Logo
|
Saturday 20th April 2024
Logo

epaper

क्यान्सरपीडित आमालाई उपचारको बहानामा विष



जितपुरसिमरा उपमहानगर १० बेहरा गाउँकी प्रभावती मुखिया सहनी उमेरले ६५ वर्ष कटिइसकेकी थिइन् । एकल महिला भएकाले सामाजिक सुरक्षा भत्ता पाउँथिइन् ।

पति केही वर्षअघि नै बितेका रहेछन् । एकल मात्र होइन, आफ्नो सन्तान पनि थिएन । देवर मोटर मुखिया सहनीले सेवाभाउ गर्थे । सौतेनी छोरा ३५ वर्षीय दुखन सहनीले हेरचाह नगरेपछि देवरले नै हेरचाह गर्थे, खुवाउँथे । केही महिनाअघि खुट्टामा घाउ लागेर प्रभावती क्यान्सर पीडित भइन् । कसैले उपचारमा चासो नदिएकाले उनको घाउ बल्झिँदै गयो । उपचार गराउने कोही भएन ।

उनको नाममा २ कठ्ठा जग्गा थियो । घाउ र क्यान्रसरले पिरोल्न थालेपछि वडा अध्यक्ष सरोज पटेलसहित स्थानीयले त्यही सौतेनी छोरा दुखनलाई औषधि उपचार गर्न दबाब दिए । प्रभावतीको नाममा रहेको जग्गा बिक्री गरी उपचारगर्न सुझाए ।

दबाब र गाउँलेको सुझावले दुखनले जग्गा बेचे । र, त्यही जग्गाको २ लाख ६० हजारसहित आमालाई लिएर घरबाट उपचार गराउन भन्दै कात्तिक २३ मा भरतपुर क्यान्सर अस्पतालतिर निस्के । । तर त्यता गएनन् । दक्षिणपट्टि वीरगन्जको अलौस्थित ससुरालीतिर गए ।

ससुरा ध्रुव सहनीलाई साथमालिए । र, आमालाई लिएर कात्तिक २३ मा दुखन भारततिर लागे । मुजफरपुरको सिमरा रेल्वे स्टेसन नजिकै लगेर आमालाई ससुराको योजनामा मुसा मार्ने औषधि खुवाएर उखु घारीमा कम्बल ओढाएर फाले र घर फिरे । घर फिर्दा किरिया पुत्रीको भेषमा फिरे । गाउँमा सबैले सोध्न थाले– आमा खोई ?

सबैलाई झुक्याउँदै आमाको मृत्यु भयो, उतै दाहसंंस्कार गरेर आएँ, जवाफ फर्काए । गाउँलेले घरमा किन खबर गरिनस् ? उपचार गराएको कागज कहाँ छ ? प्रश्न तेस्र्याए । दुखनले जति भने पनि गाउँलेको मन मानेन । प्रहरीलाई खबर गरे । अन्तिममा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेपछि भारतमा लगेर विष खुवाएर फालेको दुखनले स्विकारे ।

दुखनको बयान सुनेर प्रहरीले उसलाई लिएर भारत घटनास्थलतिर हानिए । फालेको ठाउँमा कम्बल मात्र फेला पर्‍यो । प्रभावती थिइनन् । पत्ता लगाउँदै जाँदा घाँसीले जीवितै फेला पारेर उपचारका लागि मुजफरपुर भर्ना गराएका रहेछन् ।

त्यहाँबाट प्रहरी र प्रभावतीको आफन्तले प्रभावतीलाई बोकेर ल्याए । उनलाई ल्याउँदै गर्दा बाटोमा सिकिस्त भएपछि उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारकै क्रममा बिहीबार मृत्यु भयो । पोस्टमार्टम रिपोर्ट आएको छैन ।

प्रहरीले दुखनलाई हिरासतमा राखी थप अनुसन्धान थालेको छ । ‘नाटकीय शैलीमा आमालाई मार्ने योजना बनाएर भारततिर लगेको रहेछ,’ प्रहरी नायब उपरीक्षक प्रवक्ता रंजित सिंह राठौरले भने, ‘घटनाबारे गहिरो अनुसन्धान भइरहेको छ ।’

उता वडाअध्यक्ष सरोजले दुखनको हाउभाउले विश्वास नभएपछि प्रहरीलाई खबर गरेर अनुुसन्धानका लागि अनुरोध गरिएको बताए । आमालाई उपचार गराउने बहानामा मुसाको औषधी खुवाई उखु घारीमा फालेर आएको भन्ने थाहा पाएपछि गाउँले स्तब्ध भएका छन् ।स्रोतः कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्