले बिरामी र एडमिनिस्ट्रेसनका लागि बनाउनुभएको नियम र सिस्टमहरु एकदमै वैज्ञानिक छन् । उहाँकै कारण हामीलाई वैज्ञानिक ढङ्गले बिरामीलाई उपचार सेवा प्रदान गर्नुपर्छ भन्ने सिकायो । कुनै पनि बिरामीले यहाँको उपचार प्रति असन्तुष्ट हुनुपर्ने स्थिति छैन ।

प्रा.डा. देवकोटाले पटक पटक अन्तर्वार्तामा भन्नुहुन्थ्यो—‘यो देशको भविष्य युवापुस्तामा नै छ । चाहे त्यो राजनीतिमा होस वा चिकित्सा विधा ।’ यो कुरा प्रा.डा. देवकोटाको असामयिक निधनपछि न्यूरो अस्पतालका कर्मठ युवापुस्ताका डाक्टरहरुले प्रमाणित गरिदिएका छन् ।
आउँदा दिनहरुमा चिकित्सा सेवा प्रदानका साथसाथै शैक्षिक कार्यक्रमहरु सञ्चालन गरी देशलाई चाहिने दक्ष जनशक्ति उत्पादन हुँदै जानेछन् र आवश्यक अनुसन्धानमा युवा पुस्ताबाट महत्वपूर्ण योगदान हुने आशा गरिएको छ । यसबाट प्रा.डा. देवकोटाले देखेको सपना सही अर्थमा साकार हुनेछ ।
स्नायु चिकित्सा, स्नायु शल्यचिकित्साका साथै स्नायु विज्ञानसँग सम्बन्धित अरु विधाहरु, जस्तै ओर्थोपेडिक्स, आप्थाल्मोलोजी, कान नाक घाँटी, एनेस्थेसिया, प्याथोलोजी, रेडियोलोजी, जनरल सर्जरी र मेडिसिनजस्ता सबै विधाहरुमा दक्ष चिकित्सकहरुबाट एउटै छानामुनि सेवाहरु उपलब्ध भएका कारण बिरामीहरुले ढुक्क हुन पाउने अवस्था छ । यो कुरा प्रा.डा देवकोटाले आजभन्दा बीस बर्ष अगाडि आत्मसात गर्नुभएको थियो र स्थापनाकालदेखि नै यो कुरा यस आस्पतालको नाम ‘नेशनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइन्स साइन्स’ बाट झल्किन्छ ।

प्रतिक्रिया दिनुहोस्