Logo
|
Friday 19th April 2024
Logo

epaper

कान्ति अस्पतालमा बिरामीको आकर्षण, डाक्टरको विकर्षण



बच्चा बिरामी भएर कहाँ लाने ? अधिकांशको रोजाइ हुन्छ, कान्ति बाल अस्पताल । ४७ वर्ष पुरानो यो अस्पताल बालबालिकाको उपचारका लागि निरन्तर पहिलो रोजाइमा छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामीको कान्तिमा आकर्षण छ । कारण हो, बच्चाको उपचार गर्ने विशेषज्ञ चिकित्सक उपलब्ध हुनु ।

तर, कान्तिमा बिरामीको आकर्षण जति छ, त्योभन्दा बढी चिकित्सकको विकर्षण छ । अस्पताल निर्देशक डा. गणेश राई चिकित्सक टिकाउन नसकेको गुनासो गर्छन् ।

किन टिक्दैनन् चिकित्सक ?
कान्ति बाल अस्पतालमा अन्यत्रभन्दा सुविधा कम भएका कारण चिकित्सकको रोजाइमा नपरेको हो । चिकित्सक र नर्सका लागि यहाँ तलब स्केलभन्दा अन्य सुविधा छैन । जब कि अन्य अस्पतालहरूमा राम्रो तलबसहित भत्ता पनि छ ।

कान्तिमा नर्सले २४ हजार तलबबाहेक थप सुविधा पाउँदैनन् । तर, आडैको त्रिवि शिक्षण अस्पतालमा नर्सको तलब मात्रै ४१ हजार छ । गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका नर्सले ५० हजार तलब बुझ्छन् । वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले तलबबाहेक ५० प्रतिशत भत्ता पाउँछन् ।

धमाधम सेवा छाड्दै
पछिल्लो एक महिनामा मात्रै तीन विशेषज्ञ चिकित्सकले कान्तिबाट राजीनामा दिएका छन् । एकजना अध्ययन बिदामा छन् । डा. कमलराज शर्मा, आरपी चौधरी र डा. रेणु प्रसाईंले राजीनामा दिएका हुन् । उनीहरूको राजीनामासँगै कान्तिमा विशेषज्ञ चिकित्सकको अभाव खड्किएको छ ।

कान्तिमा बच्चाको उपचारका लागि हाल ११औँ तहका ६ जना विशेषज्ञ चिकित्सक रहेको निर्देशक राई बताउँछन् । ९ र १०औँ तहका १० जना छन् । चारजना सर्जन छन् ।

सातजना मेडिकल अफिसरको दरबन्दी भए पनि खाली छ । प्याथोलोजी, रेडियोलोजी, आँखा र अर्थोको दरबन्दी पनि खाली नै छ ।

फकाएर टिकाउनुपरेको छ 
डा. गणेश राई, निर्देशक, कान्ति बाल अस्पताल
बच्चाका विशेष डाक्टर मात्रै कान्तिमा अडेका छन् । अरू डाक्टरले रुचाउँदैनन् । मेडिकल अफिसर यहाँ बस्नै चाहँदैनन् । भएका डाक्टरलाई फकाएर काम लगाउनुपर्ने अवस्था छ । ठूलो स्वर गरे भोलिपल्टै राजीनामा दिएर जान्छन् । अन्य अस्पतालको तुलनामा सेवा–सुविधा कम हुँदा चिकित्सकको विकर्षण भएको हो । यहाँ तलब स्केलबाहेक अरू सुविधा छैन । सरकारले पनि प्रोत्साहनका लागि कुनै चासो दिएको छैन । स्रोतः नयाँपत्रिका

प्रतिक्रिया दिनुहोस्