Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

रक्तनली ब्लकमा एन्जिओप्लाष्टी



४० वर्ष मुनिका व्यक्ति हृदयघात भएर अस्पताल आउने क्रम एकदमै बढेको छ । २० वर्ष उमेर भन्दामाथिका व्यक्तिलाई हृदयघात भएको प्रशस्तै भेटिन्छ ।
विकसित राष्ट्रमा भन्दा पनि अविकसित राष्ट्रहरुमा मुटुरोगी बिरामीको संख्या बढ्दै गइरहेको छ ।
मुटु रोगको कारक तत्वलाई जीवनशैली परिवर्तन गर्न सकिने र नसकिने गरी दुई भागमा विभाजन गरेर हेरिन्छ । बढ्दो उमेरसँगै हुने मुटुको समस्या र वंशाणुगत कारण जीवनशैली परिवर्तन गरेर पनि टार्न नसकिने समस्या हुन् । धुम्रपान, मधुमेह, उच्च रक्तचाप र मानसिक तनाव जीवनशैली परिवर्तन गरेर केहीहदसम्म मुटुको समस्या न्यूनिकरण गर्न सकिन्छ ।
धुम्रपान यस्तो चिज हो जसले क्यान्सर मात्र गराउँदैन । यसले मुटुलाई पनि त्यत्तिकै हानी गर्छ । विश्वमा प्रत्येक वर्ष धुम्रपानका कारण ३० लाख व्यक्तिको मुटुसम्बन्धि विभिन्न समस्या हुने गरेको तथ्यांक छ । धुम्रपानका कारण वर्षेनी ६० लाखको ज्यान गइरहेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । यसरी विभिन्न कारण मुटुसम्बन्धि समस्यामा मुटुको रक्तनली ब्लक भएर वा साँघुरिएर हृदयघातसमेत हुनसक्छ ।
एक सर्वेक्षणमा काठमाण्डौका वयस्क उमेरमा झण्डै ५ प्रतिशत मानिसमा मुटुको नसा साँधुरिने समस्या भएको अनुमान गरिएको छ । पूर्वी नेपालको धरान शहरी क्षेत्रमा ५.७ प्रतिशत मानिसहरूमा यो समस्या देखिएको छ । ३० वर्ष यता काठमाण्डौमा मुटुको नसा साँघुरिने रोगमा ४० गुणा वृद्धि भएको पाइन्छ । विश्व बैंकले सन् २००८ मा ५२ देशमा गरेको अध्ययनले दक्षिणपूर्वी राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, पाकिस्तान आदिमा हृदयाघात कम उमेरमा अर्थात ५३ वर्षमा हुने गरेको देखाएको छ । विकसित राष्ट्रमा भने ५९ वर्षमा पहिलो हृदयाघात हुने गरेको देखिन्छ ।
यस्तो अवस्थामा एन्जिओप्लाष्टी गरेर ब्लक भएको रक्तनली खुलाएर रगत सुचारु गराई मानिसको ज्यान जोगाउनुपर्छ ।
एन्जियोप्लाष्टी किन गर्ने ?
बिरामीलाई बेहोस नगरी क्याथल्याबमा हात वा खुट्टाको नसाबाट मुुटुको नसामा तार पठाई बेलुनद्वारा उक्त साँघुरिएको नसालाई फुलाएर स्टेन्ट हाल्ने पद्धतिलाई एञ्जियोप्लाष्टी भनिन्छ । यो छाति नचिरीकन गरिने पद्धति हो । यसबाट ब्लक भएको नसा खुलेर मुटुमा रगत सुचारु गराइन्छ । यसरी हृदयाघात भई ई.सि.जी.मा खराबी देखिएर छाती दुखेको १२ घण्टाभित्र गरिने एञ्जियोप्लाष्टीलाई प्राइमरी एञ्जियोप्लाष्टी भनिन्छ । जाँच गरी नियमित रुपमा गरिने उपचारलाई इलेक्टिभ एञ्जियोप्लाष्टी भनिन्छ । हृदयाघात भई रगत पातलो बनाउने औषधि प्रयोग गरी उपचार गर्दा पनि छाती दुख्ने भइरहेमा तत्कालै गरिने एञ्जियोप्लाष्टीलाई रेस्क्यू एन्ओिप्लास्टी भनिन्छ ।

ह्ृदयाघात भई इसिजीमा विभिन्न प्रकारका समस्या वा आराम गर्दा र अलिकति हिँड्दा छाती दुख्ने अवस्था भएमा वा बीचबीचमा हिँड्दा छाती दुख्ने र विशेष प्रकारको मुटुको जाँच ट्रेडमिल टेष्ट गर्दा खराबी देखिएमा मुटुको नसाको जाँच एन्जियोग्राम गरिन्छ । यसरी एन्जियोग्राम गर्दा मुटुको नसा साँघुरो देखिएमा एञ्जियोप्लाष्टी गरिन्छ ।

 

विधि
एञ्जियोप्लाष्टी गर्नुअघि सामान्यतया ४–६ घण्टा खाली पेट बस्नुपर्छ । क्याथल्याबमा विरामीलाई बेहोस नगरी सामान्यतया हातको नसा वा खुट्टाको नसा बाथ पाईप पठाई सो बाट मुटुको साँघुरिएको नसामा तार पठाइन्छ र उक्त भागलाई बेलुनबाट फुलाइन्छ । त्यसपछि उक्त साँघुरिएको भागमा स्टेन्ट लगाइन्छ । स्टेन्ट ३ प्रकारका हुन्छन् । धातुबाट बनेको, औषधि भएको स्टेन्ट र मुटुको नसामा एक वर्षभित्र बिलाएर जाने औषधि भएको विशेष प्रकारको । धातुबाट बनेको स्टेन्ट ६ देखि १२ महिनाभित्र खुम्चने सम्भावना २०–३० प्रतिशत हुन्छ भने अन्य दुई प्रकारका स्टेन्टको खुम्चने सम्भावना ५–१० प्रतिशत हुन्छ । एञ्जियोप्लाष्टी सफलतापूर्वक सम्पन्न भई कुनै समस्या नभएमा १–२ दिनमा डिस्चार्ज गरिन्छ ।

सफलदर
मुटुको नसामा क्याल्सियम भएमा, लामो समयसम्म नसा पूर्णरुपमा बन्द भएमा, लामो र सानो नसामा भएमा आदि कारणहबाट २—४ प्रतिशतमा एञ्जियोप्लाष्टी सफल नहुनसक्छ । तर सामान्यतया एञ्जियोप्लाष्टी ९६–९८ प्रतिशतमा सफल हुन्छ । एञ्जियोप्लाष्टी सफलतापूर्वक भएपछि अधिकांश बिरामीहरू छाती दुख्ने र मुटुको समस्याबाट मुक्त हुन्छन् ।

सावधानी
स्टेन्ट राखेका व्यक्तिले नियमित औषधी सेवन गरेमा लामोसमयसम्म सामान्य जीवनयापत गर्न सक्छन् । जीवनशैली परिवर्तन गरेर उच्च रक्तचाप, मधुमेह, कोलेस्टा«ेल जस्ता कारक तत्वलाई सामान्य अवस्थामा राख्नुपर्छ । नियमित रुपमा रगत पातलो बनाउने एसपिरिन, क्लोपिडाग्रेल लगायतका औषीधहरू चिकित्सकको सल्लाहमा सेवन गर्नुपर्छ । स्वस्थकर खाना, विशेष गरी सागसब्जी बढी खाने, बोसो चिल्लोयुक्त खाना नखाने, धुम्रपान नगर्ने, नियमित व्यायाम गर्ने, तौल नियन्त्रण गर्ने, उच्च रक्तचाप, मधुमेह भएमा उपचार गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्