Logo
|
Tuesday 16th April 2024
Logo

epaper

बीपी राजमार्ग, गुणस्तरहीन खाना, कसले रोक्ने ?



सिन्धुली – विपी राजमार्गका होटलमा ताजा र गुणस्तरिय खाना पाउँन मुस्किल पर्न थालेको छ। ट्रयाक सडक हुँदासम्म गुणस्तरिय मिठो खाना पाइने यहि राजमार्गमा सवारी चाप बढेसँगै खुलेका होटलले खानाको गुणस्तरमा भन्दा व्यापारमा प्रतिस्पर्धा गर्न थालेपछि यात्रुका लागि गुणस्तरिय खाना खुवाउने होटलको अभाव देखिएको छ।

बिराटनगरका राज महतो ताजा खानाको खोजीमा थिए। विपी राजमार्गबाट यात्रा गरेका महतो गाडी चालकले रोक्ने होटलमा सधै बासी खाना खानुपर्ने बाध्यता भएपछि ताजा र मिठो खानाको खोजीमा थिए। काठमाडौंबाट पूर्वी पहाड सहित तराईका विभिन्न स्थानमा पुग्ने साना तथा मझौला गाडी विपी राजमार्ग हुँदै सञ्चालित छन्। तिनै गाडीका यात्रुलाई आम्दानीको दरिलो स्रोत देखेर राजमार्ग आसपासमा अनगिन्ती होटल खुलेका छन्।

राजमार्गमा खोलिएका होटलले गाडी चालकलाई कमिसन दिएपछि यात्रुको इच्छा र आकांक्षामा खाना खान पाइदैन। जहाँ चालकलाई भत्ता बढी मिल्छ त्यहि यात्रुका लागि खाना खुवाउन गाडी रोकिन्छ। पछिल्लो समयमा खुलेका अधिकांश होटलमा चालकलाई भत्ता सहितको सुविधा दिने भएपछि आफ्नो सम्पर्कमा रहेको होटलमा चालकले गाडी रोक्ने र बासी खाना नास्ता खान बाध्य गराउने गरेका छन्। आफूले चाहेको जस्तो खाना खान नपाइने रहेछ, महतोले नागरिकसँग भने, चालकले जहाँ रोक्यो त्यहा खानुपर्ने बाध्यता छ। खाना खुवाएबापत चालकलाई ५ सयदेखि १ हजार नगद, रिचार्ज कार्ड र अर्डर अनुसारको मासु खाना होटल सञ्चालकले दिने गरेका छन्।

विपी राजमार्गका चियाबारी, खुर्कोट, सित्तलपार्टीको खाल्टे, पुरानो झाँगाझोली, झाँगाझोली रातमाटा र दुम्जाको नेपालथोक खाना खुवाउने मुख्य गन्तव्यमा पर्छन्। यस क्षेत्रमा नाम चलेकै होटलमा बासी र सडेगलेका खाना खुवाउने गरेका छन्। राजमार्ग क्षेत्रमा खाना सबै बासी हुँदो रहेछ, तिनै महतोले भने, बासी खाना खुवाएर ३ सय रुपैयाँसम्म लिनु ब्रम्हलुट हो। बासी बोइलर कुखुराको मासु खानाको राजमार्ग आसपासमा तीन सय रुपैयाँ पर्छ प्रति खानाको।

यात्रुसँग पैसा अत्याधिक पैसा असुल्न पाउने भएपछि यहाँका अधिकांश राजमार्ग आसापसका बासिन्दा होटल व्यवसायतर्फ लागेका छन्। एक होटल व्यवसायीका अनुसार राजमार्गमा खाना नास्ता खाने ग्राहक सधैका नभएर कहिलेकाही संयोग पर्ने भएकाले जतिपैसा पनि लिने गरिएको छ। किन महंगो भनेर कसैले प्रश्न गर्दैनन्, एक पटक खाएपछि पुन खान आउदैनन् त्यसैले जति पनि लिन सकिन्छ। होलट व्यवसायीले विशेष गरी खाना खुवाउन हायस गाडीलाई रोज्ने गरेका छन्।

हायस गाडी होटलमा रोकेर यात्रुलाई खाना खुवाए होटल सञ्चालक जतिपनि कमिसन दिन तयार हुने गरेको स्थानीय बताउँछन्। हायसका यात्रु पनि पैसा भएकै हुन्छन्, उनीहरूले खाना खाएर पैसा तिर्ने बेला किन महंगो भनेर कहिल्यै प्रश्न गर्दैनन,एक स्थानीयले भने त्यसैले ब्रह्मलुटनै छ। यात्रुसँग लुटेर चालकलाई भत्ता दिने चलन छ, यो तोडिएमात्र सफा मिठो र ताजा खान यात्रुले पाउछन्, झाँगाझोली रातमाटाका एक स्थानीयले भने। १६ सिट क्षमताको गाडीलेनै एक पटकमा तीन सय देखि पाँच सयसम्म भत्ता पाउने गरेका छन् भने थप कमीसन यात्रुले खाएको आधारमा हुने गरेको छ।

राजमार्गका केही होटल कमिसनको खेलमा खाना नास्ताको गुणस्तरमा ध्यान दिएनन् भन्ने गुनासो बढेको छ, होटल व्यवसायी संघका महासचिव सिताराम पहाडीले भने, अनुगमन गर्न आवश्यक छ। उनले चालकलाई भत्ता र रिचार्जकार्ड दिने व्यवस्था हटाए खानाकै गुणस्तरमा प्रतिस्पर्धा हुने बताए। राजमार्गमा धेरै होटल खुलेका छन्, तर ति होटल होटल व्यवसायी संघमा दर्ता समेत धेरै भएका छैनन् उनले भने हालसम्म जिल्लाभर ३ सय २५ होटल मात्र दर्ता छन्।

चियाबारी खानाको जक्सन
विपी राजमार्गस्थित कमलामाई नगरपालिका २ को चियाबारी खानाका लागि यात्रुवाहक सवारीलाई जक्सननै बनेको छ। पछिल्लो समय खुलेका अधिकांश होटल राजमार्गमा यात्रुसहित आवातजावत गर्ने सवारी साधनलाई मध्यनजर गरेर होटल खुलेका छन्। त्यस स्थानमा पनि खानाको गुणस्तर भने खस्कदै गएको छ। कमिसन बढी दिने होटलमै सवारी रोकिने भएपछि खानाको गुणस्तर भन्दा चालकलाई कमिसन बढी दिएर ग्राहक तान्ने होडमा होटल व्यवसायी लागेका छन्। यस क्षेत्रमा बढी हायस(माइक्रो) गाडी बढी रोकिने गरेका छन्।

दैनिक एउटै होटलमा २० वटसम्म माइक्राले खाना खुवाउँछन्। चियाबारीका एक होटल व्यवसायीका अनुसार दैनिक चालकलाई कमिसन मात्रै २५ हजार बुझाउने गरिएको छ। मैले २५ हजारसम्म दैनिक कमिसन बुझाउछु, त्यसैले गाडी पनि धेरै रोकिन्छ, उनले भने। बिपी राजमार्गमा खुलेका अधिकांश होटल अत्याधिक महंगो छ। साधारण यात्रुको पहुँचमा यस क्षेत्रका होटल छैनन्। मेन्युमा मुल्य नराख्ने राजमार्गका अधिकांश होटले यात्रु ठग्ने गरेका छन्। श्रोतः नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्