Logo
|
Thursday 28th March 2024
Logo

epaper

अब औषधिको प्रभावकारिता रगतमा मापन



औषधिको गुणस्तरमै प्रश्न उठ्न थालेपछि अब बजारमा आउने औषधिको प्रभावकारिता स्वस्थ मानिसको रगतमा मापन गरिने भएको छ । गुणस्तरीय भनिएका औषधिले शरीरभित्र प्रभावकारी काम नगरेपछि रगतमै प्रभावकारिता मापन गर्न लागिएको हो ।

‘यसअघि औषधिको गुणस्तर मात्रै मापन हुँदै आएको थियो । अब औषधिले शरीरभित्र कति काम गर्छ भन्ने पुष्टि गर्न रगतमा प्रभावकारिता मापन गरिन्छ । राम्रो प्रभाव देखाउने औषधि मात्रै बजारमा ल्याउन दिइन्छ,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने ।

विभाग र चिकित्सका शास्त्र अध्ययन संस्थान (आइओएम)बीच प्रयोगशाला सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । रगतको प्रभावकारिता मापन शिक्षण अस्पताल महाराजगञ्जमा गरिने छ । औषधि उत्पादक कम्पनीले परीक्षण गर्दा नक्कली रिपोर्ट दिन सक्ने भएकाले सरकार आफैँले प्रयोगशाला खडा गरेको हो ।

यो चिकित्सकका लागि पनि अवसर हो
प्रा.डा. जगदीश अग्रवाल
डिन, आइओएम

सरकारले आजसम्म बजारमा आएका औषधिको भौतिक तथा जैविक गुण र परिणाम हेर्दै आएको थियो । तर, अब गुणस्तरमात्रै हेरिने छैन । औषधिले काम गरे÷नगरेको एकिन गर्न स्वस्थ मानिसको रगतमा परीक्षण गरिने छ । धेरै औषधिमा शंका छन् । अब ती औषधिले काम गरेको छ÷छैन आफैँ मापन गर्न सकिने भएको छ । यो चिकित्सकका लागि पनि महत्वपूर्ण अवसर हो ।

औषधि सिफारिस जेनेरिकमा हुँदा समस्या
जनस्वास्थ्य ऐन २०७५ ले चिकित्सकले जनेरिक नाममा औषधि सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । बजारमा उपलब्ध एकै खालका औषधि एक आपसमा प्रयोग गर्न मिल्ने हुन जरुरी हुन्छ । एकै खालका औषधिको समकक्षता कायम भएको हुनुपर्छ । तर, जेनेरिकका नाममा गुणस्तरीय औषधि उत्पादन गरेपनि प्रभावकारिता भने कम हुने सक्ने भएकाले नयाँ जाँच गर्न लागिएको हो । महानिर्देशक ढकालका अनुसार अब रगतमा औषधिको मात्रा कति हुनुपर्ने र कति छ भन्ने मापन गरिन्छ ।

कसरी गरिन्छ जाँच ?
क्याप्सुल र ट्यावलेट फममा रहेका औषधि मात्रै रगतमा जाँच गरिने छ । झोलको मात्रा भने सिधै रगतमा घुल्ने भएकाले त्यसको प्रभावकारीता जाँच गर्न कठिन हुन्छ । कुनै ट्याब्लेट चाडो घुल्ने हुन्छ, कुनै ढिलो तर, त्यसको प्रभावकारीता रगतमा बराबर देखिनुपर्छ । विगतमा परीक्षण गरेर राम्रो भनिएको औषधि र नयाँ औषधि स्वस्थ मानिसमा खुवाएर परीक्षण गरिने छ । औषधि खुवाउनुअघि उनीहरूको सबै स्वास्थ्य परीक्षण गरिन्छ । तर, यो निकै चुनौतीपूर्ण रहेको महानिर्देशक ढकालले बताए । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्