Logo
|
Friday 19th April 2024
Logo

epaper

डाक्टर गोविन्द केसीको माग कसरी सम्बोधन हुँदैछ ?



केसी

संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरूले चिकित्सा शिक्षा विधेयक डा. गोविन्द केसी र सरकारबीचको सम्झौताको मर्म अनुसार नै पेस गरिने तर त्यसमा केही महत्त्वपूर्ण बुँदाहरू पनि थपिने बताएका छन्।

उक्त विधेयक मंगलवार संसद्‌मा पेस गर्ने कार्यतालिका छ। डा. केसीले भने सम्झौताअनुरूप विधेयक पारित नभए मंगलवारदेखि नै सत्याग्रह थाल्ने चेतावनी दिइसकेका छन्।

खासगरी काठमाण्डू उपत्यकाबाहिर मेडिकल कलेज खोल्ने, सीपमूलक स्वास्थ्य शिक्षाको रूपमा रहेको सीटीईभीटीका कार्यक्रम बन्द गर्दै लैजाने विषयमा परेका संशोधन र सम्झौतामा नपरेका विषयहरू थपिएको समितिका सदस्यहरूले बताएका छन्।

 

के के निर्णय हुँदैछन्

समितिका एकजना सदस्य योगेश भट्टराईले भने, “डा केसीसँगको सम्झौता बमोजिम मात्रै विधेयक लाने हो भने काठमान्डू बाहिर मेडिकल कलेज खोल्ने ढोका अबको १० वर्षको लागि बन्द हुनेछ। त्यसैले हामीले सम्बन्धन लिइसकेका विश्वविद्यालयको हकमा एक खाले र नयाँ मेडिकल खोल्ने विषयमा अर्को निर्णय गरौँ भनेका छौँ।”

विधेयकलाई पूर्णता दिनुअघि डा. गोविन्दके सीसँग छलफल गर्न चाहे पनि उनी तयार नभएको भन्दै सदस्य भट्टराईले सामाजिक सञ्जालमार्फत नै आफ्नो विचार राखेका थिए। डा. केसीले भने गत श्रावण १० गते सरकारसँग भएको सम्झौता विपरित बुँदाहरूमा हेरफेर भए मंगलवारबाटै अनशन बस्ने बताइसकेका छन्।

त्यस विषयमा मंगलावार डा. केसीले आफ्नो धारणा राख्ने र उनी सकारात्मक रहेको डाक्टर केसीको अभियानलाई नजिकबाट सघाइरहेका डा. अभिषेकराज सिंहले बताए।

राय बाझिएको विवरण

उनले भने,” काठमान्डू बाहिरको हकमा जहाँ कानुनी राय बाझिएको भनिएको छ। त्यो विषयमा छलफल गरेर अगाडि बढ्न सकिने डा केसीले भनेका छन्।”

शिक्षा तथा स्वास्थ्य उपसमितिको मंगलवार बैठक बस्ने र त्यसलाई पूर्ण समितिमा प्रतिवेदन बुझाउने समितिका सदस्यहरूले बताएका छन्। लामो समयदेखि चर्चाको विषय बन्दै आएको चिकित्सा शिक्षा विधेयक पारित भए चिकित्सा शिक्षामा सबैको सर्वसुलभ पहुँचमा पुग्ने विश्वास गरिएको छ। तर बारम्बार सम्झौता भए पनि विधेयक अझै पारित हुन भने सकेको छैन। स्रोतः बिबिसिनेपाली

प्रतिक्रिया दिनुहोस्