Logo
|
Thursday 25th April 2024
Logo

epaper

डा. केसीको अनसनबारे प्रधानमन्त्रीको जवाफ : म संसदलाई आदेश दिन सक्दिन



 संसद बैठकमा शुक्रबार कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीलाई डा. गोविन्द केसीको अनशनमा केन्द्रीत भएर प्रश्न गरे। ‘विषय विधेकको होइन, संसदीय प्रक्रियाको होइन प्रधानमन्त्रीको बचनको हो। प्रधानमन्त्री व्यक्ति होइन संस्था हो। यहाँ चिन्ता गोविन्द केसी ढल्लान् भन्ने होइन प्रधानमन्त्री संस्थाप्रतिको विश्वास गर्ल्यामगुर्लुम ढल्ला भन्ने हो। म सोध्न चाहन्छुः यो विश्वासलाई जोगाउने वा यो विश्वासलाई ढल्न दिने?’, उनको प्रश्नको सार थियो। थापाले   ‘डाक्टर केसीका ९५ प्रतिशत माग पूरा भइसके केही मात्र हो’जस्ता रकमी, जाली र कुतर्कमा नअलमलिई संसदीय प्रक्रियाबाटै सम्झौताको हुबहु हुनेगरी विधेयक पारित गराउन प्रधानमन्त्रीले चाहना मात्र राख्नुभयो भने सहज ढंगबाट यस्तो हुने अवस्था रहेको समेत बताए।

थापाको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्रीले आफुले संसदलाई आग्रह गर्न सक्ने तर आदेश दिन नसक्ने प्रष्टाए। उनले भने, ‘म सम्झौता प्रति प्रतिवद्ध छु तर संसदलाई आदेश दिन सक्दिन। मेरो आग्रह छ सरकारले गरेको सहमति संसदले पालना गरिदियोस्।’

एउटा सिलसिला डाक्टर गोविन्द केसीको अनसनको भए पनि अर्को एउटा गम्भीर प्रश्न संसद र संसदीय सर्वोच्चताको पनि भएको प्रधानमन्त्रीले बताए। ‘अहिले १६ औं पटकको अनसन जारी छ र १५ औं पटकको सम्झौताको चर्चा छ। सम्झौता त्यसभन्दा अगाडि पनि भएका थिए’, प्रधानमन्त्रीले भने, ‘एक जना अनशन बसेपछि देश नै बन्धक बन्ने, तथ्यले कानूनले काम नगर्ने। संविधानले राष्ट्रिय आवश्यकताले काम नगर्ने। व्यक्तिको अनशन सर्वोपरि हुने लोकतन्त्रमा यस्तो हुन्छ ?’

सरकारले डा. केसीसँग गरेको सम्झौतामा दुई पक्ष भएको बताए। उनले सम्झौता सत्य निरुपण नभएको बताउँदै सम्झौता एउटा सम्झौता भएको बताए। उनले सम्झौता तत्कालीन परिस्थितिको उपज भएको र  त्यस परिस्थितिले निर्माण गरेको तत्कालीन आवश्यकता भएको बताए। सम्झौता प्रति सरकार प्रतिवद्ध रहेको र त्यसै अनुसार सरकारले ऐन प्रस्तुत गरेको उनको भनाई छ। बहुमत छ भन्दैमा संसदको सर्वोच्चतामा थिचोमिचो गर्न प्रधानमन्त्रीले गर्न नसक्ने उनले बताए। उनले संसदलाई आफुले आदेश दिन नसक्ने र आदेश पालना गर्न सक्ने मात्र बताए। सरकारले गरेका कतिपय काम संसदले बदर गर्न सक्ने भन्दै उनले हरेकले कानूनलाई पालना गर्न पर्ने बताए। ‘हामी बसै कानूनको अधिनमा छौं। परम सुप्रिम म जे भन्छु त्यै हुन्छ भन्न मिल्दैन’, उनले भने।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै इलाममा १६ औनशन बसेका डा केसीलाई स्वास्थ्यमा समस्या आएपछि हिजो मध्यराति हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ।

डा. केसीको स्वास्थ्य अवस्थाको बारेमा त्रिवि शिक्षण अस्पताललले टोली गठन गरेको हो। त्रिवि आईसियु संयोजक डा. सुवास आचार्यको नेतृत्वमा त्रिवीले टोली गठन गरेको हो।

चिकित्सकको टोलीमा सात चिकित्सक र एक नर्स सहभागी छन्। आचार्य नेतृत्वको टोलीमा क्रिटिकल केयरका विज्ञ डा. परमेशसुन्दर श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटा, मृर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, डा.रविन नेपाली, स्वासप्रश्वास विशेषज्ञ डा. पंकज पन्त र नर्स गंगा थापा रहेका छन्।

टोलीको निगरानीमा डा. केसीको स्वास्थ्य उपचार भइरहेको शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले जानकारी दिए।

भर्खरैमात्र कांग्रेस नेता गगन थापा,  काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँगै प्रहरीका उच्च अधिकारीको टोलीले केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। नागरिक न्युज/अन्नपुर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्