Logo
|
Friday 19th April 2024
Logo

epaper

घुम्ती शिविरमा चार सयले पाए सेवा



 

 

 रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा घुम्ती शिविरबाट ४४० जनालाई नेपाली नागरिकता प्रदान गरिएको छ । यहाँको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ का सेवाग्राहीले गाउँमै सेवा पाएका हुन् ।

शिविरमा २६७ महिला र १७३ पुरुषलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । एक दिनका लागि तय गरिएको शिविरमा सेवाग्राहीको चाप बढेपछि दुई दिनसम्म शिविर सञ्चालन गरेर यहाँका सेवाग्राहीलाई नागरिकता वितरण गरिएको बताइएको छ । नागरिकता लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या बढी रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार शिविरमा सेवाग्राहीको बाक्लो भीड लागेपछि एक दिन थप गरेर बिहीबार बेलुकीसम्म सेवा प्रदान गरिएको बताइएको छ । शिविरको पहिलो दिन २३३ र दोस्रो दिन २०७ जनाले नागरिकता प्राप्त गरेको प्रजिअ रेग्मीको भनाइ छ ।

शिविरमा कम्प्युटरबाट सेवाग्राहीलाई नेपाली नागरिकता प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । दुई दिने शिविरमा सबैभन्दा ज्येष्ठ ७२ वर्षीया तुलसा खत्री भण्डारीले नागरिकता प्राप्त गर्नुभयो । स्थानीयस्तरमै सेवा पाउनुपर्ने जनताको अपेक्षा र गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयले चौरजहारीमा शिविर सञ्चालन गरेको हो ।
नेपाली नागरिकता वितरणसँगै शिविरमा जिल्ला निर्वाचन कार्यालयले समेत चारसय बढी मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक गरेको छ । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले २७ नयाँ व्यवसाय दर्ता र १७ पुराना व्यवसाय नवीकरण गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्