Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य संस्था छन्, प्रसूतिगृह छैन, हटेन घरमै सुत्केरी हुनुपर्ने बाध्यता



अछाम जिल्लाको कमलबजार नगरपालिका–३ बयालामा रहेको बयला स्वास्थ्य संस्थामा प्रसूतिगृह नहुदा अधिकांश महिलाहरुले घरमै बच्चा जन्माउनु परेको छ । कमलबजार नगरपालिका–३ बयालाकी ३० वर्षीया जमुना बिष्टले तीन सन्तानलाई घरमै जन्म दिनुभयो । उहाँको एक छोरी भारतमा जन्माइन् भने पाँचौ सन्तानलाई उहाँले मङ्गलसेन स्थित जिल्ला अस्पताल पुगेर जन्माउनु प¥यो ।

गाउँको स्वास्थ्य संस्थामा प्रसूति केन्द्र नहुँदा उहाँ जस्तै बयालाका अधिकांश महिलालाई बच्चा जन्माउन कि त तीन चार घण्टा हिँडेर छिमेकी गाउँको स्वास्थ्य चौकी जानुपर्छ नभए ५ देखि ७ हजारमा जीप भाडामा लिएर मङ्गलसेन पुग्नुपर्ने बाध्यता रहेको छ ।

यहाँका महिला प्रसूति हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने कुरामा जानकार छन, तर नजिकै प्रसूतिगृह नहुँदा उनीहरूलाई घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ । बिष्टले भन्नुभयो, “नजिकै स्वास्थ्य संस्थामा प्रसूति सेवा भए त कति सजिलो हुन्थ्यो, सुत्केरी हुन टाढा जानुपर्दा हामीलाई निकै दुःख छ ।” यो समस्या समाधानका लागि कसैले पहल नगरेको उहाँको गुनासो छ ।

सुत्केरी व्यथा लागेर अप्ठ्यारो अवस्था आएको बेलामा मात्रै बयालाका महिला छिमेकी गाउँका स्वास्थ्य संस्था, सदरमुकाम मङ्गलसेन र छिमेकी जिल्ला दैलेखको राकम बजार पुग्ने गरेको स्थानीय महिला स्वास्थ्य स्वयंसेवीका दुर्गा बिकले बताउनु भयो ।

उहाँले भन्नुभयो, “धेरैजसो महिलाले घरमै सुत्केरी हुने गरेका छन, अधिकांशका श्रीमान कामको सिलसिलामा घर वाहिर हुन्छन् घरमा हुँदैनन् । कतिलाई त स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै सुत्केरी हुनुपरेको छ ।” गाउँमा दुई वर्ष अघिदेखि बर्थिङ सेन्टर निर्माणको काम शुरु भए पनि काम सम्पन्न नभएकाले महिलाले दुःख पाउनुपरेको उहाँको भनाइ छ ।

बयाला स्वास्थ्य चौकी इन्चार्ज प्रेम बिष्टले अब लामो समय देखि आफूले कठिन समस्याका बाबजुद पनि सेवा दिइरहेको बताउनु भयो । अब बन्न लागेको भवनले केही राहत हुने उहाँले आशा व्यक्त गर्नु भयो । गाउँमा प्रभावकारी स्वास्थ्य सेवा नहुँदा र बर्थिङ सेन्टर नहुँदा स्थानीय सरोकारवालालाई पनि अप्ठ्यारो महसुस भएको छ । तर निर्माणाधीन अवस्थामा रहेको स्वास्थ्यचौकी भवन दुई वर्ष भइसक्दा समेत निर्माण सकिएको छैन । अब जसरी पनि वडावासीलाई छिटैै नयाँ भवनबाट स्वास्थ्य सेवा दिने गरी काम अगाडि बढाएको वडा नं ३ का कार्यवाहक वडाध्यक्ष हर्क भण्डारीले बताउनुभयो ।

साविक ७५ गाविस रहेको अछाममा अहिले १० स्थानीय तह र ९१ वडा रहेका छन् । तर सुरक्षित प्रसूतिका लागि जिल्लाभर ६५ प्रसूति केन्द्र मात्रै सञ्चालनमा रहेको जिल्ला स्वास्थ्यको तथ्याङ्क छ । भूगोल, जनसङ्ख्या र बिकटताका कारण अझै कतिपय ठाउँमा प्रसूतिगृह नहुँदा सुत्केरी हुने महिला जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक झपटराज ढुङ्गानाको भनाइ छ । नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्