न्युट्रास्युटिकल्स मेडिसिन कि फूड ?

बाबुराम अधिकारी, फार्मेसी म्यानेजर, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर || प्रकाशित मिति :2018-11-25 12:21:23

 न्युट्रास्युटिकल्स आफैंमा बृहत् अर्थ बुझाउने शब्द हो जसले खाद्य स्रोतबाट निकालिएको, पोषणयुक्त र स्वास्थ्यमा अतिरिक्त फाइदा पुर्याउने उत्पादन भन्ने बुझिन्छ ।  यो शब्द दुइवटा शब्दहरु न्युट्रेन्ट (पोषणयुक्त खाद्य पदार्थ) र फर्मास्युटिकल्स (औषधियुक्त पदार्थ) मिलेर बनेको छ ।  डा. स्टेफन डिफेलिसले सन् १९८९ मा न्युट्रास्युटिकल्स शब्द प्रयोगमा ल्याएका थिए ।


न्युट्रास्युटिकल्सको प्रयोग पोषणको कमीले गर्दा हुने रोगको रोकथाममा केन्द्रित रहेको पाइन्छ ।
यसै सन्दर्भमा हिप्पोक्रेट्स (आधुनिक चिकित्साको जन्मदाता) ले भनेका थिए—‘लेट फुड बि योर मेडिसिन’ । यसको अर्थ हो—‘खानालाई तपाईंले औषधि सम्झनुपर्दछ ।’
न्युट्रास्युटिकल्स लाई मुख्यतः प्राकृतिक स्रोत, रासायनिक सम्मिश्रण तथा औषधियुक्त गुणको आधारमा निम्नानुसार वर्गिकरण गरेको पाईन्छ ।
१. डायटरी सप्लिमेन्ट
२. फंगसल फूड
३. मेडिस्नल फूड
४. फर्मास्युटिकल्स

केहि समय अघि क्लिनिकल न्युट्रेसन सम्बन्धि ३ दिने तालिम लिने अवसर पाएको थिएँ । सो तालिममा न्युट्रास्युटिकल्सको बारेमा राम्रो जानकारी मिलेको थियो ।
मेरो यो लेख सोही तालिममा आधारित डायटरी सप्लिेमेन्टसँग सम्बन्धित छ ।
डायटरी सप्लिमेन्टहरु कन्भेन्सनल फूडको स्वरुप परिवर्तन गरि बनाइएका नोभेल फूड हुन् जसलाई प्रयोग गर्न सजिलो हुने गरि ट्याब्लेटस्, क्याप्सुल्स, लिक्विड वा पाउडरको स्वरुपमा परिमार्जन गरिएको हुन्छ ।
यस्ता सप्लिमेन्ट्सहरु क्यान्सर, मधुमेह, मुटु तथा रक्तनलीका रोगहरु, मोटोपना, आँखा सम्बन्धि रोगहरु, पार्किन्सन्स र अल्जाइमर्सका रोगीहरूमा लाभदायक हुन्छन् ।
साधारण आहारबाट परिपूर्ति हुन नसकेको अवस्थामा मानिसलाई दैनिक रुपमा स्वस्थ जीवनयापनका लागि चाहिने प्रोटिन्स, ओमेगा थ्री फ्याटी एसिडस्, मिनिरल्स, फाइवर, भिटामिन्स, एन्टिअक्सिडेन्टस् जस्ता मोलिक्युल्स लाई विश्व स्वास्थ्य संगठनले तोकेको रिकमान्डेड डेलि अलाउन्स (आरडीए) को १५५ भन्दा बढी र अपर सेफ लिमिट भन्दा कम हुने गरी यस्ता सप्लिमेन्ट बनाइएको हुन्छ ।
डायटरी सप्लिमेन्टलाई नेपाल सरकारको खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले नियमन गरेको पाईन्छ ।
खाद्य ऐन २०२३ बमोजिम गठित खाद्य स्तर निर्धारण समितिबाट पारित भई नेपाल सरकार कृषि विकास मन्त्रालयबाट स्वीकृत रहेको डायटरी सप्लिेमेन्ट कार्यविधि २०७२ अनुरुप उत्पादन दर्ता तथा बिक्रि अनुमति दिने कार्य गरिँदै आएको छ । साथै नेपाल सरकार भन्सार विभागले अन्तरास्ट्रिय रुपमै मान्य एचएस कोड (२१०६९०९०) मा बर्गिकरण गरी कर महसुल निर्धारण गरिरहेको पनि छ ।
बुझ्नुपर्ने कुरा के छ भने औषधिको स्वरुपमा बनाइए पनि यस्ता सप्लिमेन्टहरु औषधि होइनन् ।  लेवलमा पनि स्पस्ट रुपमा ‘ डायटरी सप्लिमेन्ट नट फर मेडिस्नल युज’ लेखिएको हुन्छ । त्यसैले यस्ता सप्लिमेन्टहरु रोग निको पार्न, कम गर्न वा रोगको पहिचानका लागि होइनन् भन्ने कुरा स्पस्ट छ ।
औषधि नभए तापनि आवश्यक जानकारी विना प्रयोग गर्नु हुँदैन । अतः निम्न प्रश्नको जवाफ पाउनु भयो भने मात्र डायटरी सप्लिमेन्टको प्रयोग गर्नु बुद्धिमानी हुनेछ ।
—स्वास्थ्यमा हुनसक्ने सम्भावित फाईदाहरु के के हुन् ?
—कुनै खतराजन्य सूचकहरु वा नराम्रा प्रतिअसरहरु छन् कि ?
—सेवन गर्ने उपयुक्त मात्रा (डोज) कति हो?
—कसरी, कतिबेला र कहिले सम्म सेवन गर्नुपर्छ ?

प्रायजसो प्रेस्किप्सनमा कुनै न कुनै न्युट्रास्युटिकल्स÷डायटरी सप्लिमेन्ट प्रेस्क्राइब गरिएको पाईन्छ । साथै बजारमा विभिन्न थरिका न्युट्रास्युटिकल्स उपलब्ध छन् जसले प्रेस्क्राइब गरिएका अन्य औषधिसँग अन्तरक्रिया गर्न सक्ने सम्भावना रहेकाले माथि उल्लेखित कुराहरुमा ध्यान पुर्याउनु अति आवश्यक छ ।
विकसित मुलुकहरुमा डायटरी सप्लिमेन्ट स्वेच्छाले किनेर खाने प्रचलन छ तर हाम्रो मुलुकमा यस्तो सचेतना आउन अझै धेरै बर्ष लाग्नेछ । चिकित्सक वा पोषण विज्ञले सिफारिस गरे अनुसार फमासिष्टको आवश्यक परामर्श सहित डायटरी सप्लिमेन्टको सुलभ रुपमा उपलब्धतालाई निरुत्साहित होइन प्रोत्साहित गर्नु आजको आवश्यकता हो ।
सम्बन्धित निकायले हाल बजारमा उपलब्ध डायटरी सप्लिमेन्टहरुको मूल्य र गुणस्तरको नियन्त्रण गर्न भने अत्यन्त जरुरी छ ।

    Comment Here!