Logo
|
Friday 19th April 2024
Logo

epaper

सरकारी चिकित्सक नै उत्रे स्वास्थ्य मन्त्रालय घेर्न, सोमबारदेखि दैनिक एक घण्टा विरोध



सरकारी चिकित्सकहरुले स्वास्थ्य मन्त्रालय घेराउ गरेका छन् । संघीय संरचनामा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि विभेदकारी प्रावधान राखिएको भन्दै उनीहरुले मन्त्रालय घेराउ गरेका हुन् । संघीय संरचनामा चिकित्सकहरु समायोजन गर्दा विभेद गरिएको उनीहरुको गुनासो छ ।
स्वास्थ्य मन्त्रालय घेराउ गर्न काठमाडौंका वीर, कान्ति, शुक्रराज ट्रपिकल , प्रसुतिगृह लगायत अस्पतालमा कार्यरत चिकित्सकहरु पुगेका थिए ।
चिकित्सकहरुले सोमबारदेखि दैनिक एक घण्टा काम छाडेर विरोधका कार्यक्रम गर्ने घोषणा समेत गरेका छन् । सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले चिकित्सकहरुलाई अन्याय भएको बताउँदै भन्नुभयो— ‘प्रदेश वा स्थानीय निकायमा समावेश हुने चिकित्सकहरूको सेवा, सुविधा, सुरक्षा, सरुवा, बढुवा तथा अन्य वृत्तिविकासको स्पष्ट खाकासहितको प्रादेशिक र स्थानीय निजामती सेवा ऐन निर्माण पश्चात् मात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्दथ्यो ।’ समायोजन अध्यादेश अनुसार समायोजन गर्दा चिकित्सकलाई स्वतः एक तह स्तरवृद्धि गर्नुपर्छ । एक महिना अघि देखि नै चिकित्सकहरुले समायोजनमा असन्तुष्टि व्यक्त गर्दै मन्त्रालयसंग विभिन्न माग राखेपनि हालसम्म त्यसको सुनुवाइ हुन नसकेको सरकारी चिकित्सकहरुको गुनासो छ । सरकारी चिकित्सकहरुले राखेको माग जायज भएको भन्दै बाध्यकारी समायोजनको साटो समायोजन प्रक्रियालाई स्वैच्छिक बनाउनुपर्ने उनीहरुको भनाइ छ । प्रशुति गृहका निर्देशक डा. जागेश्वर गौतम भन्नुहुन्छ—‘संघमा दरबन्दी मिलान हुन नसकेका चिकित्सकहरूलाई पुल दरबन्दीमा राखी केन्द्रीय, प्रादेशिक वा अन्य सरकारी अस्पतालमा कामकाजमा खटाउन सकिने व्यवस्था मिलाउनुपर्छ ।’ सरकारी चिकित्सकहरुले प्रदेश वा स्थानीयमा समायोजन पश्चात् निश्चित अवधिपछि संघमा आउन सक्ने बाटो खुला राख्नुपर्ने माग पनि अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्