Logo
|
Thursday 18th April 2024
Logo

epaper

अस्पताललाई रोगमुक्त गर



कान्ति बाल अस्पताल देशकै एक मात्र केन्द्रीय बाल अस्पताल हो । नाम मात्रैका अस्पतालमा त बिरामीको भिड लाग्ने हाम्रो देशमा देशकै एक मात्र बाल अस्पतालमा बिरामी नवजात शिशुदेखि बालबालिकाको भिड लाग्नु स्वाभाविकै हो ।

कान्तिमा पुर्‍याउन पाए आफ्ना बालबालिकाको रोगको समयमै निदान हुन्छ र उनीहरू छिटै निको हुन्छन् भन्ने आमविश्वास छ । तर, दैनिक सयौँ बालबालिकालाई सेवा दिँदै आएको कान्ति बाल अस्पताल आफैँ भने गम्भीर दीर्घरोगको सिकार बनेको छ । राजधानीको मुटुमै रहेको भए पनि यो सरकारी अस्पताल राज्यको आँखामा पर्न सकेको छैन । सायद, सरकारी अस्पताल भएकैले सरकारले वास्ता नगरेको पो हो कि ?

हामीकहाँ सरकारी अस्पताल भन्नासाथ गरिब जनताले उपचार गर्ने ठाउँ ठान्ने गरिन्छ । हुनेखाने र पहुँचवालाले त निजी क्षेत्रका महँगा अस्पतालबाट सेवा लिन सकिहाल्छन् । अनि, यस्ता सरकारी अस्पतालमा पुग्ने सेवाग्राही त गरिब तथा विपन्न नागरिक नै हुने हुन् । जब यस्ता अस्पतालमा उपल्लो दर्जाका राजनीतिज्ञ, धनीमानी नागरिक वा उच्चपदस्थ कर्मचारी र तिनका आफन्त सेवाग्राहीका रूपमा पुग्दैनन्, तब यिनको बेहाल हुनु स्वाभाविकै हो ।

 

नवजात शिशुदेखि १२–१३ वर्षसम्मका बालबालिकालाई सेवा दिने सरकारी बाल अस्पतालमा १५ वर्ष पुरानो एक्सरे मेसिन प्रयोगमा छ । कान्तिमा हाल प्रयोगमा रहेको जस्तो एक्सरे मेसिन सायद नेपालकै पनि अन्य अस्पतालमा प्रयोगमा नहुन सक्छ । जम्मा चार वर्ष आयु भएको सिटी स्क्यान मेसिनले सात वर्ष सेवा दिइसक्यो र पनि चलिरहेकै छ । अस्पतालमा अति सघन उपचार कक्षमा ५२ सैया छन् । तर, आवश्यक कर्मचारी अभावमा तीमध्ये जम्मा ३७ मात्र सञ्चालनमा छन् । दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सकको समेत यहाँ ठूलै खडेरी छ ।

देशकै एक मात्र केन्द्रीय बाल अस्पतालको यो हदसम्मको दुर्दशा हुनुमा वेलावेलामा अस्पतालको नेतृत्वमा पुग्ने पदाधिकारी र सरोकारवाला मन्त्रालयको राजनीतिक र निजामती नेतृत्व जिम्मेवार छ । यसअघि गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले धेरै हदसम्म यो अस्पतालको अवस्था सुधार्ने प्रयत्न गरेका थिए । उनले समय–समयमा अस्पतालको निरीक्षणसमेत गर्ने गरेका थिए ।

मन्त्रीले नै वेलावेलामा निरीक्षण गर्ने गरेपछि कान्ति बाल अस्पतालको मुहारमा कान्ति थपिएको त्यतिखेर सेवा लिन अस्पताल पुग्ने धेरैले अनुभव गरेको हुनुपर्छ । तर, थापासँगै मन्त्रालयको नेतृत्व फेरिएपछि अस्पतालको दुरवस्था पुनः सुरु भएको देखिन्छ । यतिखेर स्वास्थ्य मन्त्रालयको वर्तमान राजनीतिक नेतृत्व कता छ र उसले कान्तिको दुर्दशा किन देखिरहेको छैन ? चिन्ताको विषय बनेको छ ।

पक्कै पनि कसैले चाहँदैमा एकैपटक कुनै पनि संस्थाको आमूल परिवर्तन सम्भव छैन । तर, प्रयास गर्दै जाँदा जतिसुकै असम्भव काम त सम्भव हुन्छन् भने राजधानीको मुटुमा रहेको एउटा अस्पतालको अवस्था सुधार गर्न नसकिने पक्कै होइन । तर, यसका लागि जिम्मेवार अधिकारीको मनमा सुधार गर्ने अठोट र आफ्नो कामप्रतिको इमानदारी भने हुनुपर्छ । तर, यहाँ त आफूले यस्ता अस्पतालबाट सेवा लिने होइन, अनि किन यसमा सुधार गरिरहनु भन्ने संकुचित मानसिकताले काम गरिरहेको हो कि जस्तो देखिन्छ । देशकै एक मात्र केन्द्रीय कान्ति बाल अस्पताल यतिखेर स्वयं रोगी बनेको छ । आफैँ रोगी अस्पतालले कसरी अन्य रोगीलाई निरोगी पार्न सक्ला ? समयमै कान्ति बाल अस्पतालको उपचारमा जुट । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्