Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्वास्थ्य परीक्षण शिविरमा २४० जनाले सेवा लिए



 पाल्पाको माथागढी गाउँपालिका– ५ को हात्तिलुङमा सञ्चालन भएको स्वास्थ्य परीक्षण शिविरमा यहाँका २४० जना नागरिकले सेवा लिएका छन् । शिविरमा १४५ महिला, ७८ पुरुष र १७ बालबालिकाले सेवा लिएका हुन् ।

शिविरमा क्याप्टेन डा विजयप्रकाश श्रीवास्तव र डा झपिन्द्र ढकालसहितको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिनुभएको हो । नेपाली सेना गोरखदल गण पाल्पाले गाउँपालिकाको व्यवस्थापन र समन्वयमा सैनिक नागरिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले शिविर आयोजना गरेको हो ।

शिविरमा मुटु, मधुमेह, पेटसम्बन्धी उपचार गरिनुका साथै निःशुल्क औषधिसुमेत वितरण गरिएको छ । ग्रामीण क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको पालिका अध्यक्ष सन्तोष थापामगरले बताउनुभयो । स्थानीयस्तरमै स्वास्थ्य परीक्षण गराउन पाउँदा यहाँका नागरिक खुशी भएका छन् ।

सिटी क्लिनिक सेवा सञ्चालन

यसैबीच कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुरले सिटी क्लिनिक सेवा सञ्चालन गरेको छ । केन्द्रले कर्मचारी, विद्यार्थी, शिक्षकलाई कार्यालय समयबाहेक आँखा उपचार सेवा उपलब्ध गराउन बेझाड बजारबाट बिहान साँझ सिटी क्लिनिक सेवा सञ्चालन गरेको केन्द्रका अध्यक्ष हुतराज पोखरेले बताउनुभयो ।

रामपुर नगरपालिका– ७ किसानबारीमा रहेको आफ्नै भवनबाट सेवा दिएको केन्द्रले यसै वर्षदेखि सिटी क्लिनिक सेवा शुरु गरेको हो । सिटी क्लिनिक सेवाप्रति अहिले सेवाग्राहीको आकर्षण बढ्दो छ । केन्द्रले बेझाड बजारदेखि शुरु गरेको क्लिनिक सेवाले कर्मचारीलाई ठूलो सहयोग मिलेको सेवाग्राही सुमित्रा रेग्मी बताउनुहुन्छ ।

क्लिनिक सेवाबाट दैनिक १० बढी बिरामीले आँखा जाँच तथा उपचार सेवा लिएको प्राविधिक अजयकुमार पाल बताउनुहुन्छ । यहाँ पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीलगायतका क्षेत्रका स्थानीयवासीले सेवा लिँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्