मधुमेह हरेक परिवारको सरोकार

जनस्वास्थ्य सरोकार || प्रकाशित मिति :2019-01-03 11:40:56

मधुमेहको समस्या दिनप्रतिदिन बढिरहेको छ । संसारको कुल जनसंख्याको ८.५ प्रतिशतलाई मधुमेह भएको र लगभग ४२ करोड भन्दा बढि व्यक्ति यसबाट पीडित भएको विश्वव्यापी तथ्याङ्क छ । विश्व स्वास्थ्य संगठनका अनुसार, आगामी २५ वर्षमा मधुमेहीको संख्या ६५ करोडको हाराहारीमा पुग्ने अनुमान छ ।  नेपालको स्थिति पनि त्यस्तै छ । काठमाडौं डायबिटिज एण्ड थायराइड सेन्टरले काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र नेपालगञ्जका करिब १ हजार ५ सयमा गरेको मधुमेहसम्बन्धि सर्वेक्षणमा ८.३ प्रतिशतलाई मधुमेह भएको पाएको थियो ।
मधुमेह बढ्नुको प्रमुख कारण जीवनशैलीमा आएको व्यापक परिवर्तन हो । हामीहरुमा शारीरिक परिश्रम गर्ने बानी कम छ । धेरै व्यक्ति बिलासी जीवन रुचाउँछन् । हिँडडूल र शारीरिक ब्यायाम गरिँदैन । धेरै चिल्लो र बढि क्यालोरीयुक्त खानाको सेवन, समयमा नखाने, तनाव, बढ्दो शहरीकरण आदिका कारण मधुमेहीको संख्या बढ्दो गतिमा छ ।  यसैगरी वंशाणुगत कारणले पनि मधुमेह देखिने सम्भावना रहन्छ । परिवारका कुनै सदस्यलाई मधुमेह भएमा अर्को सदस्यलाई मधुमेह हुनसक्ने सम्भावना ५० प्रतिशत रहन्छ ।
मधुमेह वंशमा कसैलाई नभए पनि देखिनसक्छ । तर परिवारका एकजनालाई देखिएमा अर्कोलाई पनि हुनसक्ने सम्भावना रहन्छ ।
इन्सुलिनको काम
विभिन्न कारणले शरीरमा इन्सुलिन उत्पादन कमी भएमा ग्लुकोज (चिनी) को मात्रा नियन्त्रण हुनसक्दैन र रगतमा चिनीको मात्रा बढ्छ । चिनी (ग्लुकोज) शरीरको कोषहरुलाई आवश्यक पर्ने शक्ति हो । प्याङ्क्रियाजबाट उत्पादन हुने इन्सुलिन हर्मोनले ग्लुकोजको मात्रालाई नियन्त्रण र व्यवस्थापन गर्छ ।
टाइप टू मधुमेहमा शरीरबाट इन्सुलिन हर्मोन उत्पादनको मात्रा घढ्दै शून्यमा पुगेपछि इन्सुलिन सुई लगाउनुपर्छ । शुरुको अवस्थामा औषधिको सेवन, खापानमा नियन्त्रण, शारीरिक अभ्यास, जीवनशैली सुधारमा जोड दिइन्छ ।
प्याँक्रियाजभित्र रहेका विटा सेलहरुले इन्सुलिन उत्पादन गर्छन् । टाइप टू मधुमेह भएका व्यक्तिलाई शुरुको अवस्थामा ५० प्रतिशत विटा सेल कम भइसकेको हुन्छ । इन्सुलिनले बाँकी रहेका बिटा सेलहरुलाई बचाउने काम गर्छ । त्यसैले शुरुको अवस्थामा इन्सुलिन लिएमा विटा सेलको थप क्षति हुन पाउँदैन ।

मधुमेहीको आयु
मधुमेहलाई नियन्त्रणमा राखेमा आयु लामो हुनसक्छ । एचबीएवनसी टेष्ट गर्दा चिनीको मात्रा ७ प्रतिशत भन्दा बढी हुन हुँदैन । सामान्य मानिसमा चिनीको मात्रा ५.७ प्रतिशत भन्दा कम हुन्छ । यदि बढि भएमा जटिलताहरु देखिएर मुटु, मिर्र्गौला, मस्तिष्क, आँखालगायत महत्वपूर्ण अंगलाई समस्या पार्ने खतरा बढि हुन्छ । यदि शरीरमा मधुमेह ६.५ सम्म राख्न सकेमा मधुमेहबाट हुने खतरबाट धेरै हदसम्म बच्न सकिन्छ ।

क्यालोरीका कुरा
खाना खाइसकेपछि उत्पादन हुने ग्लुकोजलाई प्याँक्रियाजले इन्सुलिन उत्पादन गरेर नियन्त्रण गर्दछ । हामीले खाने खानाबाट प्राप्त हुने क्यालोरिले सुगर बढाउँछ । इन्सुलिनको उत्पादनमा कमी आएर ग्लुकोजको मात्रालाई नियन्त्रण गर्न नसकेको अवस्थामा मधुमेह देखिने हो ।
मधुमेहका बिरामीलाई पनि क्यालोरी चाहिन्छ । यस्ता बिरामीले उचाइ र तौलको आधारमा क्यालोरी लिनुपर्छ । जस्तैः मधुमेहको बिरामीले दिनभरमा १८ सय क्यालोरी खानुपर्ने भएमा खानैपर्छ । एकचम्चा चिनीमा २० क्यालोरी हुन्छ । एक कचौरा भातमा २ सय क्यालोरी हुन्छ ।

मधुमेहमा मोटाउने र दुव्लाउने
शुरुको अवस्थामा इन्सुलिन रेजिस्टेन्स भई शरीरमा क्यालोरी जम्मा हुँदै जान्छ र मानिस मोटाउन थाल्छ । शुरुमा ग्लुकोजले शरीरको सेललाई शक्ति प्रदान गर्छ । तर ग्लुकोज नियन्त्रण नभएर शरीरमा अत्यधिक हुन थालेपछि पिसाबाट चिनी बाहिर निस्कन थाल्छ । जसले तौल घट्न थाल्छ र मानिस बिस्तारै दुब्लाउँछ । ग्लुकोजले बढी पानी एब्जर्भ गर्ने भएकाले मधुमेह भएका मानिसलाई बढी पिसाब लाग्छ ।

मधुमेहको जटिल पक्ष
माइक्रोभाक्सुलर कम्लिकेसन
माइक्रोभाक्सुलर कम्लिकेसनमा नसा ब्लक हुने, लिकेज आदि हुन्छ । मधुमेहले आँखाका स—साना नसामा असर गरी आँखाको पर्दामा रगत जमाइदिन्छ । यो डाइबेटिक रेटिनोप्याथी हो । त्यस्तै मिर्गौलाको पनि स–साना नसा (नेफ्रोन) लाई क्षति पु¥याउँछ । यसलाई डायबेटिक नेफ्रोप्याथी भनिन्छ ।
म्याक्रोभास्कुलर कम्लिकेसन
मधुमेहले रगत बग्ने ठूला नसालाई गर्ने असरलाई म्याक्रोभास्कुलर कम्लिकेसन भनिन्छ । जस्तैः मुटु र मष्तिष्कका नसाहरु ब्लक गरेर स्ट्रोक र प्यारालाइसिस हुने खतरा बढाउँछ । खुट्टाको नसा ब्लक गरेमा खुट्टा नै काट्नुपर्छ जसलाई पेरिफेरल भास्कुलर डिजिज भनिन्छ ।

सचेतना
क्षिण एसियाली मुलुकमा बसोबास गर्ने धेरै व्यक्ति मधुमेहको उच्च जोखिमा छन् । त्यसैले बेलाबेलामा मधुमेह परीक्षण गर्नुपर्छ । ५० प्रतिशत व्यक्तिमा मधुमेहको लक्षण नदेखिने भएकाले आफू स्वस्थ्य छु भनेर बस्नुहुँदैन । कतिपयलाई पिसाब धेरै लाग्ने र मुख सुक्ने जस्ता लक्षण देखिन्छ । ५० वर्ष नाघेका कतिपय व्यक्तिलाई लक्षण नदेखिनसक्छ । त्यसकारण वर्षको एकपटक सुगर जाँच गराउनुपर्छ । जीवनशैली परिवर्तन, नियमित व्यायाम र शारीरिक तौल नियन्त्रणले धेरै हदसम्म मधुमेह जित्न मद्धत पुग्छ ।
सन् २०१८ को विश्व मधुमेह दिवसको नारा पनि ‘मधुमेह हरेक परिवारको सरोकार’ भन्ने रहेको छ । परिवारको कुनै एक सदस्यलाई भएमा अर्को सदस्यलाई पनि मधुमेह हुने खतरा बढी हुने र औषधि सेवन, नियमित डाक्टरको फलोअप, चोक जाँचमा परिवारको साथ र सहयोग आवश्यक भएकाले मधुमेह र परिवार बीच धेरै नजिकको सम्बन्ध छ । । लामो समय औषधी खानुपार्ने, नियमित डाक्टरको फलोअपमा गइरहनुपर्ने, टेस्ट गराइरहनुपर्ने अवस्थामा बिरामीलाई परिवारको सदस्याको साथ र सहयोग चाहिन्छ । परिवारमा महिला सदस्य मधुमेहबाट ग्रसित छ भने उसको खानपान र हेरचाहमा बिशेष ध्यान पु¥याउनुपर्छ । मधुमेहका बिरामीले खाली पेट बस्नुुहुदैन ।डा. अंशुमाली जोशी (डीएम), वरिष्ठ इन्डोक्राइनोलोजिष्ट, काठमाडौँ डाइबिडिज एण्ड थाइराइड सेन्टर

    Comment Here!