Logo
|
Thursday 28th March 2024
Logo

epaper

नुवाकोटमा रेबिजको महामारी, भ्याक्सिन लगाउन प्राविधिक परिचालन



नुवाकोटमा रेबिजको महामारी, भ्याक्सिन लगाउन प्राविधिक परिचालन

 जिल्लाको पूर्वी भेगमा पर्ने दुर्गम ठाउँ बालकुमारीमा रेबिजको महामारी फैलिएको छ। कुकुरका कारण रेबिज फैलिएपछि त्यसविरुद्ध भ्याक्सिन लगाउन प्राविधिक परिचालन गरिएको छ। विदुरदेखि ४० किलोमिटर पूर्वमा रहेको दुप्चेश्वर गाउँपालिका ५ बालकुमारीमा एक सातादेखि रेबिज रोगको महामारी फैलिएको हो।

भुस्याहा कुकुरका कारण फैलिएको रेबिजका कारण एउटा भैंसी र चारवटा कुकुर मरिसकेको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए। उनका अनुसार, रेबिजको महामारी स्थानीयवासीलाई समेत फैलिएका कारण पाँच सय ५० थान भ्याक्सिन लगाउनु पर्ने भएको छ। भ्याक्सिन लगाउन पाँच स्वास्थ्य प्राविधिक परिचालन गरिएको छ।

पहिले कुकुरमा रहेको रेबिजले वासुदेव थापाको भैंसी मरेपछि गरिएको अनुगमनमा चार कुकुर पनि मरेको रहस्य खुलेको हो। कात्तिक २९ गतेदेखि सुरु गरिएको भ्याक्सिन लगाउने काम एक महिनासम्म जारी रहने स्वास्थ्यकर्मीको भनाइ छ। गाउँपालिकाले पशुचौपायाको रेखदेख तथा स्वास्थ्यप्रति ख्याल गर्न किसानलाई आग्रह गरेको छ। रोगलाई महामारीका रूपमा फैलिन नदिन रोग लागेकालाई अन्य स्वास्थ्य पशुचौपायासँग एकै स्थानमा नबाँध्न, छाडा कुकुरलाई घरगोठको छेउमा आउन नदिन र गाउँबाट अन्यत्र पशुचौपाया चरणमा नलैजान भनिएको छ।

रेबिजको प्रकोप रहेका व्यक्ति तथा पशुचौपायालाई पाँच दिनसम्म लगातार भ्याक्सिन लगाउनु पर्ने अध्यक्ष तामाङले बताए। सो गाउँका भुस्याहा कुकुरमा देखा परेको रेबिजबाट हालसम्ममा बालकुमारीको माँझगाउँबस्ती पूरै प्रभावित भएको र अन्य स्थानमा पनि फैलिन सक्ने खतरा देखिएकाले नियन्त्रणको प्रयास जारी रहेको उनले जानकारी दिए। स्रोतःअन्नपुर्णपोष्ट

प्रतिक्रिया दिनुहोस्