Logo
|
Thursday 18th April 2024
Logo

epaper

गंगालाललाई प्रतिष्ठान किन नबनाउने



 

केन्द्रले प्रदान गर्ने सेवाको विस्तार तथा प्रगति कस्तो छ?
संसारभर उपलब्ध हुने मुटुरोग सम्बन्धि सेवा यस अस्पतालमा उपलब्ध छन् । संख्यात्मक रुपमा मात्र नभई गुणस्तरको दृष्टिकोणले पनि उल्लेखनीय प्रगति भएको छ । अपरेशन, क्याथप्रोस्युडियर सेवा लिने बिरामीहरुको संख्या बर्षेनी १० प्रतिशतका दरले बढेको छ ।
केन्द्रले विपन्न बिरामीलाई निःशुल्क प्रदान गर्ने च्यारिटीको नम्बर बढेको छ । बिरामीले इलेक्ट्रोफिजियोलोजी, थ्री डी म्यापिङ, मिनिमल इन्भेसिभलगायतका नयाँ सेवा सहज रुपमा प्राप्त गर्दै आएका छन् ।
भर्खरै हामीले मुलकमै एकमात्र ६ सय ४० स्लाइसको ३२० डिटेक्टर भएको अत्याधुनिक सिटिस्क्यान मेसिन जडान गर्न सफल भएका छौैँ । यसले मुटु, रगतका नली, फोक्सोको समस्या अत्यन्तै सरल ढंगले स्पष्ट पहिचान गर्छ ।
गर्त वर्ष खरीर गरेर यस वर्ष एउटा नयाँ क्याथल्याब जडान हुने प्रकृयामा छ । यस वर्ष १ वटा अपरेशन थिएटर थप्ने तयारी भइरहेको छ । अहिले ३ क्याथ ल्याब र ३ वटा अपरेशन थिएटर रहेका छन् । विगतमा १ हजार ९ सय को शल्यक्रिया हुने गरेकामेमा नयाँ अपरेशन थिएटर थपेपछि एक वर्षमा २ हजार २ सय भन्दा बढीले शल्यक्रिया सुविधा प्राप्त गर्नसक्नेछन् । यसका साथै ओपीडी र इमर्जेन्सीका भवन पनि बनिरहेका छन् ।

ओपिडी सेवाका लागि टिकट नपाउने समस्या समाधानका लागि के पहल गर्नुभएको छ ?
विगतमा कोटा सिस्टमबाट टिकट वितरण हुने भएकाले एउटा सीमा थियो । तर अहिले टिकटको सीमा छैन । टाढाबाट आएका बिरामीले कुर्नुनपरोस् भनेर यस्तो गरिएको हो । विगतमा एक जना डाक्टरले ४० जना बिरामी हेर्ने गरिएकोमा अहिले ६० देखि ७० जना जना बिरामी हेर्नुपर्छ । यसले डाक्टरलाई चाप त बढेको छ तर ओपिडी समयमा आएका बिरामीले उपचार नपाई फर्कननपर्ने अवस्था छैन ।

हरेक दिन कति बिरामीले सेवा पाउँछन् ?
नयाँ र पुराना गरी दैनिक करिब ५ सयदेखि ७ सयको हाराहारीमा मुटुका बिरामीले ओपिडी सेवा प्राप्त गर्छन् भने अन्तरङ्गअन्तर्गत २ सय वेडमा सँधै बिरामीको भरिभराउ हुन्छ । आकस्मिक कक्षमा ५० देखि ७० जना बिरामी आउने गरेका छन् । हरेक दिन ६ देखि ८ ओटा सम्म मुटुको शल्यक्रिया हुने गर्छ । साथै उल्लेख्य संख्यामा पेसमेकर, डिभाइस क्लोजर तथा एन्जिओग्राम तथा एन्जियोप्लाष्टी दिनहुँ भइरहेका छन् ।

देशव्यापी मुटु उपचार सेवा बिस्तारमा के पहल भइरहेको छ ?
म कार्यकारी निर्देशक भएदेखि सेन्टरबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउने तथा प्रत्येक प्रदेशमा सेवा विस्तार गर्नेतिर ध्यान केन्द्रित गरेको छु । स्थानीय तहबाट नै मुटु उपचार सेवा उपलब्ध हुन सकोस् भन्ने मेरो पहिलो प्राथमिकता हो ।
हामीले मुटु सेवा देशव्यापी रुपमा विस्तार गर्ने कोशिश गरिरहेका छौं । केही समयअघिदेखि नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा क्याथल्याव सेवा जडान गरी सोही अस्पतालका चिकित्सकहरुद्धारा क्याथल्याब सेवा सञ्चालनमा ल्याउन सफल भएका छौं । यसबाट नेपालगञ्ज क्षेत्रका बिरामीहरुले क्याथल्याब सेवा प्राप्त गरिरहेका छन् । त्यहाँ एन्जियोग्राम र एन्जियोप्लास्टीलगायतका सेवाहरु उपलब्ध छन् ।
प्रदेश नं.२ मा पर्ने जनकपुर अञ्चल अस्पतालको हाताभित्र अबको ३ महिनाभित्र गंगालालको आफ्नै शाखा खुल्दैछ । शुरुका दिनमा दैनिक १ सय ५० जना मुटुका बिरामीले ओपीडी सेवा प्राप्त गर्ने लक्ष राखेका छौं । ३ वर्ष भित्र अन्तरङ्ग सेवा, क्याथल्यावलगायत सबै प्रकारका मुटुसम्बन्धि सुविधा उपलब्ध गराउने योजनाका साथ काम भइरहेको छ ।
शाखा विस्तारसँगै दक्ष जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ । मुटु उपचारका लागि आवश्यक पुग्ने दक्ष जनशक्ति बिना देशभर मुटु उपचारको पहुँच पु¥याउन सम्भव छैन ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले प्रदान गर्दै आएको सेवा तथा बिरामीको संख्या हेर्दा यस क्षेत्रलाई आवश्यक पर्ने डाक्टर, नर्स, टेक्निसियन जस्ता सम्पूर्ण जनशक्ति यस केन्द्रमा उत्पादन गर्न सकिन्छ । जनशक्ति उत्पादनको क्षमता हुँदाहुँदै पनि प्रतिष्ठान नभएको कारणले यहाँ तालिम गर्न सकिएको छैन । त्यसको लायग यस केन्द्रलाई प्रतिष्ठान बनाउनुपर्छ । यसमा हामीले लागि परेर पहल गरेतापनि सरकारको तर्फबाट काम अगाडि बढेको छैन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रजस्तो उत्कृष्ट अस्पताललाई प्रतिष्ठान नबनाउँदा राष्ट्रलाई नै घाटा छ ।

संस्थाबाट प्रदान गरिने सेवालाई कसरी उत्कृष्ठ बनाउन सकिन्छ ?
इमान्दार र दक्ष टीमको जरुरत पर्छ । नेतृत्व गर्ने व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थलाई टाढा राखेर संस्थाको हितबारे सोच्नुपर्छ । व्यवस्थापनलाई चुस्त र दुरुस्त राख्नुपर्छ । काम गर्ने जनशक्ति खुशी हुनुपर्छ अनि मात्र उनीहरुले राम्रो सेवा प्रदान गर्न सक्छन् । आर्थिक पारदर्शिता हुनुपर्छ । बिरामीले दिएको माया, दक्ष टिम र प्रत्येक कर्मचारीको योगदानबाट गंगालालले उत्कृष्ठ मुटु उपचार सेवा दिन सकेको हो ।

प्रतिक्रिया दिनुहोस्