Logo
|
Friday 19th April 2024
Logo

epaper

मुटु एक समस्या अनेक



बी एण्ड बी अस्पतालमा शुरु गरिएको मुटु विभागमा यतिखेर अत्याधुनिक इन्भेसिव र ननइन्भेसिव सेवाले निरन्तरता पाइरहेको छ । इन्भेसिव अन्तर्गत धेरैले क्याथल्यावको सेवा लिँदै आएका छन् । ननइन्भेसिवमा इ.सी.जी., इको, एविपी, हल्टर, टी.एम.टी सेवा पाइरहेका छन् । यहाँ मुटु रोग विशेषज्ञ, नर्स, पारामेडिक्सलगायतका टीम मिलेर सेवा प्रदान गर्दै आइरहेको छ । यस विभाग स्थापनामा डा.दीपक कुमार मिश्रको ठूलो भूमिका छ । यस अंकमा हामीले मुटु परीक्षणका केही प्रविधिबारे जानकारी गराउने कोशिस गरेका छौं । जानौं डा. मिश्रमको शव्दमा ।

ई.सी.जी.
यो मुटुको सामान्य जाँच हो । यसले मुटुको चाल र गतिको सामान्य जानकारी गराउँछ । हृदयघात भएनभएको सामान्यत छुट्याउन मद्दत गर्छ ।

इको
मुटुको बनोट, भल्व, मांसपेशीको बाक्लोपन, ट्रान्स थोरासिस, मुटुको खुम्चिने शक्ति (सिस्टोलिक फंसन) र डायस्टोलिक फंसन, मुटुको झिल्लीमा पानी भएको वा नभएकोबारे सामान्य रुपमा यस उपकरणले जानकारी दिन्छ । इको गर्दा औषधि दिँदै गरिन्छ । सामान्य इकोलाई ट्रान्सथोरासिस भनिन्छ । यसका साथै ट्रान्सफेजल इको, स्ट्रेस इको, थ्री डायमेन्स्नल इको, फेटल इको आदि यसका विभिन्न प्रकार छन् ।

एबिपी मेसिन
यो मेसिनले २४ घण्टाको ब्लड प्रेसर र मुटुको धड्कनको मापन गरेर देखाउँछ । बिहान, दिउँसो, राति सुत्दा, बस्दा, खाँदा उच्चरक्तचापको स्थिति के छ ? भनेर एबिपी मेसिनले मनिटर गरिरहेको हुन्छ । यसले औषधि खाने वा नखाने भन्ने निक्र्योल गरिदिन्छ । यो मेसिन बहिरङ्ग विभागबाट जडान गरिन्छ । तसर्थ बिरामीलाई अस्पताल भर्ना हुनुपर्दैन ।

होल्टर
मुटुको धड्कन नियमित भएनभएको अवस्था हेर्ने उपकरणलाई होल्टर भनिन्छ । यसले मुटुको चाल र गतिसीमा देखाउन मद्धत गर्छ । यसबाट मुटुको चाल नियमित भएनभएको हेरिन्छ । चाल कहाँ बाट आइरहेको छ, सामान्य आउनुपर्ने ठाउँबाट वा अन्यन्त्रबाट मुटुको चाल आइरहेको छ भनेर पनि होल्टरले हेर्ने गर्छ । चिकित्सकीय परामर्शपछि बिरामीलाई होल्टर लगाइदिएर घर पठाइन्छ । सामान्यत यसलाई २४ घण्टा सम्म लगाइन्छ, आवश्यक परेको अवस्थामा ४८ घण्टा पनि लगाउनुपर्ने हुनसक्छ । सोही रिर्पोटको आधारमा बिरामीको अवस्था पहिचान गरिन्छ ।

टी.एम.टी.(ट्रेड मिल टेस्ट)
यो मुटुको परीक्षण गर्ने प्रविधि हो । टी.एम.टी.मा छातीमा इलेक्ट्रोडहरु लगाएर इसिजी मोनिटरसँग जोडिएको हुन्छ । बिरामीले गतिमा ट्रेड मिल मेसिनमाथि हिँड्दै गर्दा बिस्तारै मुटुको चाल र गतिविधि इसिजी मोनिटरले देखाउँछ । जाँच्ने क्रममा ब्लड प्रेसर पनि नापिन्छ । मुुटुले लोड लिँदा मुटुमा केही परिवर्तन आउँछ र ब्लकेज हुने सम्भावना भएनभएको थाहा पाउन सकिन्छ ।

इन्भेसिव सेवा
इन्भेसिभ सेवाअन्तर्गत मुटुको एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर पर्दछन् । क्याथल्यावको माध्यमबाट ब्लक भएको मुटुको नसाको अवस्था हेर्न कोरोनरी एन्जियोग्राफीको जति महत्व हुन्छ त्यति नै पेरिफेरल एन्जियोग्राफी सेवा पनि महत्वपूर्ण छ । पेरिफेरल एन्जियोग्राफीले मुटुबाहेकका अन्य नसाहरुमा समस्या भएनभएको हेर्ने गरिन्छ । ब्लक भएको मुटुको नसाभित्र बेलुन स्टेन्ट (जाली जस्तो) राखेर नसाबाट रगत सुचारु गर्नुलाई कोरोनरी एन्जियोप्लाष्टी भनिन्छ भने मुटुबाहिरको नसामा बेलुन (जालीजस्तो) राख्नुलाई पेरिफेरल एन्जियोप्लाष्टी भनिन्छ । हृदयघात भएको बेला तत्काल गरिने उपचारलाई प्राइमरी एन्जियोप्लाष्टी भनिन्छ ।

क्याथल्याव
क्याथल्यावमा अत्याधुनिक उपकरण जडान गरी फ्लोरोस्कोपको माध्यमद्धारा हृदय तथा रक्तसञ्चार हुने नसा, टाउकोको रक्तनलीलगायतको अवस्था हेर्ने गरिन्छ । खासगरी यो मुटुको नसा (कोरोनरी) र पेरिफेरल एन्जियोग्राफी हेर्नमा धेरै प्रयोग गरिन्छ । रगतको नसामा ब्लकेज देखिएमा बेलुन स्टेन्ट (जाली) राखेर रगत सुचारु गर्नुपर्छ । टाइप टू र एडभान्सड् हार्ट ब्लक भएमा पेसमेकर लगाउनुपर्ने हुन्छ । यसका लागि क्याथल्याव मेसिनको प्रयोग जरुरी हुन्छ । बिरामीको मुटुको चाल सामान्य गतिभन्दचा कम भएमा बिरामी बेहोस हुनेसम्म खतरा हुन्छ ।

एन्जियोप्लाष्टी
तत्काल हृदयघात भएका बिरामीलाई क्याथ ल्याबमा एन्जियोग्राफी गरेर ब्लक भएको नसा तुरुन्त खोल्नुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डले हृदयघात भएको ९० मिनेटभित्र एन्आियोष्टीबाट खोलिसक्नुपर्ने उल्लेख गरेको छ । टाढाबाट आउनेहरुका लागि पनि १ सय २० मिनेट भित्र उपचार गरिसक्नुपर्छ ।

हृदयघात
कारोनरी आर्टरी (धमनी) ले मुटुको मांशपेशीलाई आवश्यक रगत पु¥याउन नसक्दा हुने पीडा बिस्तारै बढ्दै गएर रक्तसञ्चार प्रकृया बन्द हुने समस्यालाई हृदयघात भनिन्छ ।
खासगरी देब्रेतिर छाति दुख्ने, गिँजा, काँध र देब्रे हातमा पीडा महसुस हुने, श्वासप्रश्वासमा समस्या, मुटुको धड्कन बढ्ने, कपडा भिज्ने गरी पसिना आउने हृदयघातका लक्षण हुन् । मधुमेही, बृद्धबृद्धा र अटोनोमिक डिसफङ्सन भएका बिरामीलाई छातिको दुःखाइ नहुन पनि सक्छ ।

हृदयघातको खतरा कसलाई हुनसक्छ ?

  • रक्तचाव बढि भएको मानिस
  • मधुमेह नियन्त्रण नभएमा
  • शारीरिक ब्यायाम नगर्ने र शारीरिक तौल अत्यधिक भएमा
  •  नराम्रो कोलेस्टेरोल उच्च र राम्रो कोलेस्टेरोल कम भएमा
  • अत्यधिक धुम्रपान गर्ने ब्यक्ति
  • वंशाणुगत समस्या भएका व्यक्ति

उच्चरक्तचाप र हृदयघात
उच्च रक्तचापका कारण रक्तसञ्चारमा समस्या आउँछ । धमनीले राम्रोसँग रक्तसञ्चार गर्न नसक्दा रगतको सप्लाइ र डिमान्डको मिस्म्याच हुन्छ । लामो समयदेखि उच्च रक्तचाप भएमा मुटुको मांशपेशी बाक्लिदै जान्छ । यस्तो अवस्थामा हृदयघात हुने खतरा रहन्छ । त्यसैले समयमै रक्तचाप नियन्त्रण गर्नुपर्छ । यसरी चिकित्सकको परामर्श लिई रक्तचाप नियन्त्रण गरेमा जीवनलाई सहज बनाउन मद्दत पुग्छ ।

उच्च रक्तचाप र औषधि
नियमित उच्चरक्तचापको औषधि सेवन गर्ने, खानपान र शारीरिक तौललाई नियन्त्रणमा राखेर हृदयघातको जोखिम कम गर्न सकिन्छ । मधुमेहले पनि हृदयघात गराउनसक्ने भएकाले यसलाई पनि नियन्त्रणमा राख्नुपर्छ ।

मधुमेह र मुटु
मधुमेहको समस्यामा शरीरमा चिनीको मात्रा बढ्दै गएपछि रगतको नसामा कोलेस्टेरोल जम्मा हुँदै अन्तमा प्लाक बन्नसक्छ । प्लाक स्टेवल भएमा त समस्या हुँदैन तर उच्चरक्तचाप, तनाव तथा अन्य कारणले प्लाकमा हलचल भएमा बिस्तारै यसले रक्तनलीलाई पूर्णरुपमा बन्द गराइ हृदयघातसम्म गराउनसक्छ । त्यसैले मधुमेहलालई नियन्त्रण गर्न आवश्यक हुन्छ ।

धुम्रपान र हृदयघात
हृदयघातको जोखिम कारकमा धुम्रपान पर्छ । धुम्रपानले शरीरमा नराम्रो कोलेस्टेरोल (एलडिएल) को मात्रा बढाउँछ । धुम्रपानले रगत सञ्चार हुने धमनी (आर्टरी) लाई कडा बनाउँछ र शरीरको विभिन्न भागमा पुग्नुपर्ने अक्सिजन पुग्न सक्दैन र हृदयघातको सम्भावना बढाउँछ ।
(डा. मिश्र बी एण्ड बी अस्पतालमा मुटु विभागको विभागीय प्रमुख हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्