Logo
|
Friday 19th April 2024
Logo

epaper

बिसिजी भ्याक्सिनको मौज्दात सकियो



जन्मेदेखि एक वर्षसम्मका बच्चालाई क्षयरोगविरुद्ध दिइने बिसिजी भ्याक्सिनको अभाव भएको छ । भ्याक्सिन अभावले सेवा रोकिने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्कालीन रूपमा युनिसेफ गुहारेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बिसिजी भ्याक्सिन केही जिल्लामा अभाव भएको जानकारी दिए । अधिकारीहरूका अनुसार भ्याक्सिन अभाव हुँदा खोप सेवा नै प्रभावित हुन पुग्छ । गत वर्ष सरकारले बिसिजी भ्याक्सिन खरिद गरेको थिएन । जसका कारण भ्याक्सिनको मौज्दात सकिएको विभागका कर्मचारीहरूको भनाइ छ ।

भ्याक्सिन अभावको जानकारी केन्द्रमा
परिवार कल्याण महाशाखाका अनुसार हाल केन्द्रमा बिसिजी भ्याक्सिनको मौज्दात निकै कम छ । डा. गौतमले बिसिजी भ्याक्सिन अभावको खबर जिल्ला–जिल्लाबाट क्रमिक रूपमा आउन थालेको जानकारी दिए । ‘कतिपय जिल्लाबाट भ्याक्सिन सकियो भनेर जानकारी आएको छ,’ उनले भने, ‘तर देशभर अभाव भने छैन । हामीले मेडिकल स्टोरहरूमा केही भ्याक्सिन पठाएका छौँ । तत्कालका लागि अभाव भएका जिल्लाले मेडिकल स्टोरबाट ल्याउन सक्नेछन् ।’

भ्याक्सिन अभावले आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सकरारले दातृ निकाय गुहार्न पुगेको हो । जिल्लाहरूबाट अभाव भएको जानकारी आउन थालेपछि विभागले आपत्कालीन भ्याक्सिन संकलन कार्यलाई तीव्रता दिएको छ । भ्याक्सिन वितरण गर्दा बढी गएका जिल्लाबाट फिर्ता गराएर प्रत्येक मेडिकल स्टोरमा आपत्कालीन अवस्थाका लागि भनेर पठाइएको छ ।

दुई हप्ताभित्र उपलब्ध गराउने युनिसेफको प्रतिबद्धता
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले दुई हप्ताभित्र युनिसेफले आपत्कालीन सेवाका लागि तीन महिनालाई पुग्ने भ्याक्सिन उपलब्ध गराउने सहमति जनाएको जानकारी दिए । हरेक वर्ष एक लाख ३० हजार बच्चालाई क्षयरोगविरुद्धको बिसिजी खोप दिने गरिन्छ । यो जन्मेदेखि एक वर्षसम्मका बच्चालाई ०.५ एमएल दिइन्छ ।

सरकारले यस वर्ष नौ लाख भ्याक्सिन खरिदका लागि टेन्डर गरेको छ । सो भ्याक्सिन आउन केही महिना लाग्ने भएकाले बीचको समयलाई धान्न आपत्कालीन अवस्थाका लागि युनिसेफले दिने सहमति जनाएको हो । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्