Logo
|
Tuesday 16th April 2024
Logo

epaper

चुरा बेच्ने सर्फराजलाई न्यूरोले दियो नयाँ जीवन



काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स न्यूरो हस्पिटलका न्यूरो सर्जनहरुले बोली बचाएर एक किशोरको अवेक क्रेनियोटोमी (बेहोस नपारी गरिने मस्तिष्कको शल्यक्रिया) गरी मस्तिष्क ट्यूमरको सफल शल्यक्रिया सम्पन्न गरेका छन् ।
काठमाडौंको न्युरोडमा चुरा पसल गर्ने २२ वर्षीय किशोर मोहमद  सर्फराजको मस्तिष्क ट्यूमरको सफल शल्यक्रिया भएको हो ।

अस्पतालका न्यूरो सर्जनहरुले बेहोस नपारी टाउकोका नसाहरु लठ्याएर सो मस्तिष्क ट्यूमरको ६ घण्टा लगाएर सफल शल्यक्रिया गरी बोली (स्पिच) बचाउन सफल भएका थिए । सर्फराज अहिले स्वस्थ्य छन् ।

अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा  सर्फराजले भने—‘न्यूरो हस्पिटलले मलाई नयाँ जीवन दिएको छ । मेरो दिनचर्या सामान्य बनिसकेको छ ।’
यो टिममा न्युरो सर्जन डा. प्रत्यूश श्रेष्ठको अगुवाइमा डा. सुरेश विक, डा. विभूषणकालु श्रेष्ठ लगायत अस्पतालमा कार्यरत डा. शिखर श्रेष्ठ, डा.सुरज थुलुङ, डा.सुरेस सापकोटा, डा. सुमन रिजाल, वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापा, एनेस्थेसियोलोजिष्ट, रेडियोलोजिष्ट नर्स सबैको महत्वपूर्ण भूमिका थियो ।

मस्तिष्कको ट्यूमरको ‘अवेक क्रेनियोटोमी) शल्यक्रिया प्रा.डा. देवकोटा हुँदा पनि गरिन्थ्यो । त्यो बेला गरिएका करिव १० वटा यस प्रकारका शल्यक्रिया हात खुट्टाको शक्ति÷चाल बचाउन गरिएका थिए । तर बोली बचाउन गरिएको यो सर्जरी यस अस्पतालकै पहिलो हो ।
बेहोस पारी शल्यक्रिया गरेर ट्यूमर निकाल्दा बोलीजाने धेरै सम्भावना भएकाले ‘अवेक क्रेनियोटोमी) (बेहोस नपारी गरिने मस्तिष्कको शल्यक्रिया) प्रविधिबाट शल्यक्रिया गरिएको अस्पतालका न्यूरो सर्जन डा. प्रत्यूश श्रेष्ठले जानकारी दिनुभयो ।
शुरुमा सर्फराज मिर्गी (छारेरोग) को समस्या लिएर अस्पताल पुगेका थिए । विगत सात महिनाको बीचमा उनी ३ पटक मुर्छा परेका थिए । जाँचगर्दा उनको मस्तिष्कको देब्रेपटी बोलीको केन्द्रमा ५×४ सेन्टिमिटरको ग्लाइओमा ट्यूमर देखियो । बोलीको केन्द्रलाई नै पूर्ण रुपमा असर गर्न सक्ने गरी ट्यूमर रहेको थियो ।
अस्पतालमा रहेको विशेषखालको एम.आर.आई.को माध्यमबाट बोलीको ट्रयाकहरु रेखाङ्कन गरिएको थियो । भिडियो ई.ई.जीको माध्यमबाट मिर्गीको केन्द्र ट्यूमरको अघिल्लो भागमा रहेको रेखाङ्कन गरिएको थियो ।
शल्यक्रियाको बेला बिरामीलाई बेहोस नपारी शल्यक्रिया गर्दा बिरामीको समन्वय अत्यन्तै महत्वपूर्ण हुन्छ ।  सर्फराजलाई शल्यक्रिया गर्दा कस्तो अवस्थामा रहन्छ भनेर बताइएको थियो । बिरामीको राम्रो समन्वय नभएमा यस प्रकारको शल्यक्रिया गर्न सकिदैन । बिरामी आत्तिनु, चिच्याउनु र कराउनु हुँदैन ।
‘शल्यक्रिया अगाडि शल्यक्रिया संलग्न हुने सबै जना बसी पहिला छलफल ग¥यौं र सर्फराजलाई शल्यक्रिया कक्षमा लागि त्यहाँको वातावरणबारे जानकारी गरायौं । शल्यक्रिया गर्दा बाहिरबाट टाउकाको नसामा नदुख्ने सुई लगायौं ।’—डा. प्रत्यूशले भन्नुभयो—‘ट्यूमर निकाल्न अघि टाउको खोलेर मस्तिष्कमा एउटा विशेष यन्त्रबाट स्टिमुलेसन गर्दै मस्तिष्कको कुन भागबाट बोलीआएको छ भन्ने रेखाङ्कन गरियो र  सर्फराजको मस्तिष्कको बोलीको केन्द्रलाई बचाएर ट्यूमर निकालियो ।’

 

शल्यक्रियाका क्रममा बिरामीलाई १ देखि ५० सम्म गन्न लगाईयो । फोटाहरु देखाएर चित्रहरु चिन्न लगाइयो । सुनेको कुरा वुझी जवाफ दिन केही प्रश्नहरु पनि सोधियो । दिमागको देब्रे भागमा ट्यूमर भएकाले बिरामीको दाहिने तिरको हात, खुट्टा र जिब्रोको चाल पनि निरीक्षण गरियो । ट्यूमर पूर्ण रुपमा निकाली सक्दापनि  सर्फराजले जिब्रो, हात र खुट्टाहरु राम्रो सँग चलाउन सकेका थिए ।
बेलायतमा यस्ता शल्यक्रिया धेरै गर्नुभएका प्रा.डा. उपेन्द्र देवकोटाका साथी विश्वविख्यात न्यूरो सर्जन हेन्री मार्ससँग पनि सल्लाह लिएको थियो । रोगको प्रकृतिअनुसार बिरामीको बोली बचाउन गारो हुनसक्ने उहाँले बताउनुभएको थियो । तर उपचार सफल भएकोमा अस्पताल परिवार खुशी भएको अस्पतालकी अध्यक्ष डा. मधु दीक्षित देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्