Logo
|
Saturday 20th April 2024
Logo

epaper

एमडिजिपी सञ्चालनको अध्ययन गर्न मेडिकल काउन्सिलको टोली जुम्लामा



  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमडिजिपी कार्यक्रम सञ्चालनको लागि प्रारम्भिक निरक्षण गर्न नेपाल मेडिकल काउन्सिलको टोली जुम्ला पुगेको छ। नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष नारायण बिक्रम थापा नेतृत्वको ७ सदस्यीय टोली जुम्ला पुगेको हो।

टोलीले एमडिजीपी कार्यक्रम सञ्चालनका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको समग्र अवस्थाको जानकारी लिएको छ। रजिष्टार विश्वराज काफ्लेका अनुसार शिक्षकको अवस्था, अस्पतालमा बिरामीको चाप, भौतिक संरचना, उपकरणको अवस्था, प्रतिष्ठानको आफ्नै जग्गा र प्रतिष्ठानले गरेका बार्षिक क्रियाकलापको बारेमा निरिक्षण गरिएको हो।

काउन्सिलको टोली फर्केर गईसकेपछि बोर्ड बैठक बसेर एमडिजीपि कार्यक्रम सञ्चालनका लागि निर्णय गर्ने कर्णाली प्रतिष्ठानले जनाएको छ। टोलीमा नेपाल मेडिकल एसोसियसनका अध्यक्ष मुक्तिराम श्रेष्ठ, मेडिकल काउन्सीलका सदस्य ढुण्डिराज पौडेल, अंकुर शाह, कालसिंह खत्री, शिवजी पौडेल, सुनिल शाह लगायत रहेका छन्।

यो टोली जुम्लामा पुगेपछि प्रतिष्ठानलाई हौसला प्राप्त भएको रजिष्टार काफ्ले बताउँछन्। उनले भने,“यो टोलीले कर्णालीको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा लिएको छ, यहाँको शैक्षिक विकास, कर्णाली प्रदेशभरी गुणस्तरीय विशषज्ञ सेवा प्रदान गरी स्वास्थ्य पर्यटनका माध्यमवाट आर्थिक समृद्धिको यात्रामा अघि बढ्न प्रेरित गर्ने छ। ” एमडिजीपि कार्यक्रम शुरु भएपछि एमबीबीएस कार्यक्रमको लागि बाटो खुल्ने विश्वास गरिएको छ।

नेपाल मेडिकल एसोसियसनका अध्यक्ष मुक्तिराम श्रेष्ठले भौगोलिक विकटता र जनसंख्याको चाप हेर्दा स्वास्थ्य क्षेत्रमा प्रतिष्ठानले निकै राम्रो फड्को मारेको बताए। उनले भने,“भौतिक संरचना राम्रो छ, आवश्यक उपकरण केहि जुटाउनु पर्ने देखिन्छ, चिकित्सकीय मेनपावरमा थोरै अभाव देखियो, समग्रमा कर्णाली प्रतिष्ठानको अवस्था निकै राम्रो पाईयो।” राज्यको लक्ष्य भनेकै पिछडिएको दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा पार्ने भएकाे बताउँदै अध्यक्ष श्रेष्ठले भने,“एमडिजीपि कार्यक्रमका लागि प्रारम्भिक निरिक्षणका लागि आएका र्छौँ, फेरी एक पटक विशेषज्ञ टोली आईसकेपछि कार्यक्रम सञ्चालन हुने नहुने बारेमा टुंगो लाग्छ। एमडिजीपिका लागि ल्याव सेवा, बिरामीको चाप बढेको हुनुपर्छ।” नागरिकन्युज

प्रतिक्रिया दिनुहोस्