Logo
|
Saturday 20th April 2024
Logo

epaper

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयू



‍कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाले आईसीयू सेवा सुरु गरेको छ  । अस्पतालमा चौबीसै घण्टा विद्युत्को व्यवस्था र आवश्यक उपकरण जडान भएपछि सेवा सञ्चालन गरिएको हो  ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार साता दिनअघिदेखि भेन्टिलेटरसहितको आईसीयू सेवा परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि बिरामीको उपचार थालिएको उनले बताए । अत्याधुनिक ल्याबसहितको आईसीयू सेवा सञ्चालनमा ल्याइसकेकाले जटिल प्रकारका बिरामीको उपचार सहज हुने उनले बताए ।

प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले आईसीयू सुरु गरेपछि जस्तोसुकै बिरामीको पनि जुम्लामै सबै उपचार सम्भव भएको बताए । आईसीयू सेवा नहुँदा जटिल प्रकारका बिरामीको शल्यक्रिया भए पनि राख्न सक्ने अवस्था थिएन । ‘यसअघि जुम्ला अस्पतालमै उपचार सम्भव भएका बिरामीले दबाब र प्रभावमा परेर बाहिर रेफर गर्न लगाउँथे,’ उनले भने, ‘अब बिरामीले कम खर्चमै गुणस्तरीय र भरपर्दो उपचार सेवा पाउने भएका छन् ।’

उनका अनुसार आईसीयू सेवा नहुँदा जटिल प्रकारका बिरामी राख्न समस्या थियो । अब सबै प्रकारका बिरामी राख्न मिल्ने कक्ष नै तयार भइसकेको अस्पतालले जनाएको छ । पछिल्लो एक सातामा अस्पतालमा झन्डै ९० नयाँ उपकरण भित्रिएका छन् । अस्पतालका अनुसार ल्याबका उपकरण पर्याप्त नहुँदा अधिकांश रोगको परीक्षण गराउन नेपालगन्ज पठाउनुपर्ने बाध्यता थियो । रिपोर्ट प्राप्त गर्न धेरै दिन लाग्ने गरेकामा अब सबै रोगको परीक्षण जुम्लामै हुनेछ ।

आईसीयूको सामग्री महिना दिनअघि आइपुगे पनि विद्युत् समस्या र जडान गर्ने इन्जिनियर समयमै नआउँदा सञ्चालनमा आउन सकेको थिएन । आईसीयूमा स्टाफ नर्स र विशेषज्ञ चिकित्सक चौबीसै घण्टा खटाइएको छ । बिरामीलाई अक्सिजन अभाव हुन नदिन अक्सिजन प्लान्ट पनि जडान गर्न थालिएको छ ।

कात्तिकभित्रै अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ । सिटी स्क्यान सेवा सञ्चालनका लागि मेसिन खरिद प्रक्रिया पूरा भइसकेकाले मंसिरदेखि सुरु हुने अस्पतालले जनाएको छ । तत्कालका लागि आईसीयू कक्षमा ३ बेड राखिएको छ । आईसीयूमा उपचार गराएबापत बिरामीबाट प्रतिदिन २ हजार रुपैयाँ शुल्क लिइने अस्पतालले जनाएको छ ।कान्तिपुर

आईसीयू सेवा सुरु भएसँगै जटिल प्रकारका बिरामीको उपचारमा सहज भएको छ । अस्पतालमा दक्ष जनशक्ति हुँदाहुँदै पनि आईसीयू नहुँदा बिरामीलाई जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता थियो । कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्