Logo
|
Friday 29th March 2024
Logo

epaper

एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टमार्टम



एचआइभी संक्रमित महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्र्टमार्टका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो। तर डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्पतालको मुर्दाघरमै थन्कियो। मृतक एचआइभी संक्रमित भएको भन्दै डाक्टरले पोस्टमार्टम गर्न नमानेको खुलासा भएको छ।

धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेकी ३७ वर्षीया शर्मिला श्रेष्ठ (नाम परिवर्तन) ले गत शुक्रबार बिहान विष खाएकी थिइन्। उनी शौचालय आउने–जाने र उल्टी गर्ने गर्न थालेपछि छोरीले आफूलाई खबर गरेको मृतकका श्रीमान्ले बताए। उनका अनुसार हत्तार–हत्तार साबुनपानी खुवाएर उपचारका लागि केउरेनीसम्म ट्रकमा लगेर त्यसपछि एम्बुलेन्समा काठमाडौं लैजादै गर्दा धार्के पुग्दा श्रीमतीको मृत्यु भएको थियो।

धादिङ जिल्ला अस्पतालका चिकित्सकले एचआइभी संक्रमित भएको थाहा पाएपछि स्थानीय एक महिलाको शव पोस्टमार्टम नगरेका हुन्। सरुवा रोगबाट सुरक्षा दिने स्रोतसाधन तथा उपकरण अभावका कारण एचआइभी संक्रमित महिलाको शव पोस्टमार्टम गर्न नसकिएको चिकित्सकले बताएका छन्।

खानीखोलास्थित इलाका प्रहरी कार्यालयले पोस्टमार्टमका लागि सिफारिस गरेपछि उनले श्रीमतीको शव धादिङबेंसीस्थित जिल्ला अस्पताल ल्याए। सुरुमा डाक्टरले शव पोस्टमार्टमका लागि सबै तयारी गरेका थिए। तर जब मृतक एचआइभी संक्रमित हो भन्ने थाहा पाए तब डाक्टर पोस्टमार्टम गर्नबाट पछि हटेको उनको आरोप छ। ‘सोधपुछका क्रममा मैले मृतक एचआइभी संक्रमित हो भन्नेबित्तिकै डाक्टरहरूले पोस्टमार्टम गर्न नमानेका हुन्,’ उनले भने।

शुक्रबारदेखि जिल्ला अस्पतालमा थन्किएर बसेको शर्मिलाको शव आइतबार बिहान काठमाडौंका त्रिवि शिक्षण अस्पताल ल्याएर पोस्टमार्टमा गरिएको छ।

यता धादिङ जिल्ला अस्पतालका चिकित्सकले पनि सरुवा रोगबाट सुरक्षा दिने स्रोतसाधन तथा उपकरण अभावका कारण एचआइभी संक्रमित शर्मिलाको शव पोस्टमार्टम गर्न नसकिएको स्वीकार गरेका छन्। अस्पतालकी निमित्त सुपरिटेन्डेन्ट दीपा दाहालले भनिन्, ‘सरुवा रोग भएका कारण होसियारी अपनाउनुपर्ने हुन्छ। पोस्टमार्टम गर्नेलाई पनि उत्तिकै जोखिम हुने भएकाले काठमाडौं सिफारिस गरेका हौं।’

यस्तै पोस्टमार्टममा खटिएका धादिङ जिल्ला अस्पतालका डाक्टर पुकार पन्तले पनि आवश्यक उपकरण र सुरक्षा दिने किसिमको कपडा नभएकाले उनको शव पोस्टमार्टम गर्न नसकिएको बताए। सञ्चारकर्मीको जिज्ञासामा रिसाउँदै उनले भने, ‘शव एचआइभी संक्रमित भएकाले मलाई सर्ने खतरा हुन्छ, हामीसँग उपकरण छैन। त्यसैले शिक्षण अस्पताल रिफर गरिएको हो।’

मृतकका श्रीमान्का अनुसार शर्मिला (नाम परिवर्तन) २०६६ सालमा दोस्रो श्रीमतीका रूपमा आफूसँग आएकी थिइन्। पहिलेकी श्रीमतीले आफू भारतबाट नेपाल नआउने भनी सम्पर्कविहीन भएपछि आफूले दोस्रो विवाह गरेको उनले बताए । शर्मिलाको पनि पहिलो श्रीमान बितेपछि उनले ल्याएका थिए । वि. सं. २०६२ तिर एचआइभी संक्रमण भएकी शर्मिलाले नियमित औषधि खाइरहेकी थिइन् । यद्यपि उनले आत्महत्या गर्नुको कारण अनुसन्धानपछि मात्रै भन्न सकिने धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नागरिक न्यूज

प्रतिक्रिया दिनुहोस्