Logo
|
Friday 19th April 2024
Logo

epaper

रजस्वला र सुत्केरी : मानसिकता परिवर्तन जरुरी



बाजुराको बूढीनन्दा– ९ भोगीचौरकी अम्बा बोहोराको छाउगोठमा दुई कलिला छोरासहित मृत्यु भयो। ०७३ पुस ३ गते अछामको गाज्रा— ७ की १५ वर्षीया रोशनी तिरुवाको ज्यान गयो। उनको पनि छाउगोठमै आगोले निस्सासिएर मृत्यु भएको थियो। त्यस्तै ०७३ मंसिर ४ मा अछामको तिमिल्सेन गाविसकी २६ वर्षीया डम्बरा उपाध्यायको छाउगोठमै मृत्यु भयो। ०६४ देखि ०७३ सालको पुससम्म अछाम जिल्लामा मात्रै महिला तथा किशोरी गरी नौजनाको छाउकै कारण मृत्यु भएको तथ्यांक छ। त्यस्तै महिनावारी भएको अवधिमा असुरिक्षत छाउगोठमा बस्नुपरेकै कारण सुदूरपश्चिममा ०७४ सम्ममा १३ महिलाको मृत्यु भएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ।

सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नुपर्ने चलन छ। जसले गर्दा रजस्वला भएका बेला छाउपडी बस्दा कहिले चिसोले कठ्यांग्रिएर, आगोले निसास्सिएर, सर्पले डसेर मृत्यु भएका र रजस्वला भएकै बेला बलात्कार भएका समाचार बेलाबेला आइरहेका हुन्छन्। यी त प्रतिनिधिमूलक घटना मात्रै हुन्। मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिमका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम, बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै छ।

छुई अर्थात् महिनाबारी भएका बेलामा घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास सुदूरपश्चिममा मात्रै नभएर देशभर विद्यमान छ। त्यसैले यस्तो बेलामा सुदूरपश्चिममा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केही पर बनाइएको छाउपडीमा बस्न लगाइन्छ। देशका अरू ठाउँमा भने पूजाकोठा र भान्साकोठामा जानबाट वञ्चित गराइनुका साथै भुइँमा सुत्न लगाइन्छ। किशोरीलाई अध्ययन–अध्यापनमा रोक लगाइन्छ। त्यस्तै नेवार समुदायमा रजस्वला हुनुअघि गुफा राख्ने र बेलविवाह गर्ने चलन छ यस बीचमा उनीहरूले बाह्र दिन सूर्यको मुख नहेरी बस्नुपर्ने हुन्छ। यो प्रथाले प्राचीनकालदेखि नै जरा गाड्दै आएको छ।

अहिले पनि छुई भएका बेलामा घरभित्र बस्दा कुल देवता रिसाउँछन्, बिरुवा छुँदा हुर्कंदैन, दाजुभाइसँग छोइँदा पाप लाग्छ, श्रीमान्सँग छोइँदा बच्चा हुँदैन, दूध तथा दुग्धजन्य खानेकुरा खानु हुँदैन, गाईवस्तुले दूध दिन छोड्छन् आदि मानसिकताले घरपरिवारसँग अलग्गिएर बस्ने चलन छ। जतिसुकै पढेलेखेकी महिला किन नहेऊन्, उसको मानसिकतामा साँच्चिकै रजस्वला भएको बेला छुइँदा कतै पाप लाग्छ कि भन्ने त्रास छ। ग्रामीण भेकमा अहिले पनि कुनै पनि किशोरी पहिलो, दोस्रो र तेस्रोपटक रजस्वला हुँदा १५ दिनसम्म दाजुभाइ र बुवालाई देख्न नहुने गरी लुक्ने चलन विद्यमान छ। कतिपय पढेलेखेकै पुरुष पनि पत्नी महिनाबारी भएको भन्दै चार दिनसम्म अलग्गै आफैं खाना पकाउने र पत्नीले पकाएको खाँदैनन्।

जबसम्म रजस्वला भएकै कारण छाउगोठ बस्दा एउटी महिलाको ज्यान गइरहन्छ तबसम्म सरकारका यस्ता नारा, नारामा मात्रै सीमित हुन्छन्।

छुई, छोइनी, महिनाबारी, नुहाउनी, बाहिर सरेको जस्ता नामले पुकारिने रजस्वला भएको बेलामा रगत बगिरहनु, पेट दुख्नु, अल्छी लाग्नुजस्ता समस्या हुँदा सफा गर्नुपर्ने, अरूबेला भन्दा केही आराम गर्नुपर्ने हुन्छ। तर ग्रामीण भेगमा महिला दिनभर वनजंगल, मेलापात, गाईवस्तुको स्याहारसुसार, छोराछोरी हेरचाहजस्ता कामले आफ्नो सरसफाइमा ध्यान दिने फुर्सद हुँदैन। त्यस्तै सुत्केरी हुँदा त झन् बाँचे सुत्केरी मरे काल भन्ने त नेपाली उखान नै छ। सुत्केरी महिला र बच्चालाई छाउगोठमा राख्दा उचित स्याहारसुसार र न्यानो नपाउँदा मातृ मृत्युदर तथा शिशु मृत्युदर बढी हुने गर्छ।

हुन त छाउपडी प्रथा हटाउन विभिन्न अभियान नभएका होइनन्। सरकारी तथा गैरसरकारी संघसंस्था र अधिकारकर्मीले प्रत्येक वर्ष छाउपडी अन्त्यका लागि विभिन्न अभियान चलिरहेका छन्। तर पनि यी अभियानले महिलाको मानसिकतामा केही परिवर्तन गर्न सकेको छैन। गत वर्ष जेठमा बझाङको साइपाल गाउँपालिकामा त्यहाँका जनप्रतिनिधि र कर्मचारीले महिनाबारीका बेला वर्षौंदेखि बस्दै आएका छाउगोठ भत्काइदिए।

गाउँपालिकाले छाउगोठमुक्त गाउँपालिका घोषणा गर्नलाई करिब तीन लाख बजेट विनियोजन गरेर काम गर्‍यो। तर पनि त्यहाँका महिला भत्काएको छाउगोठलाई बेरबार फेरि छाउ बस्ने गरेका छन्। साइपाल गाउँपालिकामा मात्रै होइन, रजस्वलाका बेला अलग्गै छाउगोठमा सुत्नुपर्दा ज्यानसम्म जान थालेपछि गत वर्ष साउनमा प्रदेश नम्बर ६ र ७ का जिल्लामा ‘छाउपडी उन्मूलन’ अभियान सञ्चालन भयो। करोडौं खर्चेर छाउगोठ भत्काइयो तर छाउगोठ फेरि ठड्याउने र ओढारमै गएर गएर बस्ने महिलाको कमी हुन सकेन। जसले गर्दा छाउपडी प्रथा अन्त्य हुन समय लाग्ने सम्भावना बढ्दो छ। रजस्वला हुनु पाप नभई जैविक प्रक्रिया हो।

महिला सन्तान उत्पादन प्रक्रियामा परिपक्क हुनु हो र रजस्वला रोकिएपछि सन्तान उत्पादन प्रक्रिया बन्द हुन्छ र यो देवतासँग जोडिएको हुँदैन भन्ने मानसिकता जबसम्म महिलामा हुँदैन तबसम्म छाउपडी रोकिँदैन। पहिलेको तुलनामा अहिलेको युवामा रजस्वला एक सन्तान उत्पादनको प्रक्रिया हो, बार्नु हुँदैन भन्ने चेतना भए पनि हाम्रो सामाजिक संस्कारका कारण उनीहरू पनि बार्न बाध्य हुन्छन्। रजस्वलालाई पापसँग जोडेर हेर्दा नै यस्ता घटना वर्षौं भएका छन्।

छाउपडी प्रथाजस्तो भेदभावपूर्ण व्यवहारका विरुद्घ सर्वोच्च अदालतले नेपाल सरकारका नाममा २०६२ वैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरी यो प्रथा अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागू गर्न आदेश जारी गरेको छ। त्यस्तै मुलुकी अपराध (संहिता) ऐनको दफा १६८(३) ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ। तर पनि छाउपडीकै कारण ज्यान गुमाउनेको संख्यामा कत्ति पनि छैन। अहिले देश संघीयताको सँघारमा छ।

संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार छ। गाउँगाउँमा सिंहदरबार, सुखी नेपाली समृद्ध नेपाल सरकारको नारा छ। जबसम्म रजस्वला भएकै कारण छाउगोठ बस्दा एउटी महिलाको ज्यान गइरहन्छ तबसम्म सरकारका यस्ता नारा, नारामा मात्रै सीमित हुन्छन्। प्रत्येक वर्ष चलाइने अभियान पनि नामको मात्रै हुनेछ।

जबसम्म महिलामा रजस्वलासम्बन्धी नकारात्मक कुराले जरो गाडिरहन्छ तबसम्म गोठ भत्काइँदैमा छाउपडीमुक्त हुन सक्दैन। त्यसैले कानुनमा भएका कुरा व्यवहारमा लागू गरी मानसिकता परिवर्तन गर्ने खालका कार्यक्रम ल्याउनु जरुरी छ, अन्यथा रजस्वला हुनु पाप हो भन्ने मानसिकता रहिरहनेछ र छाउकै कारण मृत्यु हुने महिलाको संख्या अझै बढेर जानेछ। अन्नपुर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्