Logo
|
Friday 19th April 2024
Logo

epaper

मोबाइलबाटै प्रसूति सेवा



 

 बैतडीको सुर्नया ६ की महिला स्वास्थ्य स्वयंसेविका नारायणी अवस्थी गाउँमा कोही गर्भवती भएको थाहा पाउनेबित्तिकै मोबाइलबाट नाम दर्ता गर्छिन्। र, उनीहरूको स्वास्थ्य जाँच गराउन पनि मोबाइलबाटै खबर गर्छिन्। ‘पहिला गाउँका गर्भवतीलाई स्वास्थ्य संस्थामा जाँच गराउन घरमै पुगेर खबर गर्नुपथ्र्यो, भौगोलिक विकटताले समस्या हुन्थ्यो’, अवस्थीले भनिन्, ‘अहिले मोबाइलबाटै नाम दर्ता गर्छौं। यसले हामीलाई सजिलो भएको छ।’

दशरथचन्द नगरपालिका १ श्रीखण्डकी स्वयंसेविका निर्मला भट्टलाई पनि गाउँका गर्भवतीलाई स्वास्थ्य सल्लाह दिन सजिलो भएको छ। उनले भनिन्, ‘गाउँगाउँ डुलेर खबर गर्न समस्या थियो। अहिले उनीहरूको जाँच गर्ने समयमा हामीलाई पनि मोबाइलबाटै मेसेज आउँछ।’ जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलको सहयोगमा जिल्लाका आठ सय ३१ स्वयंसेविकालाई मोबाइल उपलब्ध गराएको परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले बताए।

उनले भने, ‘हामीले संस्थागत सुत्केरीको संख्या बढाउन स्वयंसेविकालाई मोबाइल वितरण गरेका हौं। एक वर्ष अवधिमा स्वास्थ्य संस्थामा जाँच गराउन आउने धेरैजसो गर्भवती स्वयंसेविकाकै मोबाइल खबरबाट आएको तथ्यांक छ।’

स्वयंसेविकाको मोबाइलमा स्थानीय तहले आवश्यकताअनुसार रिचार्ज गरिदिने गरेका छन्। ‘गत वर्षमा स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आएका र सुत्केरी हुन आएका ९० प्रतिशत आमा मोबाइलबाट नाम टिपाउनेहरू छन्। यसले सेवा प्रवाहमा सजिलो भएको छ’, जोशीले भने, ‘स्वयंसेविकाको हातहातमा मोबाइल हुँदा संस्थागत सुत्केरी र गर्भ जाँच गराउनेको संख्या बढ्दै गएको छ।’

मोबाइलबाटै नाम दर्ता गराउने भएपछि स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी हुन आउनेको संख्या बढेको देहीमाण्डौं स्वास्थ्यचौकीकी अनमी हीरा बोहराले बताइन्।

प्रतिक्रिया दिनुहोस्