Logo
|
Saturday 20th April 2024
Logo

epaper

२२—२४ वर्षमै हृदयघात !



उपचारका क्रममा मुटुसम्बन्धि बढ्दो समस्याबारे कस्तो अनुभव सँगालिरहनुभएको छ ?
दैनिक मुटु र रक्तनलीसम्बन्धि समस्या भएका करिब ४० जनाभन्दा बढी बिरामीलाई बहिरङ्ग उपचार सेवा प्रदान गर्दै आएको छु । युवापुस्तामा हृदयघात नै अहिलेको मुख्य समस्या हो । यो स्थिति अत्यासलाग्दो छ । पहिले सहरी क्षेत्रका ६० वर्ष कटेका धेरै बृद्धबृद्धाहरु हृदयघातको समस्या लिएर आउने गरेकोमा अहिले २२ वर्षदेखि ४० वर्षभित्रका युवाहरु धेरै छन् । अस्पतालको वार्डमा हेर्दा २२ र २४ वर्षमा हृदयघात भएर भर्ना भएका बिरामीहरुको संख्या उल्लेख्य छ ।

युवापुस्तामा हृदयघातको समस्या बढ्नुको मुख्य कारण के देख्नुभएको छ ?
आजकलको अस्वस्थ्यकर जीवनशैली नै यसको प्रमुख कारक हो । चिल्लो खाना, धुम्रपान र मध्यपानको लत बढ्दो छ । ४० प्रतिशत वयस्कहरुले धूम्रपान गर्छन् । बाल्यावस्थादेखि मोवाइल, ट्याव र कम्प्युटरको प्रयोग, अहिले आएर वाल्यावस्थादेखि नै मोबाइल, कम्प्युटरको बढ्दो प्रयोगले केटाकेटीको खेल्ने समय कम हुने, केटाकेटीमा जंक फूडको अत्यधिक प्रयोग आदिले भविष्यमा हृदयघात हुने उमेर झन झन कम हुँदै जाने निश्चित छ ।

सरकारले के प्रण गर्नुपर्ने जरुरत देख्नुभएको छ ?
मर्निङ वाकका लागि प्रयाप्त ठाउँ, सडक पेटीको सुधार, प्रदूषणरहीत वातारण, खुला पार्क, नियमित रक्तचापको जाँच गर्न जरुरी छ । सरोकारवाला निकायले खुल्ला ठाउँलाई संरक्षण दिन नसकेका कारण मुटु समस्या बढ्दो गतिमा छ । बच्चाहरुलाई पर्याप्त शारीरिक व्यायाम गर्ने वातावरण हुनुपर्छ । जंक फूड निषेध गर्नुपर्छ ।

व्यक्तिगत र राजनीतिक रुपमा के कस्ता सर्तकता अपनाउन जरुरी छ ?
आफू कतिको जोखिम अवस्थामा छु भन्नका लागि नियमित रक्तचाप, तौल, सुगर र कोलेस्ट्रोलको लेवल जाँच गर्नुपर्छ । कारक तत्वलाई समयमै नियन्त्रण गर्नुपर्छ । उपचारका लागि समयमा अस्पताल पुग्नुपर्छ । यसका लागि सरकारले स्थानीय तहमास्वास्थ्य संस्थाको स्थापना गरिदिनुपर्छ र सुलभ मूल्यमा व्यक्तिले सेवा लिन पाउनुपर्छ । स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन राज्यले जिम्मा लिनुपर्छ ।

मुटु स्वास्थ्यका लागि चिनीको उपभोग कस्तो मानिन्छ ?
अत्यधिक चिल्लो, (तेल, बटर) र मासुको उपभोगलाई मुटुरोगको कारकका रुपमा दोष लगाउँदै आएकोमा अहिले अत्यधिक चिनीको सेवनले मुटुको समस्या बढाइरहेको छ । मुटु स्वास्थ्यमा चिनी र नुनको अत्यधिक सेवन हानिकारक मनिन्छ । त्यसैले फाइवरयुक्त र शाकाहारी खानाको उपभोग गर्न राम्रो मानिन्छ ।
(प्रा.डा. शर्मा गंगालाल राष्ट्रिय हृदय केन्द्रको मुटु विभागको विभागीय प्रमुख हुनुहुन्छ । मुटु तथा रक्तनलीको उपचारमा उहाँको दुई दशकदेखि अनुभव छ )

प्रतिक्रिया दिनुहोस्