Logo
|
Friday 29th March 2024
Logo

epaper

अनि मात्र मुस्कुराउने छन् नर्सहरु !



केही दिन यता लगातार नर्स झर्किन्छन् भन्ने समाचार सञ्चार माध्यममा आइरहेको देख्दा आफू पनि एउटा पारामेडिक पृष्टभूमिबाट आएको कुरा सम्झिएँ र आफैंलाई झक्झक्याएँ ।
नर्स को हुन् ? भन्ने बुझ्न पनि जरुरी हुन्छ । सर्वप्रथम नर्स एक नारी हुन् । कसैकी प्यारी छोरी हुन सक्छिन् अनि कसैको मायालु पे्रमिका पनि । कसैको जीवन संगिनी पनि नर्स हुन सक्छिन् भने कसैको कर्तव्यपरायण बुहारी । कसैको ममतामयी आमा पनि हुन सक्छिन् नर्स । विभिन्न संज्ञा दिइने नारीको रुप निभाउँदै हिँडेका हुन्छन् नर्सहरु ।
नर्सको अध्ययन पूरा गर्न कठोर मेहनत र लगनशीलता चाहिन्छ । जस्तोसुकै नारीले नर्सिङ अध्ययन गर्न सक्दैनन् । यो एक प्रकारको तपस्या हो । आफ्नो अध्ययन पूरा गरेपछि नर्सिङका प्रतिज्ञाहरु पालना गरेर बिरामीलाई सेवा दिने अठोटका साथ जागीर शुरु गरेका हुन्छन् । नर्सले हरेक अस्पतालमा चिकित्सक र बिरामी बीच पूलको काम गरेका हुन्छन् । स्याहारसुसार गर्नुकासाथै नर्स बिरामीको मनोबल बढाउने काउन्सिलर एवं डाक्टर र बिरामी बीचको मध्यस्तकर्ता हुन् । नर्सहरु प्रशासन र विरामी सेवा बीचको माध्यम पनि हुन् ।
दिन, रात, चाडपर्व, बिवाह, ब्रतबन्ध जन्मदिन, वा कसैको मृत्युको दिन केही नभनी ड्युटी (कर्तव्य) मा कटिवद्ध भएर खटिएका हुन्छन् । तर हामी ‘झर्किन्छन् नर्स’ भनेर सजिलै टिप्पणी गर्दछौं । मानिसमा संवेदन हुन्छ । कुनै समस्या हुनसक्छ भन्ने बुझ्नुपर्छ । नर्स संवेदनहीन रोबोट हैन । धैर्य धारण गर्न सक्ने कारणले नै उनीहरु आज नर्स हुन पुगेका हुन्छन् । उनीहरुको धैर्य र सेवाको प्रशंसा गर्नुपर्ने होइन र समाजले ?
एउटा परिवारमा त कुनै विषयमा हरेक सदस्यको फरक मत हुन्छ भने नर्स त दिनहुँ धेरै विरामीको उपचारमा खटिएकी हुन्छिन् । एउटा बिरामी उनको परिवारको सदस्य जस्तै हुन्छ । उनीहरुको धेरै बिरामीहरुको समस्या समाधानतर्फ जुध्नुपर्ने बाद्यता छ । दिसा, पिसाब, खकार, रगत, पिप, दुर्गन्ध रोग कुनै चिजबाट पनि विरामीमा भेदभाव गर्दिनन् नर्सले । तर कहिलेकाँही मानव शरीर त हो । त्यसमाथि एक नारी पनि । परम्परागत रुपमै नारीको भूमिका धेरै बनाएका छौँ तपाई हामीले । ती नारीको भूमिका नै कठिन प्रतिज्ञा गरेजस्तो छ । त्यसमा थपिन्छ एक नर्सको भूमिका । उनको पनि परिवार हुन्छ, घर व्यवहार हु्न्छ , हामी जस्तै भोक छ, प्यास निन्द्रा लाग्छ । साथै संवेदना पनि छ र संवेदना हुने जीवन्त मानिसले प्रतिक्रिया देखाउनु अत्यन्त स्वभाविक होइन् र ?
पटक पटक नर्सको परीक्षा लिनुहुँदैन । उनको धैर्यलाई कुल्चिएर उनको आत्मसम्मानलाई ठेस पु¥याउन हुँदैन । कहिले अस्पतालबाट निस्कँदा हाँसेर नर्सलाई सेवाको लागि धन्यवाद दिएर त हेर्नुस् । उनको अनुहारको हाँसो र आत्मविश्वासले उनी तपाईको सेवामा सधै तत्पर छिन् भन्ने विश्वास हुनेछ । एक पटक नर्सको निःस्वार्थ सेवालाई सम्झनुस् । तपाई हामीले त सायद आँट पनि गर्न सक्दैनौँ होला उनी कुनै पनि अस्पतालको धरोहर हुन् भनेर । त्यसैले समय अनुसार परिवर्तन हामी पनि हुनुपर्छ । नर्स र विरामीको सम्बन्ध दोहोरो हुन्छ । विरामी मात्र हैन । विरामीका परिवारजनहरुको दायित्व झन् बढी हुन्छ । आदर गर्नुहोस् २४ घण्टा ऐयाआथ्यू नभनी आफ्ना सम्पूर्ण पीडा बिर्सेर समर्पित भएका हुन्छन् नर्स तपाईको उपचारमा अनि तपाईँको सेवामा । यो भूमिका दोहोरो हुनुपर्छ ।
अस्पतालमा सबभन्दा बढी संख्यामा नर्सहरु कार्यरत हुन्छन् । उनलाई सहयोेग गरौँ, प्रोत्साहन गरौँ, धन्यवाद दिऊँ, अनि मात्र ‘मुस्कुराउँछन् नर्सहरु’ ।
(लेखक ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा बजार व्यवस्थापकका रुपमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्