Logo
|
Thursday 25th April 2024
Logo

epaper

अंग प्रत्यारोपणका लागि भारतीय पनि नेपाल आउन थाले



मृत्युपछि जलाएर या गाडेर पार्थिव शरीरको अन्त्येष्टि गरिन्छ । बाँचुन्जेल शरीरलाई सक्रिय राख्ने महत्वपूर्ण अंग पनि नष्ट हुन्छन् । तर, कुनै अंग बिग्रिएर जिउँदै मरेतुल्य बन्नुपरेकाहरूलाई मृत्युपछि नष्ट गरिने व्यक्तिका अंग उपयोगी हुन्छ भन्ने कमैलाई हेक्का हुन्छ । जस्तै : मृत्यु भइसकेका व्यक्तिका आँखाको नानी निकालेर आँखाको ज्योति गुमाएकाहरूमा प्रत्यारोपण गर्न सकिन्छ । अँध्यारो जीवन बाँचिरहेका व्यक्तिले मरेर जानेले दिएको आँखा फेरेर उज्यालो यात्रा सुरु गर्न सक्छन् । आँखा, मिर्गौला, कलेजो, छाला, बोनम्यारोको प्रत्यारोपण नेपालमै सम्भव छ । देशका केही चर्चित व्यक्तिले मरणोपरान्त अंगदान गरिसकेका छन् । दान गर्नेहरूको संख्या बढ्दै छ । अंगदाताहरूको सन्देशले सर्वसाधारणमा सकारात्मक सञ्चार गरिरहेको छ । 

यी अंग मिल्छ दान गर्न
मृत शरीरबाट छाला, आँखा, मिर्गौला, फोक्सो, प्याङक्रियाज, मुटु, कलेजो र सानो आन्द्रा दान गर्न सकिन्छ । त्यस्तै, जीवित मानिसबाट बोनम्यारो प्रत्यारोपण गर्न सकिन्छ । तर मिर्गौला, प्याङक्रियाज, फोक्सो, कलेजो र सानो आन्द्रा भने ब्रेनडेथ भएकाहरूबाट मात्र प्रत्यारोपण गर्न सकिन्छ ।

कसरी गर्ने अंगदान ?
अंगदान गर्न चाहने व्यक्तिले जिउँदो छँदै सम्बन्धित अस्पतालमा गएर मञ्जुरीमाना दिनुपर्छ । उनीहरूले दान दिन चाहेको अंग तोक्छन् । मृत्युपछि परिवारको अनुमति लिएर चिकित्सकले उक्त अंग निकाल्छन् र अन्य व्यक्तिमा प्रत्यारोपण गर्छन् । आँखाको नानी दान गर्न तिलगंगा आँखा अस्पतालमा फर्म भर्न सकिन्छ । अन्य अंग दानका लागि धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएर फर्म भर्नुपर्छ । केन्द्रको वेबसाइटमा अनलाइनबाटै फर्म भरेर पनि अंगदान गर्न सकिने निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

दान गरिएका अंग कतिखेर निकाल्ने ?
मुटु, मिर्गौला, प्याङक्रियाज, कलेजो, फोक्सो, सानो आन्द्रा ब्रेनडेथकै समयमै निकाल्नुपर्छ । निकालेको २४ घन्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ । छाला र आँखाको नानी भने प्राकृतिक मृत्युपछि पनि निकालेर अरूमा प्रत्यारोपण गर्न सकिन्छ । आँखा भने मृत्यु भएको ८ घन्टाभित्र निकालेर सुरक्षित गर्नुपर्छ ।

जटिल केसको पनि प्रत्यारोपण
मिर्गौला प्रत्यारोपण सुरु गरेको छोटै समयमा जटिलखाले बिरामीमा पनि प्रत्यारोपण सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका अनुसार एचआइभी र हेपाटाइटिस लागेका तथा रक्त समूह नमिल्ने बिरामीमा पनि सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । ‘विशेष प्रविधि अपनाएर हामीले ब्लड ग्रुप नमिल्ने ११ जनाको सफल प्रत्यारोपण गरिसकेका छौँ,’ शिक्षण अस्पताल नेफ्रोलोजी विभागका प्रमुख प्राध्यापक डा. दिव्यासिंह शाहले भनिन् ।

बर्सेनि हजारभन्दा बढीको ब्रेनडेथ, तर परिवारले गर्दैनन् अंगदान

गत वर्ष मात्र नेपालमा दुई हजारभन्दा बढीले सडक दुर्घटनामा ज्यान गुमाए । यीमध्ये एक हजारभन्दा बढीको ब्रेनडेथपछि मृत्यु भएको डा. पुकारचन्द्र श्रेष्ठले बताए । तर, उनीहरूका परिवारले अंगदान गर्न मानेनन् । ‘केही क्षणपछि जलेर खरानी हुने, माटोमा कुहिने अंगदान गरे अर्काको ज्यान बच्छ । एकजनाबाट आठजनासम्मको ज्यान बच्न सक्छ,’ श्रेष्ठले भने ।

उपत्यकाबाहिर पनि सफल प्रत्यारोपण
उपत्यकाबाहिर भरतपुर मेडिकल कलेजमा १२ वैशाख ०७२ मा २ जनामा मिर्गौला सफल प्रत्यारोपण भयो । तर, भूकम्पपछि निरन्तरता पाउन सकेको छैन ।

कुन अंग कतिवेला निकाल्नुपर्छ ?
मुटु, मिर्गौला, प्याङक्रियाज, कलेजो, फोक्सो, सानो आन्द्रा ब्रेनडेथकै समयमै निकाल्नुपर्छ । निकालेको २४ घन्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ । जति छिटो ग-यो त्यति सफल र राम्रो हुन्छ । प्राकृतिक मृत्यु भएकाहरूको भने यी अंग काम लाग्दैनन् । श्वास चल्न बन्द भएको, प्रेसर नभएको र दिमागसहित अन्य अंगले काम गर्न छाडेपछि यी अंग प्रत्यारोपण गर्न मिल्दैन । ‘दिमागले मात्रै काम गर्न छाडेको छ, तर अन्य अंग चलिरहेको अवस्थामा मात्रै यस्ता अंग प्रत्यारोपण सम्भव हुन्छ,’ नेफ्रोलोजिस्ट डा. ऋषिकुमार काफ्लेले भने ।

छाला र आँखाको नानी भने प्राकृतिक मृत्युपछि पनि निकालेर अरूमा प्रत्यारोपण गर्न सकिन्छ । तर, मृत्यु भएको ६ घन्टाभित्र छाला निकालेर स्किन बैंकमा सुरक्षित राख्नुपर्छ । आँखा भने मृत्यु भएको ८ घन्टाभित्र निकालेर सुरक्षित गर्नुपर्छ । प्रत्यारोपण भने पछिसम्म पनि गर्न सकिन्छ ।

मरणोपरान्त अंग निकाल्न ७५ हजारको स्वीकृति
मरणोपरान्त आफ्ना अंग निकाल्न करिब ७५ हजार नेपालीले स्वीकृत दिएको मोटामोटी तथ्यांक छ । सबैभन्दा धेरै आँखादान गर्नेहरू छन् । ७० हजारभन्दा बढीले मृत्युपछि आँखा झिक्न अनुमति दिएको तिलगंगा आँखा अस्पतालले जनाएको छ । मिर्गौला, कलेजो, छाला, बोनम्यारो, फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रालगायत अन्य अंगदान गर्नेको संख्या करिब दुई हजार पाँच सय छ । नेपालमा अंगदानको अभियान चलेको १० वर्ष मात्रै भएको छ । जनचेताना अभावमा सुरुमा निकै कमले अंगदान गरेको भए पनि क्रमशः संख्या बढ्दै गएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकार श्रेष्ठले बताए ।

मिर्गौला र कलेजो प्रत्यारोपणमा अन्तर्राष्ट्रियस्तरकै प्रविधि छ

डा. पुकारचन्द्र श्रेष्ठ निर्देशक, राष्ट्रिय प्रत्यारोपण केन्द्र

मिर्गौला तथा कलेजो प्रत्यारोपणमा हामीकहाँ प्रयोग भइरहेका प्रविधि अन्तर्राष्ट्रियस्तरकै छन् । विकसित देशमा जुन प्रविधि छ, हाम्रोमा त्यही छ । नतिजा पनि अन्तर्राष्ट्रियस्तरकै आएको छ । सक्सेस रेट पनि अरूको भन्दा कम छैन ।

अंगदानसँगै प्रत्यारोपण पनि बढ्दै
अंगदानसँगै प्रत्यारोपण पनि बढ्दै गएको छ । केही वर्षअघिसम्म अंग प्रत्यारोपणका लागि भारत तथा तेस्रो मुलुक जानुपर्ने बाध्यता क्रमशः कम हुँदै छ । नेपालमै आँखाको नानी, मिर्गौला, कलेजो, बोनम्यारो र छालाको सफल प्रत्यारोपण भइरहेको छ । यसले नेपालीको उपचार खर्च पनि घटाएको छ । नेपाली पैसा नेपालभित्रै परिचालन पनि भएको छ ।

१५ हजारमा आँखाको नानी प्रत्यारोपण
तिलगंगा आँखा अस्पताल (तिलगंगा इन्स्टिच्युट अफ अपथाल्मोलोजी)ले २५ वर्षदेखि आँखाको नानी प्रत्यारोपण गर्दै आएको छ । यस अवधिमा १५ हजारभन्दा धेरैको अँध्यारो संसार बदलिएको छ । अस्पतालले सामान्य प्रोसेसिङ शुल्क मात्रै लिएर निःशुल्क प्रत्यारोपण गरेको अस्पतालकी वरिष्ठ जनसम्पर्क अधिकृत सोनु केसीले बताइन् । प्रोसेसिङ शुल्क तिर्न नसक्नेलाई भने सो सेवा पनि निःशुल्क छ । प्रत्यारोपण गरिएका सबै आँखाका नानी मृत्यु भएका व्यक्तिको शरीरबाट निकालिएका हुन् । अस्पतालले यसबाहेक लाखौँको मोतियाबिन्दु, जलबिन्दुलगायत आ“खाको उपचार गर्दै आएको छ ।

अस्पतालले आँखाको नानी संकलन गर्न वीर, त्रिवि शिक्षण, गंगालाल र पाटन अस्पतालसँगै पशुपति आर्यघाटमा आफ्ना ग्रिफ काउन्सेलर खटाउने गरेको छ । उनीहरू अस्पताल र आर्यघाटमा गएर मृत्युको कारण बुझ्छन् । सरुवा रोग वा दीर्घ रोग भए–नभएको यकिन गर्छन् । अंग काम लाग्ने अवस्थाको भए मृतकका आफन्तलाई आँखादानको महत्वबारे परामर्श दिन्छन् । खेर जाने आँखादानले अरू दुईजनाले नयाँ जीवन पाउने यथार्थ बताउँछन् । आफन्तको मृत्युको शोकमा डुबेकाहरू कोही रिसाउँछन् । कतिले थप पीडा थपेको भन्दै लखेट्छन् । तर, गहिराइमा पुगेर बुझ्नेहरू आँखाको नानी दान गर्न सहमत हुन्छन् । यसरी संकलन गरिएका नानी आँखाको ज्योति गुमेकाहरूमा प्रत्यारोपण गरिन्छ । केसीका अनुसार विराटनगर, हेटौँडालगायत आँखा अस्पतालबाट पनि आँखाको नानी संकलन भइरहेको छ ।

एक हजार दुई सयमा मिर्गौला प्रत्यारोपण
सन् २००८ अगस्ट (०६५ साउन)मा त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण भयो । त्यसको केही महिनामै वीरले पनि सुरु ग-यो । त्यतिखेर अस्पतालबाट मिर्गौला प्रत्यारोपणबारे बेलायत पढ्न गएका चिकित्सक डा. पुकार श्रेष्ठ फर्किसकेका थिए । पहिलो प्रत्यारोपणमा भारतका डा. सन्दीप गुलरियालाई पनि बोलाइएको थियो ।

भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भएपछि त्यहाँ पनि प्रत्यारोपण सुरु गरियो । त्रिवि शिक्षण अस्पतालका अनुसार अहिलेसम्म पाँच सय ५० जनामा मिर्गौलाको सफल प्रत्यारोपण भइसकेको छ । यहाँ एचआइभी र हेपाटाइटिस लागेका तथा रक्त समूह नमिल्ने बिरामीमा पनि सफल प्रत्यारोपण गरिएको छ । रक्त समूह नमिल्ने ११ जनाको सफल प्रत्यारोपण गरिएको नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा. दिव्या सिंहले बताइन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ६ सय ३० जनामा प्रत्यारोपण गरिसकेको प्रमुख डा. पुकार श्रेष्ठले बताए ।

त्यस्तै, वीरले एक सय ३० भन्दा बढीमा सफल प्रत्यारोपण गरिसकेको छ । निजी अस्पतालमा ग्रान्डीले पनि मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गरिरहेको छ । डा. श्रेष्ठले प्रत्यारोपण गरिएका मिर्गौलामध्ये चारजनामा मात्रै ब्रेनडेथ भएका व्यक्तिबाट निकालिएको र अरू बिरामीकै आफन्तको भएको बताए । ब्रेनडेथ भएका या जीवित व्यक्तिको मिर्गौला मात्रै प्रत्यारोपण गर्न सकिन्छ ।

३० जनामा बोनम्यारो प्रत्यारोपण
मीनभवनस्थित निजामती अस्पताल बोनम्यारो प्रत्यारोपण गर्ने देशकै एक मात्र अस्पताल हो । अस्पतालले अहिलेसम्म ३० भन्दा बढीमा प्रत्यारोपण गरिसकेको निर्देशक डा. दीर्घराज आरसीले बताए ।

बानेम्यारो क्यान्सर भएका, शरीरले रगत उत्पादन गर्न नसक्ने समस्या भएका र रक्त क्यान्सर भएका बिरामीमा प्रत्यारोपण गरिन्छ । यो पनि ब्रेनडेथ भएका र जीवित व्यक्तिबाट अरूमा प्रत्यारोपण गर्न सकिन्छ । अस्पतालले ४ लाखदेखि १२ लाखसम्ममा बोनम्यारो प्रत्यारोपण गर्ने गरेको उनले बताए । जब कि, पहिले भारत गएर दोब्बर खर्चमा सेवा लिनुपर्ने अवस्था थियो । ‘अटोजेनिक र एलोजेनिक भन्ने हुन्छ, केसअनुसार शुल्क फरक पर्छ,’ निर्देशक आरसीले भने । कुल जनसंख्याको १ प्रतिशतमा यस्तो समस्या हुन्छ । यस आधारमा नेपालमा एक लाखभन्दा बढी यस्ता बिरामी हुन सक्ने उनले बताए ।

छालादान गर्ने १४ जना
सन् २०१४ मा कीर्तिपुर अस्पतालले छाला बैंक स्थापना गरेपछि हालसम्म १४ जनाले छालादान गरेका छन् । छाला दानको मञ्जुरी दिने धेरै भए पनि अहिलेसम्म १४ जनाको छाला प्राप्त भएको अस्पतालले जनाएको छ । व्यक्ति दान दिन तयार भए पनि उसको मृत्युपछि परिवारले निकाल्न नदिने गरेको चिकित्सक बताउँछन् । एक मृतकको शरीरबाट निकालिएको छालाले आगोमा जलेका कम्तीमा दुई बिरामीको ज्यान बनाउन सकिन्छ ।

३ जनामा कलेजो प्रत्यारोपण
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म ३ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रका प्रमुख डा. पुकार श्रेष्ठका अनुसार थप कलेजोका बिरामीमा पनि प्रत्यारोपणको तयारी भइरहेको छ ।

कसरी गर्ने अंगदान ?
अंगदान गर्न चाहने व्यक्तिले जिउँदो छँदै सम्बन्धित अस्पतालमा गएर मञ्जुरीमाना दिन सक्छन् । उनीहरूले दान दिन चाहेको अंग तोक्न सक्छन् । मृत्युपछि परिवारको अनुमति लिएर चिकित्सकले निकाल्छन् र उक्त अंग अन्य व्यक्तिमा प्रत्यारोपण गरिन्छ । आँखाको नानी दान गर्न तिलगंगा आँखा अस्पतालमा फाराम भर्न सकिन्छ । अन्य अंग दानका लागि धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएर फाराम भर्नुपर्छ । केन्द्रको वेबसाइटमा अनलाइनबाटै फाराम भरेर पनि अंगदान गर्न सकिने प्रमुख डा. श्रेष्ठले बताए ।

मिर्गौला दानको नियम
पहिले परिवारका आमाबुबा, छोराछोरी, दाइभाइ, दिदीबहिनीले मात्र एक–अर्कामा मिर्गौला दान गर्न मिल्ने व्यवस्था थियो । अरूले चाहेर पनि दान दिन सक्दैनथे । बुहारीलाई सासू–ससुराले दिन मिल्ने, तर बुहारीको लिन नमिल्ने कानुनी अड्चन थियो । यो नियमले मिर्गौला रोगीहरू प्रत्यारोपणका लागि भारत जाने गर्थे । तर, ०७२ मा ऐन संशोधनसँगै नाता पर्ने जो कसैले पनि मिर्गौला दान गर्न सक्ने भएका छन् । अब बुहारीले मात्र होइन भान्जा–भान्जी, साला–साली जो–सुकैले पनि आफ्नो नातेदारलाई अंग दिन सक्छन् ।

छाला र आँखाको नानीजस्तो सबै मानिसको सबै अंग एक–अर्कालाई नमिल्न सक्छ । मिर्गौला फेल भएका बिरामीलाई परिवारका सदस्यले मिर्गौला दिन चाहे पनि नमिल्न सक्छ । यस्ता परिवारले मिर्गौला फेल भएका अन्य व्यक्तिलाई आफ्नो मिर्गौला दिएर उनीहरूबाट आफ्नो बिरामीका लागि लिन सक्छन् । बिरामीका आफन्तको मिर्गौला साटासाट गर्ने कार्यक्रमलाई पियर एक्सचेन्ज भनिन्छ । राष्ट्रिय प्रत्यारोपण केन्दबाट हालसम्म १८ जोडीले मिर्गौला साटासाट गरिसकेको प्रमुख श्रेष्ठले बताए ।

पहिले नेपाली भारत धाउँथे, अहिले भारतीय आउँछन्
पहिले नेपालमा अंग प्रत्यारोपणको सुविधा नभएकाले नेपाली भारत जाने गर्थे । महँगो शुल्क खर्च गर्नुपथ्र्यो । तर, अहिले केही महत्वपूर्ण अंग स्वदेशमै प्रत्यारोपण भएपछि राहत मिलेको छ । बरु, भारतमा भन्दा नेपालमा प्रत्यारोपण सस्तो हुँदा भारतीय बिरामी पनि यतै आउन थालेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट हालसम्म २० जना भारतीयले अंग प्रत्यारोपण गरेका छन् ।

बर्सेनि एक हजारभन्दा  बढीको ब्रेनडेथ, तर परिवारले गर्दैनन् अंगदान
नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या अत्यधिक छ । गत वर्ष मात्र दुई हजारभन्दा बढीले सडक दुर्घटनामा ज्यान गुमाए । यीमध्ये एक हजारभन्दा बढीको ब्रेनडेथपछि मृत्यु भएको डा. पुकारचन्द्र श्रेष्ठले बताए । तर, उनीहरूका परिवारले अंगदान गर्न मानेनन् ।

‘केही क्षणपछि जलेर खरानी हुने, माटोमा कुहिने अंगदान गरे अर्काको ज्यान बच्छ । एकजनाबाट आठजनासम्मको ज्यान बच्न सक्छ,’ श्रेष्ठले भने ।

युरोप र अमेरिकाजस्ता विकसित देशमा प्रत्यारोपण गर्ने अंग धेरैजसो ब्रेनडेथ भएकाबाट लिइने गरेको उनले बताए । तर, नेपालमा पछिल्लो दुई वर्षमा १९ जनाको ब्रेनडेथ भएका व्यक्तिबारे जानकारी आएकोमा दुईजनाको मात्रै मिर्गौला निकालियो । विभिन्न अस्पतालमा मृत्यु भएका १५ जनाको परिवारले अंगदान गर्न नै अस्वीकार गरेको डा. श्रेष्ठले बताए । दुईजनाको लिन नमिल्ने खालको रहेको र दुईको मात्रै निकालिएको उनले बताए । ती दुईजनाको मिर्गौला चारजनामा प्रत्यारोपण गरिएको थियो ।

ब्रेनडेथ भएकाहरूको अंग प्रत्यारोपण गर्न सुरुमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नाम टिपाउनुपर्छ । आवश्यक जाँच सकिएपछि सबैभन्दा बढी पहिला नाम लेखाउनेलाई प्राथमिकता दिएर प्रत्यारोपण गर्ने गरिएको केन्द्रले जनाएको छ ।

मिर्गौला  प्रत्यारोपणका लागि त्यो क्रान्ति

त्रिवि शिक्षण अस्पतालमा नेफ्रोलोजी विभाग गठनपछि मलाई हेर्न भनियो । जिम्मा लिने निर्णयमा पुग्न मलाई धेरै दिन लाग्यो । जनशक्ति पनि थिएन, साधन र स्रोत पनि अभाव थियो । जापान सरकारले दिएको दुईवटा सेकेन्डह्यान्ड डायलासिस मेसिन थिए ।

डायलासिस सेवा वीर र शिक्षण अस्पतालमा मात्र थियो । मिर्गौला फेल भएका बिरामीको निकै भिड हुन्थ्यो । पालो नपाएर बिजोग पर्थे । खर्च पनि दैनिक ५ हजार लाग्थ्यो । १५–१६ वर्षअघि त्यो रकम धेरै थियो । सरकारले कुनै सहयोग गर्दैनथ्यो । प्रत्यारोपण नेपालमा हुँदैनथ्यो । हुनेखानेहरू भारत तथा तेस्रो मुलुक गएर प्रत्यारोपण गर्थे । गरिबहरू भएभरको सम्पत्ति सकाएर पनि मर्न बाध्य हुन्थे ।

एक दिन एकजना आमा मिर्गौला फेल भएको आफ्नो जवान छोरा लिएर आउनुभयो । मैले प्रत्यारोपणका लागि भारत जान आग्रह गरेँ । उहाँले सन्तानको नाममा त्यही एक्लो छोरो भएको सुनाउनुभयो । भारत कहिल्यै नगएको र थाहा नभएको बताउनुभयो । लगिदिने आफन्त पनि नभएको दुखेसो पोख्नुभयो । त्यो घटनाले मेरो मन बढी पोल्यो । नेपालमै प्रत्यारोपणको पहल गर्नुपर्छ भन्ने लाग्यो ।

तर, वीरमा गरिएको मिर्गौला प्रत्यारोपणको प्रयास असफल भइसकेको थियो । हामीसँग कुनै ज्ञान थिएन । मैले योजनाबद्ध रूपमा काम अगाडि बढाउनुपर्ने थियो । सुरुमा आफूमा ज्ञान भर्नुपर्छ भन्ने लाग्यो । टिमवर्कमा मात्रै यो काम सफल हुने भएकाले सर्जन र नर्सलाई विशेष तालिम आवश्यकता थियो । ल्याबका मान्छेलाई सक्षम बनाउनुपर्ने थियो । आवश्यक औषधि र विभिन्न परीक्षण देशभित्रै सम्भव तुल्याउनु थियो ।

तालिमका लागि अमेरिका, अस्ट्रेलिया, क्यानडा वा इंग्ल्यान्ड जानुपथ्र्यो । मैले छात्रवृत्तिका लागि अस्ट्रेलिया र क्यानडामा आवेदन दिएँ । मेरो देशमा मिर्गौला प्रत्यारोपण छैन, सुरु गर्नु छ, त्यसैले छात्रवृत्ति चाहियो भनेर आवेदन दिएको थिएँ ।

अस्ट्रेलियामा पढ्ने छात्रवृत्ति पाएपछि २ वर्ष पूरै सिक्ने कोसिस गरेँ । मलाई मेरो मेन्टरले प्रत्यारोपणको प्रक्रियाबारे बुझ्न मद्दत गर्नुभयो । शल्यचिकित्सकसँग भेटाइदिनुभयो । उहाँले अप्रेसन थिएटरमै राखेर प्रत्यारोपण भइरहेको देखाउनुभयो । प्याथोलोजी र रेडियोलोजीको भूमिका बताउनुभयो ।

आफूले केही सिकेपछि नर्सलाई आवश्यक तालिमको निःशुल्क व्यवस्था गरेर म आफैँले बोलाएँ । शल्यचिकित्सक र ल्याबका मान्छेलाई क्यानडा, बंगलादेश पठाएर आवश्यक तालिम दिलाइयो । मिर्गौला प्रत्यारोपण गर्ने अस्ट्रेलियाकै एक शल्यचिकित्सक वर्षमा एकपटक नेपालमा ट्रेकिङ गर्न आउने रहेछन् । मैले उनलाई ‘नेपाल आएका वेला हामीले प्रत्यारोपण गर्दा एकपटक उपस्थित भइदिनुस्’ भनेर अनुरोध गरेँ । उनले यतै बिरामी ल्याऊ, यहीँ सिकाइदिन्छु भने । तर, मैले निकै आग्रह गरेपछि स्विकारे । हामीलाई शिक्षण अस्पतालमा सुरु गर्नु थियो, सफल प्रत्यारोपण गर्नु थियो ।

नेपाल फर्केपछि शिक्षण अस्पतालका निर्देशकको साथ लागेर प्रत्यारोपण गर्ने लाइसेन्सका लागि स्वास्थ्य मन्त्रालय निकै धाएँ । कहिले मन्त्री, कहिले राज्यमन्त्री त कहिले सचिवलाई भेटेँ । तर, काम भएन । उता मैले आग्रह गरेका शल्यचिकित्सक कहिले आउँ भनिरहेका थिए । यता बिरामी पनि प्रतीक्षामा थिए ।

नेपालमा सबैखाले परीक्षण हुँदैनथ्यो, औषधि पाइँदैनथ्यो । सबै जुटाएर तयार गर्दा पनि लाइसेन्स नपाएपछि जे पर्छ–पर्छ गरिदिउँ भन्ने पनि भयो । तर, सफल भए त ठीक छ, नभए लफडा हुन्छ भन्ने डरले अत्यायो ।

०६४/६५ मा नेपालमा नेफ्रोलोजी, युरोलोजी र प्रत्यारोपण विषयको अन्तर्राष्ट्रिय सम्मेलन भयो । गिरिजाप्रसाद कोइराला नेतृत्वमा अन्तरिम सरकार थियो । तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले नेपालीमा भाषण गर्नुभयो, मैले अनुवाद गरिदिएँ । भाषणको अन्त्यमा उहाँले ‘प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको चाहना नेपालमै प्रत्यारोपण होस् भन्ने छ’ भन्नुभयो । मैले त्यही मौकामा ‘हामी तयार छौँ, लाइसेन्स नभएर अड्केका छौँ’ भनेँ । मन्त्रीले लाइसेन्सका लागि चिकित्सकको समिति सिफारिस गर्न भने । मैले कागज च्यातेर तत्काल तीनजनाको नाम बुझाएँ । उक्त समितिको नाम त्यहीँबाट घोषणा गरियो । अर्को तीन महिनामा लाइसेन्स पायौँ । आइतबार लाइसेन्स पाएको बुधबार बिरामी भर्ना गरेर शुक्रबार अप्रेसन ग-यौँ । ४ वटा सफल परीक्षण गरेपछि मात्र मिडियामा भन्यौँ । अहिलेसम्म पाँच सय ५० सफल प्रत्यारोपण गरिसक्यौँ ।

हामीले प्रत्यारोपणका लागि लिखित प्रोटोकल पनि बनायौँ । त्यही प्रोटोकल वीर अस्पतालबाट आउनुभएका डाक्टरलाई दियौँ । केही समय त्यहाँका चिकित्सकलाई आवश्यक तालिम पनि दियौँ । उहाँहरूले पनि प्रत्यारोपण सुरु गर्नुभयो । श्रोतः नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्