Logo
|
Friday 19th April 2024
Logo

epaper

‘गरिबीको रेखामुनी रहेका समुदाय निमोनियाको उच्च जोखिममा’



‘निमोनिया रोकौं’ भन्ने मुल नाराका विश्व निमोनिया दिवस २०१८ विश्वभर मनाइँदै छ । हरेक वर्ष १२ नोभेम्बरमा विश्व निमोनिया दिवस मनाउँने गरिन्छ ।
पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया पनि एक भएकाले यसको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।
भ्याक्सिन लगायतका रोकथामका प्रयासहरुले रोगको बोझ घटाउँदै गएपनि धेरै काम गर्न आवश्यक भएको संगठनको ठम्याइ छ । गरिबीको रेखामुनी रहेका समुदाय नियमोनियाको उच्च जोखिममा रहेकाले उनीहरुका लागि भ्याक्सिन र रोकथाम जरुरी भएको संगठनको भनाइ छ ।
संगठन भन्छ— ‘पाँच वर्षमुनिका बालबालिकाहरुका लागि विश्वकै संक्रामक हत्यारा निमोनिया भएकाले यसको न्युनिकरणका लागि निमोनिया विरुद्ध खोप लगायतका रोकथामसम्बन्धि सुरक्षा अपनाउन जरुरी छ ।’
निमोनिया बिभिन्न प्रकारका जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो । अंग्रेजीमा न्युमोनिया भनिने यो रोगलाई उच्चारण भेदका कारण निमोनाया पनि भनिन्छ्र । यसमा फोक्सोका कोषहरू सुन्निन्छन् र श्वासप्रश्वासमा बाधा पुग्दछ । केही भाइरसका प्रजातिहरूले कडा खालको निमोनिया गराउँछन् ।
एन्टिबायोटिकको व्यापक विकासका कारण निमोनियाको मृत्युदर ह्वात्तै घटेपनि यसले व्यक्तिलाई खतरनाक अवस्थासम्म पुर्याउँदछ । ७० वर्ष नाघेका व्यक्तिहरूमा अझै पनि निमोनिया मृत्युको प्रमुख कारणहरू मानिएको छ ।

निमोनियाका जीवाणु विश्वको कुनै क्षेत्र विशेषमा मात्र पाइन्छ भन्ने छैन । एचआईभी र एड्सबाट संक्रमित व्यक्तिहरूमा व्याक्टेरियाले गर्दा लाग्ने निमोनिया चाँडै र धेरै लाग्दछ । त्यसैले एड्स धेरै हुने केही अफ्रिकन महादेशका देशहरूमा न्युमोनियाका बिरामीहरूको संख्या अत्यधिक रहेको छ । निमोनिया भएका बिरामीहरू एक दुई दिनमै सिकिस्त हुन्छन्, गल्छन्, खोकी लागिरहने हुनाले थकित पनि हुन्छन् ।

व्याक्टेरिया र भाइरबाहेक अरू कारणले पनि निमोनिया हुनसक्दछ । कुनै अरू अर्को रोगको कारण अस्पताल भर्ना भएका बिरामीहरूमा पनि निमोनिया देखिन सक्छ । अस्पतालमा भएका जीवाणुका कारण निमोनिया हुने भएकोले यसलाई रोक्न त्यत्ति सजिलो छैन । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू जस्तै, मधुमेहका बिरामी, एचआइभी एड्स संक्रमितहरु, अंग प्रत्यारोपण गरिएका, क्यान्सरका बिरामी र स्टेरोइड औषधि सेवन गरिरहेका बिरामी आदिमा निमोनिया चाँडै लाग्दछ । त्यस्तै धुम्रमान र मदिरा अत्यधिक सेवनले पनि निमोनिया हुन सक्दछ ।

मानव शरीरमा एक जोडी फोक्सो हुन्छ । एउटा दाहिने र अर्को देब्रे पट्टी । दाहिने फोक्सो देब्रेभन्दा ठूलो र अलि गहकिलो हुन्छ त्यस्तै दाहिने फोक्सोमा छिर्ने श्वास नली छोटो, ठाडो र फराकिलो हुन्छ । फोक्सोका पनि खण्डहरू हुन्छन् । दाहिनेमा ३ वटा खण्ड हुन्छ भने देब्रेमा २ वटा खण्ड हुन्छ ।

निमोनियाले फोक्सोको कुनै एक खण्ड र एक वा बढी खण्ड पनि खराब हुनसक्छ जसलाई लोवर निमोनिया भनिन्छ । फोक्सोका कुनै खण्डको सँगसँगै श्वास नलीका भागहरू पनि संक्रमित भएमा ब्रोङ्को न्युमोनिया भनिन्छ ।

अझ विशेष गरेर अचेत बिरामी तथा बच्चाहरूमा पेटको खानेकुरा सर्किएर श्वास नली हुँदै फोक्सोसम्म पुग्दछ । पेटको खाने कुरा सँगै ग्यास्ट्रिक एसिड पनि फोक्सोमा पुग्ने हुँदा फोक्सोको कोषहरूमा क्षति पुग्न गई खतरनाक किसिमको निमोनिया हुन सक्दछ । यसलाई एस्पिरेसन निमोनिया भनिन्छ । त्यसैले वान्ता गर्दा वा खानेकुरा खाँदा बोलेमा सर्किन सक्ने भएकोले होशियार हुनु जरूरी छ ।
लक्षण
बिरामीको उमेर, रोग प्रतिरोधात्मक क्षमता र निमोनिया गराउने जीवाणु अनुसार लक्षणहरू फरक फरक हुन्छन् । व्याक्टेरियाले गर्ने निमोनियामध्ये पनि क्युम्रेप्टाकोकस प्रजाति प्रमुख जीवाणु हो र यसले पहिले नै भाइरल इन्फेक्सन भइसकेका व्यक्तिलाई बढी सताउने गर्दछ । यसको इन्फेक्सन हुँदा बिरामीको शरीरको तापक्रम छोटो समयमा नै एक्कासी बढ्छ । कहिलेकाँही यो ३९ दशमलव ५ डिग्री सेन्टिग्रेडसम्म पुग्छ । छाती एकदम दुख्छ र लगातार सुख्खा खोकी लाग्छ । केही घण्टामा नै बिरामी सिकिस्त हुँदै जान्छ । केही दिनपछि खकार (पहेँलो) आउन थाल्छ र पछि खैरो रङको आउन थाल्छ । सँगगँगै बिरामीको शरीरभर डाबर आउन थाल्छ । बिरामीले छिटो—छिटो र छोटो छोटो सास फेर्न थाल्छ ।

फोक्सोका कोषहरू सुन्निएर हावा भरिने क्षेत्रहरू थुनिने हुनाले बिरामीले सास फेर्दा फोक्सो सङ्क्रमित भएकोतिर छाति फुल्दैन । यसरी फोक्सोले पाउनुपर्ने जति अक्सिजन नपाएपछि शरीरमा पनि अक्सिजनको कमी हुन थाल्दछ र त्यसलाई पूर्ति गर्न बिरामीले छोटो—छोटोे सास लिनुपर्ने हुन्छ ।

कारण, रोकथाम र उपचार
खासगरी व्याक्टेरिया, भाइरस तथा बिभिन्न प्रकारका ढुसी र परजीबीका कारण निमोनिया हुने गर्दछ ।
बिरामीको अवस्थाअनुसार उपचार पद्धति फरक फरक हुने भएको कतिलाई अस्पताल भर्ना गर्नुपर्छ भने केहीलाई औषधि दिएर घर पठाउने गरिन्छ । अवस्था सामान्य भएका कतिपयलाई घरमै सामान्य हेरविचार गरेर पनि राख्न सकिन्छ । सास फेर्न कठिनाई नभएमा र खोक्दा खैरो रङको खकार भएमा मास्क लगाउन जरूरी हुन्छ । त्यस्तै मुख र छालाको सरसफाइमा पनि ध्यान दिनुपर्छ । पर्याप्त पानी पिउनुपर्छ, ज्वरो र छातीको दुखाइका लागि चिकिसत्सकको सिफारिसमा औषधि लिनुपर्छ । यसका साथै लक्षणहरू देखिनासाथ अस्पताल जानु बुद्धिमानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्