मुटु एक्कासी बन्द भएर मृत्यु हुने समस्या —डा. रोशन राउत

जनस्वास्थ्य सरोकार || प्रकाशित मिति :2018-10-22 11:11:04

डा. रोशन राउत मुटुको चाल गडबडी (कार्डियाक एरिद्मिया) र मुटु एक्कासी बन्द भएर मृत्यु हुने समस्या (सडन कार्डियाक डेथ) को विशेषज्ञ हुनुहुन्छ । डा. रोशनले यस विषयमा क्यानाडाबाट साँढे २ वर्षको फेलोसिप लिनुभएको छ । उहाँ क्यानडाको नियमकारी संस्था  (Royal college of Physician and Surgens of Canada) बाट बोर्ड मान्यता प्राप्त कार्डियाक एलेक्ट्रोफिजियोलोजीष्ट पनि हुनुहुन्छ । क्यानाडाबाट फर्केर आएपछि डा. रोशनले थ्री डी म्यापीङमार्फत ८० जनाभन्दा बढी मानिसको जटील प्रकारको मुटुको चाल गडबडीसम्बन्धि रोगको सफलतापूर्वक उपचार गरिसक्नुभएको छ । त्यसैगरी २८ जना भन्दा बढी मानिसमा विशेष किसिमको पेसमेकर, सि.आर.टी. जडान गर्नुभएको छ । थ्री डी मार्फत जटिल प्रकारको रोगको उपचार गर्ने तथा सि.आर.टी जस्तो विशेष पेसमेकर राख्ने उहाँ नेपालको एक मात्र चिकित्सक हुनुहुन्छ । मुटुको उपचारमा नयाँ आयाम ल्याउने डा. रोसनलाई हामीले जनस्वास्थ्य सरोकारको कभर पेजमा प्रस्तुत गरेका छौं । 

मुटुको चाल गडबडी


के तपाईंको मुटु कहिले चाँडो त कहिले ढिलो धड्केको महसुस गर्नुभएको छ ? यदि छ भने तपाईंलाई मुटुको चाल गडबडीसम्बन्धि समस्या भएको हुनसक्छ । मुटुको चालमा गडबडी हुने समस्यालाई कार्डियाक एरेद्मिया भनिन्छ । यस्तो अवस्थामा कहिले मुटु आवश्यकता भन्दा बढी धड्किन्छ भने कहिले आवश्यकता भन्दा कम धड्किरहेको हुन्छ । यस्तो अवस्थामा मुटुले सामान्य रुपमा रगत पम्प गर्न सक्दैन ।
सामान्य त मुटुको धड्कन प्रतिमिनेट ६० देखि १ सय सम्म हुन्छ । सुतेको बेलामा मुटुको धड्कन घट्न सक्छ भने खेल खेल्दा वा ज्वरो आउँदा मुटुको धड्कन बढ्नसक्छ । यसलाई फिजियोलोजिकल धड्कन भनिन्छ । यस्तो अवस्थामा डराउनुपर्दैन ।

तर शरीरको आवश्यकता बिना नै मुटुको धड्कन बढ्ने वा घट्ने समस्यालाई प्याथोलोजिक मानिन्छ र यसको उपचारको आवश्यकता पर्दछ ।

मुटुको चाल बढी
शरीरको आवश्यकता विना नै मुटुको चाल १०० भन्दा बढी भएको अवस्थालाई ट्र्याकी एरेद्मीया भनिन्छ । ट्र्याकी एरेद्मीया पनि दुई किसिमको हुन्छ । एउटा मुटुको माथिल्लो कोठाबाट आएको र अर्को मुटुको तल्लो कोठाबाट आएको हुन्छ । मुटुको माथिल्लो भागबाट आएकोलाई सिप्रा भेन्ट्रिकुलर एरेद्मिया र मुटुको तल्लो भागबाट आएको समस्यालाई भेन्ट्रिकुलर एरेद्मिया भनिन्छ ।

मुटुको चाल कम

मुटु चलाउन साइनस नोडले करेन्ट उत्पादन गर्न नसक्ने र उत्पादन भएको करेन्ट राम्रोसँग प्रवाह नभएमा मुटुको चाल कम हुन्छ । एबी नोडमा अवरोध भएमा मुटुको चाल कम हुने गर्छ । यो महत्वपूर्ण जंगसन हो
यदि एबी नोडमा करेन्ट ब्लक भएमा माथिल्लो कोठाको करेन्ट तलको कोठामा जान पाउँदैन जसलाई हार्ट ब्लक भनिन्छ । यस्तो अवस्थामा मुटुको चाल एकदमै कम हुन्छ र ज्यान जाने खतरा समेत हुनसक्छ ।

मुटुको चाल कम हुने कारण

  • जन्मजात (कन्जनाइटल हार्ट ब्लक)
  •  इन्फेक्सन
  •  बुढेसकाल
  •  हृदयघात

मुटुको चाल बढी हुने कारण
सामान्य रुपमा मुटुमा करेन्ट बग्ने बाटो बिराएर करेन्ट प्रवाह भएमा र मुटुमा अन्य तन्तुहरु सक्रिय भएर अनावश्यक करेन्ट उत्पादन भएमा मुटुको चाल बढी हुनसक्छ ।

मुटुको चाल गडबडीको संकेत

  • मुटु ढुकढुक हुने
  • छाति दुख्ने
  • सास फेर्न गा¥ह«ो
  •  रिंगटा लागेर बेहोस हुन खोज्ने वा बेहोस हुने
  •  बेहोस भएर ज्यान जानसक्ने

सडेन कार्डियाक डेथ 

मुटु एक्कासी बन्द भएर मृत्यु हुने समस्यालाई सडेन कार्डियाक डेथ भनिन्छ । यस्तो अवस्थामा मुटुको धड्कन एक्कासी आवश्यकता भन्दा बढी हुन्छ र तत्काल उपचार नपाएमा ज्यान जाने निश्चित हुन्छ ।
सडेन कार्डियाक डेथमा मुटुको चाल अत्यधिक बढी हुन्छ । यस्तो अवस्थामा तुरुन्त सिपिआर (छाति थिचेर, स्वास प्रश्वासलाई हेल्प गरेर) गर्न नसकेको अवस्थामा बिरामीको तुरुन्त ज्यान जान्छ । सडेन कार्डियाक डेथ सिड्रोममा विकसित मुलुकमा समेत ९० प्रतिशत मानिसको मृत्यु हुने गर्दछ भने हाम्रो जस्तो मुलुकमा यो भन्दा पनि बढी हुने कुरा सहजै अनुमान गर्न सकिन्छ । त्यसैले हामीले यसको जोखिम वर्ग पहिचान गरी रोकथामको उपाय अपनाउनुपर्छ ।

जोखिम वर्ग
तर मुटुको पम्प गर्ने क्षमता कस्ता मानिसमा यसको जोखिम बढी हुन्छ भन्ने कुरा अझसम्म पत्ता लागिसकेको छैन । तर मेडिकल साइन्सले पत्ता लगाइकेका केही जोखिम वर्गहरु छन् जुन हामीले थाहा पाउनुपर्ने हुन्छ । जस्तै— मुटुको पम्प गर्ने क्षमता कम भएमा, मुटु अत्यधिक मात्रामा सुन्निने भएमा, परिवारमा कसैको एक्कासी बिना कारण मृत्यु भएमा, मुटुको आइवन लेवलमा समस्या भएमा

मुटुको चाल गडबडीसम्बन्धि उपचारका पद्धतिहरु
इलेक्ट्रोफिजियोलोजिकल अध्ययन र एब्लिएसन
मुटुको कोठामा विभिन्न तारहरु राखेर मुटुको चाल बढी बनाउने तन्तुहरु कहाँ छन् ? भनेर पत्ता लगाउने पद्धतिलाई इलेक्ट्रोफिजियोलोजिकल अध्ययन भनिन्छ । करेन्ट बग्ने चोर तन्तुलाई जलाएर निष्क्रिय बनाउने पद्धतिलाई एब्लेसन भनिन्छ । एब्लेसन पद्धतिको उपचारले धेरैजसो मुटुको गडबडीसम्बन्धि मुटुको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सकिन्छ ।

थ्री डी म्यापीङ
यस मार्फत जटील प्ररको मुटुको चालसम्बन्धि रोगको उपचार गरिन्छ । यो प्रविधि गंगालालमा २ वर्ष अगाडि भित्रिएको छ । यसमा मुटुको थ्री डी बनावट तयार पारिन्छ र जस्तोजुकै कठीन र जटीलसम्बन्धि गडबडी पत्ता लगाउन मद्धत पुग्छ र उपचारमा सजिलो हुन्छ ।

पेसमेकर
मुटुको चाल कम भएको बेला व्याकअप दिएर मुटु चलाउने स्वचालित यन्त्रलाई पेशमेकर भनिन्छ । यो छातिको छालाभित्र राखिन्छ । मुटुको चाल ठीक भएको अवस्थामा पेशमेकर चुप लागेर बस्छ । यो एउटा तार या दुइटा तार दुई प्रकारको हुन्छ । कसलाई कस्तो राख्ने भन्नेमा विशेषज्ञको सल्लाह बमोजिम गर्नुपर्ने हुन्छ । छातिको छालाभित्र राखिने पेसमेकरको मूल्य एकदेखि डेढ लाखसम्म पर्छ ।

आई.सि.डी.
माथि भनिएजस्तो सडन कार्डियाक एरेष्ट भएपछि मानिसको बाच्ने सम्भावना न्युन हुन्छ । त्यसैले एक्कासी मृत्युको जोखिम भएका मानिसमा विशेष किसिमको पेशमेकर (आईसिडी) जडान गर्नुपर्छ । आईसिडीले मुटुको अनियमित चाललाई करेन्ट दिएर ठीक पारिदिन्छ । यसले अकस्मात हुने मृत्युबाट जोगाउँछ । यो यन्त्र नराख्दा २० जनामा १९ जनाको ज्यान जाने सम्भावना हुन्छ । तर यसो यन्त्र राख २० जनामा १९ जनाको ज्यान जोगिने सम्भावना हुन्छ । यसको उपचार ४ देखि ५ लाख रुपियाँसम्म पर्छ ।

सि.आर.टी.
मुटुको काम गर्ने शक्ति कम भई सास फेर्न गा¥ह«ो हुने समस्या भएमा विशेष किसिमको पेसमेकर सि.आर.टी.राख्नुपर्ने हुन्छ । यो साधारण पेसमेकर जस्तै छातिको छालाभित्र राखिन्छ जसमा तीन वटा तार हुन्छन् । सि.आर.टी. पेसमेकर राखेपछि बिरामीको सास फेर्न गा¥ह«ो हुने समस्यामा सुधार आउँछ र मुटुको काम गर्ने शक्तिमा पनि सुधार आउँछ । यस्तो किसिमको उपचार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित रुपमा हुँदै आएको छ र यसको खर्च करिब ४ देखि ५ लाख रुपियाँ पर्दछ ।

    Comment Here!