Logo
|
Wednesday 24th April 2024
Logo

epaper

शिक्षण अस्पतालको निर्देशक सिफारिस तयारी



 त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागि सिफारिस गर्ने तयारी छ। चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन प्राडा. जगदीश अग्रवालको संयोजकत्वमा गठित सर्च कमिटीले केही दिनभित्रै निर्देशक सिफारिस गर्दै छ।
‘निर्देशक सिफारिस पठाउने तयारी छ। एकदुई दिनभित्रै पठाउँछौं’, अग्रवालले भने। कमिटीका सदस्यमा डा. अभिमन्यु झा र डा. प्रदीप ज्ञवाली छन्। करिब चार महिनादेखि कार्यकारी निर्देशक पद रिक्त छ। कमिटीले तीन जनाको नाम सिफारिस गर्नेछ।

 

यसअघि जेठमा पनि डा. अग्रवालको संयोजकत्वमा कमिटी गठन गरिएको थियो। कमिटीका सदस्यमा डा. जीवन शेरचन र डा. रमेशसिंह भण्डारी थिए। तीन महिनासम्म पनि पदाधिकारीबीच सर्वसम्मत सिफारिस हुन नसकेपछि कार्यकारी निर्देशकको नाम छनोट हुन सकेन। यस पटक भने सिफारिसका क्रममा सर्च कमिटीका पदाधिकारीबीच विवाद नभएको एक सदस्यले बताए।

साउनमा घरायसी कारण देखाउँदै डा. दीपकप्रकाश महराले अस्पतालको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। अस्पतालबाट प्रदान गरिने सेवा र दैनिक प्रशासन सञ्चालनमा आईओएमकी सहायक डिन मन्दिरा वन्तलाई निमित्त कार्यकारी निर्देशकको थप जिम्मेवारी दिइएको छ। कार्यकारी निर्देशकको सेवा अवधि चार वर्षको हुन्छ।

सर्च कमिटीले सिफारिस गरेपछि कार्यकारी परिषद्मा पेस गरिने त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाले जानकारी दिए। ‘सिफारिस पठाएपछि परिषद्को बैठकमा पेस हुन्छ। त्यसपछि नियुक्ति अघि बढ्छ’, उनले भने। अन्नपुर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्