Logo
|
Thursday 25th April 2024
Logo

epaper

भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष श्रेष्ठ भ्रष्टाचारी ठहर



विशेष अदालतले चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा.भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले मंगलबार श्रेष्ठ अस्पतालमा बहाल रहँदा अनियमितता गरेको ठहर गरेको हो ।

अदालतले श्रेष्ठलाई एक वर्ष कैद र एक करोड १८ लाख ६६ हजार ७७६ रुपैयाँ जरिवाना र सोबराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ । उनकी श्रीमती सिलु श्रेष्ठलाई भने यथेष्ट प्रमाण नपुगेको भन्दै सफाइ दिएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए ।

 पदीय जिम्मेवारी दुरुपयोग गरी गैरकानुनी रूपमा धन आर्जन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ फागुन ०७२ मा डा. श्रेष्ठ र उनकी श्रीमतीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । क्यान्सर अस्पतालमै फुड एन्ड न्युट्रिसन अफिसरका रूपमा कार्यरत श्रेष्ठकी पत्नी सिलुलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो ।

क्यान्सर अस्पतालको अध्यक्ष रहँदा श्रेष्ठले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो । डा. श्रेष्ठले अस्पतालको सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारी दुरुपयोग गरी गैरकानुनी रूपमा धन आर्जन गरेको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । श्रेष्ठको चितवनकै अन्य निजी स्वास्थ्य संस्थाहरू एनपिआई सामुदायिक अस्पताल, चितवन अस्पताल र नेपाल पोलिटेक्निकल इन्स्टिच्युटमा सेयर रहेको आरोप थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा आयोगको ऐन, २०४८ को दफा २९ बमोजिम जफत गरी राज्यकोषमा दाखिला गर्न आरोप पत्रमा माग गरिएको थियो । भरतपुर क्यान्सर अस्पतालमा विशेषज्ञ चिकित्सकका रूपमा ०५४ सालमा सेवा प्रवेश गरेर व्यवस्थापन समितिको अध्यक्षसमेत बनेका डा. श्रेष्ठले महत्वपूर्ण पदमा रहँदा अस्वाभाविक सम्पत्ति आर्जन गरेको भेटिएको थियो । झन्डै १८ वर्ष अस्पतालमा कार्यरत रहेका उनले कार्यकारी निर्देशक र अध्यक्ष भएको अवधिमा सबैभन्दा बढी सम्पत्ति आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ । नयाँपत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्