Logo
|
Thursday 18th April 2024
Logo

epaper

आई.सी.यू अनुभव



पहिला मेडिकल वार्डमा काम गर्थें । बिरामी सिकिस्त हुने बित्तिकै आई.सी.यू.मा पठाइन्थ्यो । आई.सी.यू.मा राखेपछि बिरामी ठिक भएको जस्तो देख्थेँ । त्यहि बिरामी वार्डमा व्यवस्थापन नहुने तर आई.सी.यू.मा लगेपछि व्यवस्थापन भएको देख्थेँ । आई.सी.यू.मा के हुन्छ ? त्यस्तो जादू भन्ने कुरा मनमा आउँथ्यो । काम गर्न सक्छु कि सक्दिन भन्ने चासो बढ्नथाल्यो ।
आई.सी.यू.का बिरामीलाई डाक्टर र नर्सले के गर्छन् भनेर बेलाबेलामा अवलोकन गरिरहन्थेँ । आई.सी.यू.मा पोष्ट खाली भएपछि अस्पताल प्रशासनसँग आई.सी.यू.मा काम गर्ने इच्छाबारे अनुरोध गरेँ र काम थालेँ ।
आई.सी.यू.का बिरामीलाई कुनै समस्या भएमा डाक्टरलाई फोन गरेर समाधान गर्नुपर्छ । कन्सल्टेन्टसँग कुरा गरेर मेडिसिन थप्ने नथप्ने भन्ने निर्णय गर्नुपर्छ । अस्पतालमा अहिले क्लोज्ड आइसियु भएकाले २४ सै घण्टा इन्टेसिभिस्ट चिकित्सक बस्नुहुन्छ । बिरामीलाई कुनै समस्या हुनेबित्तिकै तुरुन्त समाधान हुन्छ ।

आई.सी.यू.मा काम गर्ने नर्स तालिम प्राप्त हुनुपर्छ । लेवल थ्री आई.सी.यू.मा एक्कासी काम गर्न सकिँदैन । काम गर्दै गएपछि सिक्दै गइन्छ ।
विना तालिम जवर्जस्ती आई.सी.यू.मा पठाइएको नर्सबाट बिरामी हेरचाहमा तलमाथि हुनसक्छ । त्यसैले अन्य विभागसँग आई.सी.यू. विभाग तुलना गर्न मिल्दैन । आई.सी.यू.को वातावरण तनावपूर्ण हुन्छ । संक्रमणको त्यत्तिकै डर हुन्छ । एच.आई.भि.,स्वाइफ्लु जस्ता समस्यालाई अलग गर्न पाइदैँन । सबै बिरामीलाई बराबर हेरचाह गर्नुपर्छ । त्यसैले आई.सी.यू.का नर्सलाई संक्रमण हुने खतरा धेरै हुन्छ ।
बाँच्नु र मर्नु प्राकृतिक प्रक्रिया हो । आई.सी.यू.मा पुगेका ८५ वर्षको बृद्धदेखि ५ वर्षको बालकसमेतलाई बाँच्ने चाहना हुन्छ । सबैको अन्तिम इच्छा ‘मलाई बचाऊ’ भन्ने नै हुन्छ । कसैले पनि ‘मर्छु’ भनेको सुनेको छैन ।
कतिपय अवस्थामा कोसिस गर्दागर्दै सफल हुँदैन । मृत्युलाई स्वीकार गर्नैपर्छ । उपचार लागेर बिरामीलाई सामान्य वार्डमा ट्रान्सफर गर्दा निकै खुशी लाग्छ । बिरामीहरु पनि दंग पर्छन् । कतिले त भगवानको संज्ञा दिन्छन् । डाक्टर र नर्स भनेका सहयोगी मात्र हुन् ।
बिरामी मर्न लाग्दा लक्षण देखिन्छ । मुटुको धड्कनको गति घट्न थाल्छ । श्वास बन्द हुन थाल्छ । ग्याप गरेर सास फेर्छन् । १२० देखि १४० को गतिमा भइरहेको मुटुको धड्कन एक्कासीमा ५० मा झर्छ । यस्ता लक्षणबाट बिरामी मर्दै गरेको थाहा हुन्छ ।
रोगको अवस्थामा बिरामी बाँच्ने वा मर्ने भन्ने भर पर्छ । कतिपय उपचार गर्दा गर्दै अचानक मर्छन् । बिरामीको अवस्था गम्भीर भएमा आफन्तलाई खबर गर्नुपर्छ ।
बिरामीको मृत्यु हुन लागेको अवस्थामा बचाउनतिर सबैको ध्यान केन्द्रित हुन्छ । मर्ने नै अवस्था भएमा धार्मिक क्रियाकलाप गर्ने आफन्तको अन्तिम इच्छा पूरा गर्ने व्यवस्था मिलाइन्छ । अन्तिममा त आई.सी.यू.मा हुने भनेको हामी नै हो । कति बिरामीलाई अन्तिम अवस्थामा सुनमा पानी चोपलेर सुनपानी छर्केकी पनि छु ।

प्रतिक्रिया दिनुहोस्