Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

नेपाल क्यान्सर हस्पिटलद्धारा स्तन क्यान्सरसम्बन्धि अभिमुखीकरण कक्षा



ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा ‘वुमन चेम्बर अफ कमर्स’ का सदस्यहरुलाई स्तन क्यान्सरबारे अभिमुखीकरण कक्षा दिइएको छ ।
हरेक साल अक्टोवरलाई ‘स्तन क्यान्सर सचेतना महिना’ का रुपमा मनाइँदै आएको छ ।
विश्वमा फैलिएको डरलाग्दो क्यान्सर रोगका कारण हजारौं मानिसहरु मृत्युवरण गरिरहेका छन् । हजारौं मानिसले विभिन्न समस्याहरु झेलिरहेका छन् ।
अझ हाम्रो जस्तो अविकसित मुलुकमा अशिक्षा, गरीबी, कु—संस्कार र यस सम्बन्धि चेतना, औषधि उपचार र अन्य श्रोत साधनका अभावका कारण वषेनी धेरैले ज्यान गुमाइरहेका छन् भने परिवारका सदस्यहरु झन् कष्टदायी जीवन बिताउन बाध्य छन् ।
क्यान्सर रोगको सामना गर्न भौतिक, आर्थिक, सामाजिक, मानसिक र पारिवारिक रुपमा बलियो हुनुपर्ने तथ्यलाई मध्यनजर गर्दा यस रोगको रोकथाममा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण हुने गर्दछ । अझ आजकालका कामकाजी महिलाहरुले आफ्नो व्यस्त जीवनमा आफ्नो शरीरको नियमित परिक्षण गराउनु जरुरी हुन्छ ।
यस सभामा स्तन क्यान्सरको निदान, रोकथाम, र उपचारको जनचेतना अभिबृद्धीका लागि समाजका अगुवा महिलाहरुले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारिएको थियो । कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवं वरिष्ठ कन्सल्टेनट अंकालोजिष्ट डा.सुदिप श्रेष्ठले नेपालमा क्यान्सरजस्तो ठूलो रोगको उपचार गर्न धेरै आर्थिक खर्च लाग्ने भएकाले सरकारले सशक्त रुपमा स्वास्थ्य बीमाको अवधारणा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।
‘वुमन चेम्बर अफ कमर्स’ का ’हेल्थ कमिटी’ संयोजक तथा नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरकी संचालिका श्रीमती स्वरुपा श्रेष्ठले क्यान्सर रोगको जनचेतना अब ग्रामीण क्षेत्रमा पुर्याउनुपर्ने र त्यसका लागि वुमन चेम्बर अफ कमर्सले नेपाल क्यान्सर हस्पिटल, च्याम्बर अफ कमर्स, रोटरी र लायन्स क्लबजस्ता सामाजिक संघसंस्थासंग सहकार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहोत्रा एवं डा. अन्जन शाक्यले कामकाजी र व्यवसायिक महिलाको क्यान्सर रोकथाम तथा जाँचको जनचेतना फैलाउन ठुलो भूमिका रहने बताउंदै क्यान्सर सँग लडिरहेका व्यक्तिहरुको सहारा समुहमा महिलाहरुले खेल्ने ठुलो योगदानमा प्रकाश पार्नुभयो । हस्पिटलका मेडिकल डाइरेक्टर डा. विजेश राज घिमिरेले नेपाल क्यान्सर हस्पिटल र नेपाल च्याम्बर अफ कमर्सले भविष्यमा अझ नजिकिएर सामाजिक कार्यहरु गर्ने बताउनुभयो । मिडिया, हेल्थ र ह्याप्पिनेस मोटीभेशनल ट्रेनर सिमोन नेउपानेले एउटा छोटो मेडीटेशनको प्रदर्शन पनि गर्नुभएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा हस्पिटलका सर्जिकल अन्कोलोजी बिभाग प्रमुख डा. कपेन्द्र शेखर अमात्यले स्तन क्यान्सरका बारेमा सहभागीहरुलाई प्रस्तुति दिनुभएको थियो । सहभागीहरुको जिज्ञासा मेटाउँदै उहाँले आजकल स्तन क्यान्सर लागिहालेमा पनि पुरै स्तन काटेर फाल्नुनपर्ने तथ्य उजागर गर्नुभयो ।
हस्पिटलमा ‘अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी’ पनि सुरु भैसकेकाले धेरै केसहरुमा नयाँ स्तन बनाउने प्रविधि र सीप नेपालमै उपलब्ध भएको पनि जानकारी दिनुभयो ।
नेपाल क्यान्सर हस्पिटलमा ’कम्प्रिहेन्सिभ ब्रेस्ट केअर क्लिनिक’ उपलब्ध भएकाले स्तन क्यान्सरका जानकार डाक्टरहरुको समुहद्वारा हरेक बिरामी र क्यान्सरको बिशिष्ट उपचार हुने डा. अमात्यले बताउनुभयो । भेलाका सहभागीहरुले आ—आफ्ना मनमा लागेका क्यान्सर सम्बन्धि प्रश्नहरु सोध्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्