Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

हृदयाघातबाट मृत्यु हुने बढे



केही दिनअघि धनकुटाबाट धरान जाँदै गरेको माइक्रोबसमा यात्राकै क्रममा धनकुटा ५ का दीप श्रेष्ठको ह्दयाघातबाट गाडीभित्रै मृत्यु भयो ।

पत्नीका साथ रहेका श्रेष्ठलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइए पनि उनको अस्पताल पुग्नुअगावै मृत्यु भइसकेको चिकित्सकले घोषणा गरे ।

कार्य क्षेत्रमा खटिएका ५२ वर्षीय वीरसिंह धामीको ह्दयघातले नै मृत्यु भयो । वैतडी जिल्ला घर भएका धामी शिक्षा विभागबाट धनकुटा नगरपालिका ४ देब्रेबासस्थित शिक्षा निर्देशनालयमा कार्यालयको काममा खटिएर आएका थिए । यस्तै, धनकुटा नगरपालिका ७ हुलाकटोलकी तारा जोशीको पनि अघिल्लो महिना ह्दयघातबाटै मृत्यु भयो ।
‘बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहका अनुसार अधिकांश हृदयाघातका बिरामीे अस्पताल नपुर्‍याउँदै मृत्यु भइसक्ने र पछिल्ला वर्ष ३० देखि ४० वर्षको उमेरमा समेत समस्या देखियो  ।’ 

सोहिस्थानका ४८ वर्षीय मन्दिप प्रधानको पनि केही महिनाअघि ह्दयघातकै कारण मृत्यु भएको छ । माथिका घटना केही उदाहरण मात्र हुन् । पछिल्लो केही वर्षदेखि जिल्लामा ह्दयघातबाट अल्पायुमा नै ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । धनकुटा ७ का स्थानीय जनार्दन घिमिरेले पछिल्लो केही वर्षदेखि आफन्त तथा चिनजानका व्यक्ति ह्दयघातबाट मृत्यु हुनेको संख्या उल्लेख्य रुपमा बढेको बताए । ‘अचम्मै लाग्न थाल्यो ह्दयघातका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको देखेर,’ उनले भने ।

ह्दयाघातबाट मृत्यु हुनेको संख्या चौगुनाले वृद्धि भएको चिकित्सकको भनाइ छ । जिल्ला अस्पतालमा समेत मुटु रोगका कारण बिरामी बढ्दै गएको जनाइएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा प्रशान्त साहका अनुसार ह्दयघातका बिरामीको संख्या उल्लेख्य वृद्धि भएको छ ।

त्यहाँ मासिक २५ बढी यस रोगका बिरामी ल्याइने गरिन्छ । अधिकांश बिरामीको अस्पताल नपुर्‍याउँदै मृत्यु भइसकेको हुन्छ । ५० वर्ष पहिलेसम्म ५० वर्ष उमेर माथिकालाई यो रोगले सामान्य आक्रमण गर्ने गरेकोमा पछिल्ला वर्ष क्रमश: ३० देखि ४० वर्षको उमेरमा समेत अधिक समस्या देखा परेको साहले बताए ।

पछिल्लो एक दशकदेखि यसको समस्या उल्लेख्य रहेको छ । ‘अस्वस्थकर र तनावयुक्त जीवनशैली प्रमुख समस्या रहेको छ,’ उनले भने, ‘धूमपान, मद्यपान, शिथिल जीवनशैलीलगायत ह्दयघात बढ्नु मुख्य कारण रहेको छ ।’ उच्च रक्तचाप, मधुमेह, कोलस्टोरजस्ता स्वास्थ समस्यासंगै ह्दयघातको जोखिम बढ्दै गएको उनको ठम्याइ छ । औषधी मात्र सेवन गर्नुभन्दा नियमित स्वास्थ्य परीक्षणको महत्व बढी रहने बताए ।

पछिल्लो पुस्तामा प्रतिस्पर्दायुक्त जीवनले तनाब बढाउने र शारीरिक श्रम नगरिने कारण पनि जटिलता बढेको मुटु रोग विशेषज्ञ साह बताउँछन् । मुटुरोग प्राणघातक भए पनि ८० प्रतिशत ह्दयघात रोकथाम गर्न सकिने चिकित्सकको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले समेत सन् २०२० सम्ममा विकासोन्मुख मुलुकमा मुटुरोग महामारीको रुपमा फैलिन भविष्यवाणी गरिसकेकोले यसको जोखिमप्रति सजक हुनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीले सावधान गराउँदै आएका छन् ।

अधिकलाई अकस्मात समस्या देखा परे पनि कतिपयलाई छाती दुख्ने, छातीको देब्रे भागमा सास फेर्न समस्या हुने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने जस्ता समस्या देखिने गरेको चिकित्सकले बताए । प्रशस्त फलफूल, सागसब्जी खाने तथा चिनी, नुन साथै चिल्लो पदार्थमा कमी गर्ने, नियमित शारीरिक कसरत मुटुरोगबाट बच्ने केही उपाय रहेको समेत विशेषज्ञले सुझाएका छन् ।
स्रोतः कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्