Logo
|
Friday 29th March 2024
Logo

epaper

काउन्सिलको लाइसेन्स परिक्षामा सहभागी ५४ प्रतिशत डाक्टर फेल



नेपाल मेडिकल काउन्सिलद्वारा शनिबार लिइएको चिकित्सक लाइसेन्स परिक्षामा एमबीबीएस उत्तिर्ण भएका ५४ प्रतिशत डाक्टर फेल भएका छन् । यस्तै बीडीएस उत्तिर्ण ६३ प्रतिशत चिकित्सक समेत फेल भएका हुन् ।

केही वर्ष यता काउन्सिलले मुलुकमा चिकित्सकिय अभ्यास गर्न अनुमति प्राप्त गर्नका लागि लिने गरेको लाइसेन्स परिक्षामा सरिकहरु मध्ये करिब आधा जति डाक्टरहरु फेल भइरहेका छन् ।

हालसम्म काउन्सिलले लिखित परिक्षा मात्र लिने गरेको छ । भविष्यमा प्राक्टिकल परिक्षा समेत लिने भनिए पनि अझैसम्म यो लागु गरिएको छैन । शनिबार लिइएको परिक्षामा एमबीबीएस पास गरेका १ हजार ३ सय १६ जना डाक्टर र बीडीएस पास गरेका एक सय ८६ जना दन्त चिकित्सक सहभागी भएका थिए । यसमा एमबीबीएस गरेका ७ सय ५३ र बीडीएस गरेका १ सय १७ चिकित्सक फेल भएका हुन् ।

काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले लाइसेन्स परिक्षामा एमबीबीएस गरेका ५ सय ९८ जना र बीडीएस गरेका ६९ जना चिकित्सक पास भएको बताए ।

यसभन्दा पहिले करिब ४ महिना अघि भएको पछिल्लो लाइसेन्स परिक्षामा समेत एमबीबीएस गरेका ७ सय ८४ जना परिक्षा दिएकोमा ७६ प्रतिशत डाक्टर फेल भएका थिए । उक्त परिक्षामा १ सय ८९ जना पास र ५ सय ८७ जना फेल भएका थिए भने ८ जना अनुपस्थित रहेका थिए ।

काउन्सिलका एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा परिक्षा परिणाम बारे टिप्पणी गर्दै कान्तिपुरसँग भने, ‘यो परिणामले स्पष्ट रुपमा देखाइ रहेको छ की एमबीबीएस गरेर आएका थुप्रै डाक्टरहरुमा ज्ञानको न्युनतम गुणस्तर समेत छैन, उहाँहरुलाइ अझै धेरै मिहनेत गर्नु पर्ने अवस्था छ ।’ ती पदाधिकारीको अनुसार मेडिकल पढ्नेहरु पढाइ प्रति संवेदनशील हुनुपर्ने आवश्यकता देखिएको बताए ।

काउन्सिलले वर्षमा तीन पटक लाइसेन्स परिक्षा लिने गरेको छ । अन्य विकसित मुुलुुक झैं चिकित्साशास्त्रमा स्नातक अर्थात एमबीबीएस/बीडीएस गरे पछि लाइसेन्सिङ्ग परिक्षा पास गरेर मात्रै नेपालमा काम गर्न पाउने कानुुनी व्यवस्था छ । सर्वोच्च अदालतले २०५८ साल फागुुन २५ गते भन्दा पछि एमबीबीएस पढेर आउने सबैलाई लाइसेन्स परिक्षा अनिवार्य हुुने जनाए पछि यो परिक्षा पास गरेर मात्र मुुलुुकमा चिकित्सा पेशा गर्न पाउने व्यवस्था लागु भएको हो ।
कान्तिपुर   दैनिक

प्रतिक्रिया दिनुहोस्